श्रीमती श्रीमान्को माया खोज्ने। श्रीमान् श्रीमती नजिक पर्दै नपर्ने। सुशीला परिवार खोज्ने, पारिवारिक मायामोहमा झुल्न खोज्ने। के मात्र प्रयास गरिनन् सुशीलाले श्रीमान् र छोराछोरीको एक मुठी माया पाउन। परिवारबाट पाउने माया माग्न कहाँ जानू ? दिन, हप्ता, महिना हुँदै वर्ष बिताइन् उनले मायाको बारी हेर्न, बारीमा पिरतीको फूल रोप्न। अहँ, सकिनन्। सम्बन्धकै लागि अनेक सास्ती झेलिन्, आरोपित भइन्। अन्ततः भएको बोटको फूल पनि सुक्यो। क्रमशः पातहरू झरे अनि सुक्न थाले हाँगाबिँगा पनि। अन्ततः पारिवारिक तनावले उनी अर्थात् हेटौंडा निवासी सुशीला पुडासैनी मानसिक रोगी बनिन्।

एक मुठी माया खोज्दा सुशीला सडक र स्वर्गमा
मायाको बारीमा हुर्किएर फुलेकी सुशीला मायाकै भोकमा तड्पिइन्, तड्पिइरहिन्। अग्निलाई साक्षी राखेर सँगै बाँच्नेसँगै मर्ने भनेर भाकेका वचन तोडिएपछि कसको मन बिथोलिँदैन र ? श्रीमान् त पछि गाँसेको साइनो। 

९—९ महिना गर्भमा राखेर अनेक कष्ट झेल्दै जन्माएका सन्तानले पनि साथ छोडेपछिकी आमाको हविगत कस्तो होला ? अनुहार हेर्नसमेत अधिकार नपाएपछि मन कति कुडियो होला ? के कोखबाट जन्मिएका सन्तानबाट मायाको अपेक्षा गर्नु सुशीलाको भूल थियो वा अपराध ? कर्तव्य पूरा गरेपछि अधिकार माग्ने हैसियत कसको हुँदैन ? हो, सुशीला छोराछोरीसँग त्यही मागिरहिन् जुन संविधानले ग्यारेन्टी गरिदिएको अधिकार थियो तर पाइनन्। उल्टै ‘आमा पागल हो, आश्रमले राखे हुने’ भन्नेजस्ता मुटु बिझाउने वचन सुन्नुपर्‍यो उनले।

वर्षहरू तँडाछमछाड गर्दै थिए। त्यस्तै वर्षभित्र एउटा यस्तो दिन आयो जुन दिन सुशीला करिब सात वर्ष सँगै बसेका श्रीमान् र छोराछोरीबाट अलगिन बाध्य भइन्। उनको एउटै विकल्प भनेकै ‘सडक’ देखियो। उनको मानसिक तनाव उनको हिँडाइबाटै झल्किन्थ्यो। सधैं हेर्ने देख्नेले फरक फरक उपनाम दिएका थिए, कसैले ‘सिटी एक्सप्रेस’ त कसैले ‘टेम्पो दिदी।’ खानकै लागि हात फैलाउन थालिन् उनी। ‘हुँदाहुँदा एक रुपैयाँ माग्ने नदिए झापड हान्ने’ अवस्थामा पुगिन्। जेठी सासू (आफ्नै दिदी) लाई भगाएर श्रीमान् अन्तै हिँडेपछि सुशीलाको जीवनमा ठूलै आँधीबेहरी आएको थियो। चार/पाँच वर्षपछि फर्किएका श्रीमान्सँग उनले एक मुठी मायाका लागि पटकपटक भिख 

मागिन् तर पाइनन्। भनिन्, ‘मलाई घर लैजाऊ।’ तर सम्पर्कमै आउन चाहेनन् आफ्ना भनाउँदा। छोराछोरीले पनि दायित्वबोध गरेनन्। माग्दै, भाग्दै उनी काठमाडौं आइपुगिन्। एकातिर तनावका सुईहरूले घोचिरहन्थ्यो भने अर्कोतिर चिसोले नसाहरू चिमोटिरहन्थ्यो। उनको त्यही एक रुपैयाँ माग्ने हात पनि काम्न थाल्यो।

पशुपतिनाथ मन्दिर परिसर पुगेकी सुशिलाको बेहोसी अवस्थामा भेटेपछि सहयोगापेक्षी हातहरूले स्याहारका लागि आश्रम पुर्‍याए। खान दिए। बस्न, सुत्न र लाउन दिए अनि डाक्टर बोलाए, उपचार गराए। समयले कोल्टे फिर्दै थियो। उनको मनले त्यो सुविधालाई पनि सहज लिएन। भागेर सडकमै पुगिन् सुशीला। पुनः आश्रमले स्वागत गर्छ उनी बिदाइ। बर्सौंको अथक प्रयत्न भए पनि उनले न श्रीमान्को माया पाइन् न सन्तानको। अन्ततः धरतीबाटै बिदा भइन्। ‘उमेर पुगेर होइन, दीर्घरोगले पनि होइन। ५० वर्ष नपुग्दै झन्डै दुई वर्षअघि सुशीला दिदीले संसार छोड्नुभयो’, अभियन्ता एवं मानवसेवा आश्रमका सचिव सुमन बर्तौला सुशीलाको दुःखद् जीवनकथा सुनाउँदै थप्छन्, ‘मानसिक रोगीको उपचार हुन्छ। सबैथोक पाइन्छ तर आमा कसैगरे पाइँदैन। हामीले एक मुठी माया दिएको भए आमा बाँच्नुहुन्थ्यो र परिवारमा संसारकै सुख भेटिन्थ्यो भन्ने नबुझ्ने परिवारका कारण एउटा जीवनको कारुणिक अन्त्य भयो।’ हो, आमाबिनाको कुनै घर नहोस्, कुनै पनि आमा घरबारविहीन नहोऊन्।

१३ वर्षसम्म खोरभित्र फलामे साङ्लोमा
तपाईं एकदिन अर्थात् २४ घण्टा कोठामा थुनिनु भयो भने कति आलसतालस हुनुहोला ? कम्तीमा तपार्इं कोठाभरि घुम्ने र झ्यालबाट बाहिरी संसार चिहाउन त सक्नुहुन्छ तर एउटा कुचुक्क परेको खोरमा साङ्लोले हात बाँधेको छ भने दिन बिताउन कति सकस होला ? हेर्नेको मन त दुख्छ, भोग्नेलाई कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ। ती पत्नीलाई कस्तो भयो होला जसले विवाह भएको वर्ष दिनमै पतिलाई आँगनको खोरमा फलामे साङ्लोले बाँधेको दृश्य साँझबिहान र हरेक पल हेरिरहनु पर्‍यो। संसार घुम्ने उमेरमा एक युवाले १३ वर्ष यस्तै खोरमा हातमा फलामे साङ्लोमा जकडिनु पर्‍यो। हातको घाउमा साङ्लो गाडियो, घाउ पाक्यो कुहियो। सीधा उभिन नहुने कारण खोरभन्दा तल बाँधिएको साङ्लो नै थियो। भोगेका सास्तीको कुनै सीमा छैन। परिवार, गाउँले सबै त्यसको केवल साक्षी बने। सप्तरीको अग्निसाइर कृष्णासरवन गाउँपालिकाका ४० वर्षीय उमाकान्त चौधरीले काटेका १३ वर्षले समाजको चेतनालाई चुनौती दिएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ तर चौधरीको सन्दर्भमा फर्किएन। बाख्राको खोरमा टाँड भएकाले दिसापिसाब त्यहीँ तल खस्थ्यो। दुर्गन्ध फैलिन्थ्यो, क्रमशः सुक्थ्यो। पुनः दिसापिसाब हुन्थ्यो, दुर्गन्धले डेरा जमाउँथ्यो। थुनिएका दिनदेखि सुगन्धले उनको श्वासमा स्थान पाएन। न नुहाउन पाउनु न त सीधा उभिन। दशक बित्दासम्म शरीर कुप्रो बनिसकेको थियो भने अवस्था जंगली। परैबाट दिइएको खाना खाने ठाउँ पनि शौचालय माथि ! परिवार घरभित्र रमाउँदा उनी आँगनको एकछेउमा राखिएको खोरमा, जेलभन्दा सकस संसारमा। विकासका दृष्टिले पछाडि परेको ठाउँ, त्यसमाथि पारिवारिक संस्कार पनि त्यस्तै। पत्नीलाई पीडा भए पनि न उनी समाजविरुद्ध खनिएर पतिको हातको फलामे साङ्लो खोल्न सक्थिन् न कसैलाई भन्न नै।

साङ्लो खोलिदिए आफैंलाई बजार्लान् भन्ने डर सबैलाई। त्यसैले पनि जे छ त्यसैलाई चुपचाप स्विकार्नुको नियतिमा थिइन् पत्नी पनि। विषयलाई गाउँले/बुद्धिजीवी कसैले पनि गम्भीरतापूर्वक लिएनन्। उमाकान्तलाई हेरे त केवल पशुपन्छीको रूपमा। सूचना प्रविधिको अत्याधुनिक यो २१ शताब्दीको समयमा पनि एउटा मानिस १३ वर्षदेखि साङ्लोले बाँधिएर खोरमा सीमित छ, उही १३ वर्षअघिको मानसिकता लिएर चटनपटाई बसेका छन् गाउँले। मानसिक रोगीप्रति सामाजिक दृष्टिकोण छर्लंग पार्दछन् यी दुई घटनाले। बुहारीलाई खुर्पाले हानेपछि खोरमा जकडिएका थिए उमाकान्त। उनलाई खोरबाट निकाल्न पनि मानव सेवा आश्रम नै पुग्नुपर्‍यो। जेहोस्, अभियन्ताहरूले १३ वर्षपछि खोलो फर्काइदिए चौधरी परिवारमा। १४ वर्षको उमेरमा छोरीले बुवालाई पहिलोपटक साङ्लोमुक्त भएको देखिन्। नजिक आइन् र छोइन्। गाउँलेले पनि त्यतिबेला भने फूलका गुच्छा र अबिरले स्वागत गरे। पारिवारिक पुनर्मिलनको यो अभूतपूर्व दृश्यको साक्षी पनि तिनै गाउँले र जनप्रतिनिधि नै बने अन्ततः।

गीता मानव उर्फ् मोमिना आठ वर्ष सडक र जंगलमा
नेपाल आएपछि बंगलादेशी नागरिक मोमिना बेगम गीता मानव बनिन् जब मानवसेवा आश्रमका अभियन्ताहरूले चितवनको रामनगरस्थित राजमार्गछेउ जंगलमा अलपत्र भेटे। त्यस्तै अवस्थाका अर्का बंगलादेशी नागरिक एमडी बाबुल तब बाबुलाल बने जब बेहाल अवस्थाबाट उद्धार भएर आश्रममा आइपुगे। गीताको दाहिने हात पूरै कीरा परेको, एउटा औंला कुहिएर झरेको। सडकमा मान्छेको छिछि दुरदुरदेखि कुकुरको टोकाइ कति कति। गीता त मोमिना बेगम रहिछन्। त्यही राजमार्गमा दिनहुँ हजारभन्दा बढी गाडी गुडे होलान् तर उनको दयनीय अवस्था नियाल्ने आँखा कसका ? के पाउँथे र हेर्दै घिनलाग्दी गीतालाई स्याहारेर पनि कसैले ? पारिवारिक तनावपछि रिसाउने झर्किने हुँदै उनी सडकमा पुगिन्। उता पति प्रहरी, तीन वर्ष पूरै देशभित्र खोजी गरे पत्नीको। तीन वर्षीय बालक टुहुरोझैं भयो। बंगलादेशको राजधानी ढाकाबाट झन्डै तीन सय किलोमिटर टाढाको कुनै सडकबाट उनी सञ्जालमा जोडिँदै नेपाल आइपुगेकी थिइन्, सायद हिँड्दै वा बीचबीचमा गाडी चढ्दै।

ढाकाबाट अढाई सय किलोमिटर दूरीकै अर्का नागरिक बाबुलाल उर्फ बाबुल भने लमजुङ बेंसीसहरमा भेटिए। अभियन्ताले नभेटेको भए सायद उनको ज्यान पशुपन्छीले चिथोरचाथर पारिसक्थे। अन्तिम दिनहरू गन्दै गरेको अवस्थामा भेटेपछि ‘केही उपाय लागिहाल्छ कि !’ भन्ने झिनो आसमा आश्रमका अभियन्ताले सदरमुकामस्थित अस्पताल पुर्‍याए। त्यसपछि थप उपचारलाई चितवन ल्याइयो। तंग्रिन मात्रै उनलाई दुई महिना पूरा लाग्यो। आश्रमको चितवनस्थित शाखामा पाएको स्याहारचाकरले बाबुलालको स्वरूप पूरै फेरियो। केही महिनामै उनी त त्यो शाखामा सघाउपघाउ गर्ने, अरूको स्याहारचाकर गर्ने, पकाउने खुवाउने आदि सबै सेवा गर्न थाले र बने खम्बा। कतिसम्म भने शाखाका सबैलाई खुवाएपछि मात्र खाने पृथक् व्यवहारले उनीबाट सबै प्रभावित बने। बंगलादेशमा माछा मार्ने उनी मानसिक सन्तुलन बिग्रिएर आठ वर्षअघि सडकमा पुगेका थिए जतिबेला उनी ३२ वर्षका थिए। अभियन्ताले बंगलादेशस्थित घरैमा पुर्‍याए, दुवैलाई पुनर्मिलन गराइदिए।

कोही धन नभएर सडकमा, कोही मन नभएर
गरिब भएकै कारण कोही सडकमा पुग्नु खासै आश्चर्यको विषय नहोला। धनको गरिब हुनु एउटा बाध्यता होला तर मनकै गरिब भएपछि जतिसुकै सम्पत्ति भए पनि मानिस सडकमै पुग्दो रहेछ। नसोचेको र नचिताएका घटना भइरहेछन् राजधानी काठमाडौंमै। दुई महिना अघिको सत्य घटना हो यो। एकजना युवतीले फोन गरिन् आश्रमका अभियन्तालाई, ‘तीनकुनेको डिलमा एउटी महिला जीवनमरणको दोसाँधमा छन्।’ अभियन्ताले काठमाडौं महानगरपालिकाका मेयरदेखि प्रहरीका उच्च अधिकृतसम्मलाई फोन गरेर बोलाए। करिब ५० वर्षकी ती महिलाको अनुहारले बताउँथ्यो, उनी कुलघरानाकै सदस्य हुन्। आँखा हेर्नेबाहेक उनीसँग कुनै विकल्प थिएन। प्यारालाइसिसले शरीर नचल्ने भएकी उनी डाइपरमा थिइन्। उनको न बोली आउँथ्यो न इसारा गर्ने क्षमता नै। डिलमा जसले छोडे तिनले ओछ्याएका र लगाएका कपडा हेर्दा लाग्थ्यो, कसैले घरबाट त्यहाँ ल्याएर थपक्क राखेर गुमनाम भएका हुन्।

अभियन्ताले उद्धार गरेर गाडीमार्फत वीर अस्पताल लगे। केही दिनदेखिको स्याहारचाकरको अभावमा उनी अन्तिम श्वास फेर्दै रहिछन् र त अस्पतालभित्र पनि पुग्नै पाइनन्, गेटमै प्राण त्यागिन्। अभियन्ताको सत्कर्म निष्फल भयो। प्रहरीले पछि मृतकका परिवारसँगै अभियन्तालाई फोन गर्ने युवती, उनका श्रीमान्, भिनाजु र ससुरालाई समेत पक्रियो र पुर्पक्षमा लग्यो। अभियन्ता सुमन बर्तौलाका अनुसार यसरी छोड्ने भनेर योजना बनाउने नै उनै युवती थिइन्। ‘उद्धारका लागि सबै भेला हुन थालेपछि तीन हजार रुपैयाँ सहयोग दिएर उपचारलाई रकम संकलन गर्ने अभियान सुरु गर्ने योजनाकार उनै थिइन्, मान्छेलाई कसरी विश्वास गर्नु ?’, उनी भन्छन्, ‘सम्पन्न परिवारमै यस्तो अभावग्रस्त मानसिकता भएपछि मानिसहरू सडकमा आइरहन्छन् अनि हामी उद्धार गरिरहन्छौं तर यसरी कसरी चल्छ नेपाली समाज ?’ उपेक्षा र बेवास्ताले कसैको ज्यान गयो। यस्ता उदाहरण खोज्ने हो भने मुलुकभित्र सय होइन, हजारौं छन्।

हाकिमको खाना र भगवान्को स्वरूप
लकडाउनले गरिखाने लाखौंकै हालत नाजुक बनाइसकेको थियो। गरिब, असहाय र समस्यामा परेकाको त बेहाल नै बनाएको थियो। आश्रमले उपत्यकाका ठाउँठाउँमा दुई छाक खाने व्यवस्था गर्‍यो। नुवाकोटका ७६ वर्षे पूर्ण लामाले पनि भक्तपुर नयाँठिमीमा खाना खाए। केही दिनको भोको पेट भरेपछि उनको निधारमा लाइन लगाएर कोरेजस्तो देखिने मुजा मुस्कानसँगै हराए। ‘आफू त गुन्द्रुकसँग ढिँडो खाने मान्छे, कमाएका दिन दालभात खान्थें’, घामजस्तै छर्लंग पार्दै उनले आफ्नो यथार्थ पोखेका थिए, ‘धेरै दिनपछि हाकिमले खाने भोजन खाइयो। साग बेच्न नपाएर छटपटाएको थिएँ तर यो संसारमा प्राणदाता पनि रहेछन्। भगवान्को स्वरूप मान्छेमै भेटें।’

‘सडक सबैको हुन्छ’ तर बाध्यताले सडकमा पुग्नेको अवस्था यस्तो हुन्छ कि ‘सडक नै सबैथोक’। सत्ता र शक्तिको वरिपरि त सबै हुन्छन् तर बेसहाराको वरिपरि घुम्ने को ? सम्पत्ति र सत्तामा रमाउने थुप्रै होलान्, सेवामा रमाउने कति होलान् ? हरेक मानिस आफ्नो समस्यालाई पहाड ठान्छ तर अरूका ठूलै समस्या पनि सामान्य ठान्दिन्छ। कुनै मानिस सडकमा पुग्नु के सामान्य हो ? उसले पार गरेका आरोह अवरोहका कथा सुन्ने, बुझ्ने वा पढ्ने फुर्सद कसलाई ? तर मानिस सडकमानवलाई त्यस्तै रूपमा देखिरहन्छ र ठानिरहन्छ ‘यस्तै हो।’ तर सोच्दैनन् कोही, ‘न खानको ग्यारेन्टी न सुत्नको। ठिही चिसोमा कसरी रात काट्छन् उनीहरू ?, मागेको पैसाले कसरी भरिन्छ पेट ? रित्तो आकाश ओढेर सडकलाई संसार ठान्न बाध्य दाजुभाइ दिदीबहिनी कसरी दिन काटिरहेछन् ?’ थोरैले सोच्छन्, ‘के नै पो गर्न सकिएला र ?’ तर पनि ‘केही गर्ने’ हिम्मत जुटाउँदैनन्। केहीको मन पृथक् हुन्छ जो आफूलाई बिर्सेर अरूको सेवामा होमिन्छन्।

अरूका लागि युवाको महाअभियान
यसरी आफूलाई बिर्सेर अरूलाई सेवा गर्ने व्यक्तिहरू मिलेर संस्था नै बनेको छ केही वर्षअघि। मानिसकै रूपमा जन्मिएर पनि सामान्य मानिससरह जीवन बाँच्न नपाएकाहरूलाई गाँस, बास र कपासको व्यवस्था गर्नेहरू यहाँ छन्। ‘मानवता प्रवद्र्धन महाअभियान’का अभियन्ता र अभिभावकहरू भन्छन्, ‘आफूमात्र बाँचेको जीवनको के अर्थ हुन्छ ?’ आश्रमका अभियन्ता करिब दुई सय छन् जो २४सै घन्टा खटिन्छन् तर कामबापत केही लिँदैनन्। नजिकबाट सेवा गर्दै अभिभावकत्व प्रदान गर्नेको संख्या झन्डै एक हजार छ, जो सेवालाई सहज बनाउन समर्पित छन्। मानवको सेवा गर्ने उही संस्था मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘जसको कोही हुँदैनन्, जसका केही हुँदैनन्, उनीहरूकै सेवामा हामी समर्पित छौं। घरपरिवारको माया दिएका छौं अनि सन्तान बनेर लालनपोषण गरिरहेका छौं।’

‘बाहिरी आँखा नदेख्नेको अन्तर्चक्षु सक्षम हुन्छ। हात नचल्नेको मन बलियो हुन्छ। खुट्टाभन्दा विचार छिटो दौडन सक्छ। तर अपहेलनाको एक शब्दभित्र पहाड पल्टाउने जाँगर हुन सक्छ।’ प्रजातन्त्र दिवसमा गणेशप्रसाद भट्टराईले ‘राष्ट्रनिर्माणमा युवाको दायित्व’ शीर्षकमा वाचन गरेको निबन्धका लाइन हुन् यी। धृतराष्टलाई राजा हुन आँखा चाहिएन, हकिन्सलाई विश्व हल्लाउन हिँड्नु परेन, पारिजातलाई फुलाउन कम्मर चाहिएन अनि काँडाभित्र फूल फुलाउन झमकलाई पनि हात चाहिएन। उनले लेखेजस्तै सडकमानव पनि कुनै दिन यसरी नै अरूको घाउमा मलम लगाउन सक्छन्, देशको मुहार फेर्न सक्छन्। सडकबाट उद्धार गरी परिवारको माया दिने महाअभियान सफल पार्ने भनेकै युवा हुन्। सडकमानवमुक्त बनाएर नेपाललाई गौरवशाली देश बनाउने लक्ष्य राखेका युवाको सक्रियता देख्दा लाग्छ, युवा शक्ति र सामथ्र्यका साधन मात्र होइनन्, परिवर्तनका वाहक अनि विकासका परिपूरक पनि हुन्।

‘युवाका पाखुरीमा अजस्र शक्ति हुन्छ। युवा पानी हुन्, जीवन बन्न सक्छन्, प्रचण्ड गर्मीमा बादल बनेर बर्सन र मानव बस्तीमा हरियाली भई उम्रन सक्छन्। युवाको मुस्कानमा युगको चाहना हुन्छ, उनीहरूको हिँडाइमा युग हाँकिएको हुन्छ’, यहाँ गणेशकै शब्दसँग सहमत छु। हजारौंलाई पुनर्जीवन दिएका अभियन्ता युवाका नाममा पुनः उनकै शब्द, ‘युवाबिना संसार अपूर्ण हुन्छ। युवा अशक्तका बैसाखी हुन्, आमाविहीनहरूका बात्सल्य हुन्, आश्रयविहीनका घर र असहायका भर हुन्।’

२०७८ मै नेपाल सडकमानवमुक्त हुँदै
२०६९ सालदेखि संस्थागत रूपमा सडकमानवको उद्धार र सेवा थालेको आश्रमले २०७८ भित्रै नेपाललाई सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल बनाउने भएको छ। ‘सबैलाई नाना, खाना र छाना’ भन्ने मूलनाराका साथ अघि बढेपछि नेपाल सरकारले ‘होस्टेमा हैंसे’ गर्‍यो। त्यही बलका आधारमा २०८२ सालको लक्ष्य २०७८ मै पूरा हुने भएको हो। वर्तमान सरकारले अघि सारेको नारा ‘समृद्ध नेपाल ः सुखी नेपाली’को नारामा यसले एउटा इँटा थपेको छ। बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावकविहीनलाई सहयोगापेक्षी भनिएको छ। मानवले मानवलाई मानवजस्तो व्यवहार गर्ने हो भने समाजमा सबैले सम्मानित जीवन जिउन पाउँछन् भन्ने नजीर आश्रमका अभियन्ताले स्थापना र पुष्टि गरेका छन्। हो, निस्वार्थपूर्वक गरिने सेवा नै मानव सेवा हो। पहिले सरकारकै वृद्धाश्रममा राख्न पनि मन्त्रीको सिफारिस चाहिन्थ्यो तर आश्रममा सामान्य मापदण्ड पूरा गरे पुग्छ। यस महाअभियानमा स्वदेश र विदेशमा रहेका नेपालीले यथासक्य आर्थिक सहयोग गरेका छन्।

मेचीदेखि महाकालीसम्म उद्घार, आश्रम नै घर
प्रधानमन्त्री केपी ओलीले पुस ७ गते बालुवाटारबाटै सहयोगापेक्षी सडकआश्रित मानवहरूको राष्ट्रिय उद्धारका लागि मेची–महाकाली यात्रा–२०७७ को उद्घाटन गरे। १६ गते समापन गर्दासम्म मुलुकभर सडकलाई संसार ठान्न बाध्य ३९ बालबालिका, १ सय ३० महिला र ३ सय ७३ पुरुष गरी ५ सय ४२ जनाको उद्धार गरियो। प्रदेश नं. १ बाट २० बालबालिका, ५५ महिला र १ सय ७९ पुरुष गरी २ सय ५४ जनालाई उद्धार गरियो। प्रदेश नं. २ बाट २७ महिला र ६७ पुरुष गरी ९४ जनाको उद्धार भयो। बागमती प्रदेशबाट ३ महिला ९ पुरुष गरी १२ जनाको उद्धार गरियो। मेची–काली यात्रा सकेपछि मुलुकको सर्वाधिक जनघनत्व भएको बागमती प्रदेशमा पुनः माघ ९ देखि १५ गतेसम्म चार दिन राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा र बाँकी तीन दिन आठ जिल्लाबाट १४ बालबालिका, २० महिला र ८२ पुरुष गरी १ सय १६ जनाको थप उद्धार गरियो। यो प्रदेशबाट यसअघि पनि सयौंको उद्धार भइसकेको थियो। गण्डकी प्रदेशबाट १० बालबालिका, २७ महिला र ७१ पुरुष गरी १ सय ८ जनाको उद्धार गरियो। लुम्बिनी प्रदेशबाट ९ बालबालिका, १५ महिला र ३६ पुरुष गरी ६० जनाको उद्धार गरियो। 

कर्णाली प्रदेश २ महिला र ५ पुरुषलाई उद्धार गरी गत वर्षको माघ ४ गते नै मुलुकको पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरिएको थियो। सुदूरपश्चिम प्रदेशबाट १ महिलासहित ७ जनाको उद्धार गरियो। माघ ६ गते महाकाली नदीको चाँदनी दोधारा पुलमा पुगेर यात्रा सम्पन्न गरिएको थियो। यात्राको सुरुआत झापा जिल्लाको मेची नदीको पुलबाट गरिएको थियो। सोही समयमा मुलुकभरका सेवा केन्द्रबाट गरिएको करिब सयको संख्यासहित यात्रा अवधिभरमै कुल ७ सय ५८ को उद्धार गरिएको छ। उनीहरूले दोस्रोपटक जीवन पाएका छन्। विशुद्ध सेवा भावनाको यो महाअभियानले एकातिर सडकमानवहरूको वास्तविक अवस्था र माग्ने पेसा बनाउनेहरूको पहिचान भएको छ भने अर्कोतिर मुलुकभरका स्थानीय सरकार (जनप्रतिनिधि)लाई सडकमा पुगेका दाजुभाइ दिदीबहिनीलाई मानवीय व्यवहार गरेर पहिलेकै स्वरूपमा फर्काउन सकिन्छ र यो दायित्व र भूमिका निर्वाह गर्नुपर्छ भन्ने पाठ सिकाएको छ। 

यात्राकै क्रममा झापा जिल्ला, विराटनगर र वीरगन्ज महानगरपालिका पनि सहयोगापेक्षी सडकमानवमुक्त भएका छन्। अभियानकै क्रममा २ सय ३५ जनालाई पारिवारिक पुनर्मिलन गराइएको थियो। अभियानपूर्व ११ सयको उद्धार गरिएको थियो। आश्रमले काम थालेयता ५ सय ८५ जनाको निधन भइसकेको छ भने २ हजार ५० जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको छ। हेटौंडामा केन्द्रीय कार्यालय रहेको आश्रमको मुलुकभरका १५ जिल्लामा २२ सेवा केन्द्रमा आश्रित हुने सडकमानवको संख्या १ हजार ६ सय २३ पुगेको छ भने अल्पकालीन रूपमा बसाइएको संख्या १८ सय छ। हालसम्म आश्रमबाट लाभ लिएका यस्ता मानवको संख्या भने ६ हजार ५८ पुगिसकेको छ। ‘सेवाको गति बढेको, नेपाली दाजुभाइ, दिदीबहिनीले सोचेभन्दा बढी साथ दिएको र तीनै तहका सरकार पनि प्रतिबद्ध भएर गम्भीरतापूर्वक लागि परेपछि २०८२ सालसम्मको सहयोगापेक्षी सडकमानवमुक्त गर्ने काम २०७८ सालमै सम्पन्न गर्न लागिएको हो’, अध्यक्ष अधिकारी विश्वस्त छन्।

सरकारहरूको सहयोग, सशस्त्रको उपचार
‘पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ र मच्छिन्द्रनाथ सबै नाथ नेपालमै हुनुहुन्छ तर सडकका अनाथलाई हेर्ने कोही भएन’ हरेकजसो सार्वजनिक कार्यक्रममा मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन यही वाक्य भनिरहन्थे। ‘सरकार पनि सडकमानवहरूको आफ्नो नभएपछि जुन कदम उठायौं त्यो चुनौतीपूर्ण थियो। बोल्न हुने नहुने सबै शब्दमा गाली गर्नेलाई बेवास्ता गर्दै अघि बढ्यौं। अहिले सबै नेपालीको शिर उचो हुने अवस्थामा पुगेका छौं हामी नेपाली र हाम्रो देश नेपाल’, उनी भन्छन्। ‘सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन ः साँचो जीवन निर्माण अभियान’ २०६६ सालमा स्थापना गरी सकारात्मक सोच र शाश्वत चिन्तनमा कार्यक्रमहरू गर्नेक्रममा हेटौंडामा कार्यक्रम गरिरहँदा सडकमा नाजुक अवस्थामा देखेपछि २०६९ भदौ १३ गते पहिलोपटक पाँचजनाको उद्धार गरी अभियान सुरु गरिएको थियो।

‘डलरले मात्रै समाजसेवा हुन्छ’ भन्ने मान्यतालाई आश्रमले विस्थापित गरिदिएको छ। समाजसेवा नेपालमा नेपालका लागि नेपालीबाटै गर्न सकिन्छ भन्ने पुष्टि भएको छ। नेपाल ‘गौरवलाग्दो देश’ बनाउने महाअभियान हो यो, यसमा लाग्ने र सडकबाट आश्रममा आउने सबै शाकाहारी छन्। विगतमा गाली गर्नेहरू नै अचेल ‘कस्तो गजबको काम !’ भन्दै तारिफ गर्न थालेका छन्। पछिल्ला वर्षमा नेपाल सरकारले अपनत्व ग्रहण गरेपछि महाअभियान सहज भएको छ, सफल बन्दैछ। आश्रमको कुल खर्चको ३० प्रतिशत खर्च सरकारले व्यहोर्न थालेको छ। बाँकी खर्च मन भएकाहरूबाट प्राप्त स्वेच्छिक सहयोगबाट चलेको छ। प्रदेश र स्थानीय सरकारले आफ्नो तहबाट सहयोग गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले सरकारको तर्फबाट पटकपटक गरी आश्रमको अक्षय कोषमा तीन करोड रुपैयाँ जम्मा गरिदिएका छन्। वर्तमान सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीलाई सडकमानवको दर्दनाक अवस्था र आश्रमले गरेको सत्प्रयासबारे जानकारी गराएकी थिइन् उनकै पत्नी राधिका शाक्यले। सशस्त्र प्रहरीले २०७७ माघदेखि सशस्त्र प्रहरी अस्पतालमा उपलब्ध सबै सेवा निशुल्क हुने गरी तीनवटा शै्या आश्रममा आश्रित सबै र अभियन्तालाई सुविधा दिएको छ। विगतमा उद्धार गरिएका एक आश्रितकै उपचारमा दुई लाख रुपैयाँसम्म खर्च भएको छ।

कानुन एकातिर व्यवहार अर्कोतिर
जीवन नै जोखिममा रहेका नागरिकको जीवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो। यद्यपि लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसात् गरेको नेपालको संविधान २०७२ ले मौलिक हकमै ‘हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी’ गरेको छ। यसले नेपाललाई ‘मानवीयताको देश’ बनाउन सघाउन पुग्ने देखिन्छ। धारा ५६(६) मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारलाई मानवीयताका सवालहरूमा कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्य दायित्व तोकिएको छ। अनुसूची–८ मा स्थानीय तहको एकल अधिकारमा पनि ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन गर्नुपर्ने दायित्व स्थानीय सरकारको हुने लेखिएको छ। 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रयकेन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने दायित्व तोकेको छ। यस्तै अपांगता पुनस्र्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रहरू सञ्चालन गर्नुपर्ने हुन्छ। सडक बालबालिका, अनाथ, असहाय, असक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनस्र्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन स्थानीय सरकारकै हुने कानुनी व्यवस्था छ। नेपाल सरकारको तर्फबाट २०७७/०७८ मा प्रस्तुत नीति तथा कार्यक्रममा असहाय, स्वास्थ्य जोखिममा रहेका, घरबाहिर अलपत्र परेका, आश्रयहीन व्यक्तिहरूको उद्धार, उपचार तथा पुनस्र्थापना गरिनेछ भनिएको छ। सरकारले बोली र व्यवहार फरक नगरे मानव जीवन पक्कै सहज हुनेछ।

र, अन्त्यमा ‘जय मानवसेवा !’
संसारलाई नै अहिंसाको सन्देश छर्न सक्ने भगवान् बुद्धको जन्मभूमिमा हुनेखानेले पनि मरे मरोस् भनेर आफ्नैलाई सडकमा फालिएका उदाहरण नेपालमै भेटिएका छन्। देवादीदेव आराध्यदेव भगवान् श्रीपशुपतिनाथले बास गरेको दिव्यभूमि, संसारकै सर्वोच्च शिर भएको सगरमाथाको देश र वीरताका कारण संसारभर ख्याति कमाएका नेपालीको देश सबै भएर पनि नेपालका सडकपेटी र सार्वजनिक स्थलहरूमा हजारौंको संख्यामा एक गाँस खाना र एक सरो कपडाको अभावमा दिसापिसाब र फोहोरले लत्पतिनु, चैत–वैशाखको प्रचण्ड गर्मी र पुस, माघको कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि बोराभित्रको जीवन बिताउन बाध्य हुनुपर्ने विडम्बना अब समाप्त हुँदैछ।

‘संरचनाको पिँधमा रहेकाहरूको पक्षमा’ शीर्षकमा सञ्जीव उप्रेतीले अन्नपूर्ण पोस्ट्को फुर्सदमा लेखेका थिएँ, ‘पाठकलाई यो लेख पढ्न ५–७ मिनेट जति लाग्ला। त्यतिञ्जेलमा ७० देखि एक सय मानिस भोकमरीले मर्नेछन्। कोरोना तथा भोकमरी दुवैबाट सबैभन्दा बढी पीडित आर्थिक सामाजिक संरचनाको पिँधमा दैनिक संघर्ष गर्दै बाँचिरहेकाहरू नै हुनेछन्।’ बाँचेर केही गर्न त सडकबाट उठाइएकाहरूले सक्लान् नसक्लान् तर संविधानले ग्यारेन्टी गरेको ‘बाँच्न पाउने अधिकार’ त पाउँछन् नि। सानो शत्प्रयासले एकजनाको मात्र जीवन बच्यो भने पनि हाम्रो जन्म सार्थक हुनेछ। तर मलाई पनि थाहा छैन, यो लेख पढुञ्जेलमा कति मानिस सडकमा पुग्ने हुन् अनि कतिले ‘बाँच्न पाउने अधिकार नपाएरै’ ज्यान गुमाउने हुन् ? एउटै कामना छ, नेपाल मानवीय मानिसहरूको राष्ट्र बनोस् ! जय मानवसेवा ! ! जय मानवता ! ! !

तपाईको प्रतिक्रिया