वीरगन्ज – सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु ‘सबै भन्दा कमजोर सामधानको उपाय’ हुने टिप्पणी गरेका छन्।

आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए।

‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्यस्तो भयो भने म भन्छु- यो सबै भन्दा कमजोर सामधान हो’, उनले भने, ‘यसले स्कुल विभागलाई चलाउने होइन अझ सुसुप्त बनाउने काम मात्र गर्छ।’

स्कुल विभागको नेतृत्वमा आफनो दाबेदारी यथावत रहेको भन्दै भुषालले पूर्वएमालेबाट नेतृत्व गर्नुपर्ने अवस्था आफू नै उपयुक्त पात्र भएको दाबी गरे। ‘स्कुल विभागको नेतृत्व यदि पूर्वएमालेको भागमा पर्छ भने त्यसको पहिलो दाबेदार म नै हुन्छु किनभने एमालेको नवौं महाधिवेशनदेखि नै स्कुल विभागको नेतृत्व मैले गर्दै आइरहेको छु’, उनले भने।

तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा आफूलाई स्वीकार्य हुने भुषाले बताए। – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया