दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डँुगेश्वर गाउँपालिका वडा नं। १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ ।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको छ । दैलेखको नारायण नगरपालिका वडा नं। ६ मा चिनियाँ जिओलोजिकल सर्भेको कार्यालय स्थापना पश्चात् बेसक्याम्प निर्माण गरी अन्वेषणको कामलाई द्रुत गतिमा अगाडि बढाइएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् गणेश त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा टोली खटिएका छन् । उहाँका अनुसार पहिलो टोलीले सर्भे गरेर आवश्यक पर्ने नक्सा निर्माण गर्नेछ, दोस्रो टोलीले जिओलोजिकल सर्भे गरेर जमिनको सतह मुनिको अवस्थाका विषयमा अनुसन्धान गर्ने, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले सिस्मिक सर्भे गर्नेछ ।

चारवटै प्राविधिक टोली जिल्लामा आएको र आ–आफ्नो टोलीले अन्वेषणका काम पनि सुरु गरेको जानकारी उहाँले दिनुभयो । अहिले अन्वेषणका लागि प्राविधिक टोली बस्न दुई स्थानमा बेस क्याम्प खडा गर्ने कार्यतालिका अनुसार डुँगेश्वर गाउँपालिकाको वडा नं। १ मा बेसक्याम्प निर्माण गरेको छ भने दुल्लु नगरपालिका वडा नं। ५ दुल्लु अस्पतालको पछाडि बेसक्याम्प निर्माण गर्नका लागि नगरपालिकाले सहमति दिइसकेको भूगर्भविद् त्रिपाठीले बताउनुभयो ।

पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन्का लागि स्थानीय सरकार र जनता दुबै उत्साहित भएका कारण प्राविधिक टोलीलाई समेत सहजता भएको उहाँले बताउनुभयो । दैलेखी जनता अन्वेषण कार्यमा सघाउन आँफै उत्साहित भएको पाइएका कारण अन्वेषण कार्यले सफलता प्राप्त गर्ने विश्वास उहाँको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले चिनियाँ प्राविधिक टोलीले आफ्नो अन्वेषणका काम सुरु गरेको र त्यसका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभयो । संघीय सरकारले विशेष महत्व राखेको योजना भएकाले त्यसलाई सफल पार्न जिल्लाका सबै राजनैतिक दल, नागरिक समाजसँग समन्वय गरिरहेको उहाँले जनाउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा कमल शर्माले लेखेका छन् ।

तपाईको प्रतिक्रिया