दमौली – कोरोना कहर अगाडि खेलकूदका गतिविधि भइरहने तनहुँमा कोरोना कहरका कारण एक वर्ष खेलकूद गतिविधि ठप्प भयो । जब कोरोनाको कहर सामान्य बन्न थाल्यो, पुनः तनहुँमा खेलकूदका गतिविधिले लय लिन थालेको छ ।

खेलकूदका गतिविधिलाई यहाँका स्थानीय तहले प्रवद्र्धन गर्न थालेका छन् । माघ १६ गते शहीद दिवसका अवसरमा चौथो व्यास नगर अल्ट्राम्याराथन सम्पन्न गरेको व्यास नगरपालिकाले नारी दिवसका अवसरमा यही फागुन २४ गते महिला हाफ म्याराथन गर्दैछ । खेलकूदका गतिविधिमार्फत् पर्यटकीय स्थानको प्रवद्र्धन र प्रचारप्रसार गर्ने प्रयास गरिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वडा नं ३ व्यासगुफादेखि ऐतिहासिकस्थल वडा नं ११ तनहुँसुरसम्म म्याराथन हुनेछ । “धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलका रुपमा परिचित तनहुँसुरलाई खेलका माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो ।

खुल्ला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७७, द्वितीय हुनेलाई रु ३१ हजार ७७, तृतीय हुनेलाई रु २१ हजार ७७ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७७ प्रदान गरिनेछ । हाफ म्याराथन व्यास गुफादेखि सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै वडा नं ११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।

ऋषिङ गाउँपालिकाले केही दिन अगाडि मात्रै प्रथम ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न ग¥यो । प्रतियोगितामा तनहँु र छिमेकी जिल्लाका १७ पालिकाको सहभागिता थियो । उक्त प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भयो । “खेलकूदको माध्यमबाट गाउँपालिकाको प्रचारप्रसार गर्ने उद्देश्य राखेका थियांै, उद्देश्य सफल भएको अनुभूति गरेका छौ”, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भन्नुभयो ।

शुक्लागण्डकी नगरपालिकाले प्रथम मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दैछ । प्रथम मेयर कप भलिबल र ब्याडमिन्टन प्रतियोगिता आगामी चैत १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ भने राष्ट्रपति रनिङशिल्ड फागुन २७ र २८ गते आयोजना हुने नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।

म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको छ । नारी दिवसको अवसर पारेर गाउँपालिकाले शनिबारदेखि आजसम्म राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु दश हजार, रु आठ हजार, रु पाँच हजार र ट्रफी प्रदान गरिनेछ ।

टपरी गाँसेर आम्दानी गर्दै महिला

व्यास नगरपालिका–१ गल्वुबँेशी निवासी सीता अधिकारी आजभोलि दिउँसोको समयमा टपरी गाँस्न व्यस्त हुनुहुन्छ । बिहानको घरधन्दा सकेपछि दिउँसोको समय मोबाइल चलाएर र टेलिभिजन हेरेर बित्ने गरेकामा उहाँलाई आजभोलि दिउँसोमा कमै मात्र फुर्सद हुन्छ ।

फुर्सदको समय सदुपयोग गर्दै अधिकारीले टपरी गाँस्न थाल्नुभएको छ । जङ्गल गएर सालको पात टिपेर ल्याउने र टपरी गाँस्ने उहाँको आजभोलि दैनिकी बनेको छ । “पहिला पहिला यत्तिकै दिन बित्ने गरेको थियो, अहिले टपरी गाँस्ने कामले दिउँसो फुर्सद हुँदैन”, उहाँले भन्नुभयो, “समयको सदुपयोगसँगै आम्दानीको माध्यम बनेको छ ।” 


नव आदर्श आमा समूहका १४५ जना महिलाले टपरी गाँस्न थालेको अध्यक्ष सावित्रा हड्खलेले जानकारी दिनुभयो । यहाँका महिलाले गाँसेको टपरी व्यास–२ कालिका मार्गमा रहेको ‘माँ अम्बे’ पूजा सामग्री उद्योगले खरीद गर्ने गरेको छ । उक्त उद्योग एक साता अगाडिबाट सञ्चालनमा आएको छ । “घरमै बसेर आम्दानी गर्ने स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “महिलालाई उद्यमी बन्न सहयोग पुग्नुका साथै समयको पनि सदुपयोग भएको छ ।”

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी सभापति कल्पना गौलीले उक्त उद्योग सञ्चालनमा ल्याउनुभएको छ । महिलाले गाँसेको टपरी आफूले खरीद गरेर बजारमा बिक्री गर्ने गौलीले जानकारी दिनुभयो । उहाँका अनुसार आमा समूहले दैनिक एक हजार दुना टपरी उत्पादन गरेको छ ।

हाल बजारमा दुनाटपरीको राम्रो माग भए पनि स्थानीय सरकारका तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ । “उद्योगमार्फत झण्डै पाँच सय महिलालाई रोजगारी दिने उद्देश्य रहेको छ, छिट्टै नै अगरबत्ती उद्योगसमेत सञ्चालन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

दुई सय विद्यार्थीलाई छात्रवृत्ति

व्यास –१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीको क्याम्पसले अन्तरवार्ता शुरु गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । अन्तर्वार्तामा कक्षा ११ का १७५ र कक्षा १२ का ९५विद्यार्थी सहभागी भएको क्याम्पसले जनाएको छ ।

क्याम्पसले हरेक वर्ष कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि करीब रु पाँच लाख खर्चिने गरेको छ । कक्षा ११ र १२ मा यसवर्ष करीब आठ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । दाताबाट स्थापना भएको अक्षय छात्रवृत्ति कोषबाट प्राप्त ब्याज रकम क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले भुक्तान गरेको नियमित मासिक शुल्कको पाँच प्रतिशत रकम र क्याम्पसको रकम छात्रवृतिमा वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया