भक्तपुर – विकासले मुहार फेर्दै गरेको सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित पलासे–डोलेश्वर सडकखण्डको त्रिवेणी लामा निर्माण सम्पन्न भएको पक्की पुलको उद्घाटन गरिएको छ । पूर्वउद्योगमन्त्री महेश बस्नेतले बिहीबार पुल उद्घाटन गर्नुभयो ।

सांसदसमेत रहनुभएका बस्नेतको पहलमा आएको रु ८१ लाखको बजेटमा २०७६ फागुनबाट निर्माण शुरु भई हालै सम्पन्न आठ मिटर चौडा उक्त पुल निर्माणसँगै अब यस क्षेत्रमा यातायातका साधन सञ्चालनमा सहज हुने बताउनुभयो । उहाँले नयाँ स्मार्टसिटीका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै कभर्डहल र राष्ट्रियस्तरको रङ्गशाला बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

गैसस भक्तपुरमा न्यौपाने

गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखाको सातौँ जिल्ला अधिवेशनले नारायण न्यौपानेको अध्यक्षतामा शाखाको अध्यक्षसहित पदाधिकारी निर्वाचित गरेको छ ।

बिहीबार सम्पन्न अधिवेशनमा जिल्ला शाखाको अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासी उम्मेदवार जयराम थापालाई गोप्य मतदान प्रक्रियाबाट हराउँदै न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक एवं गैसस महासङ्घका केन्द्रीय सदस्य बालमुकुन्द सुवालले जानकारी दिनुभयो ।

संस्थाको उपाध्यक्षमा अनिता पाण्डे, सचिवमा रमेश गिरी, कोषाध्यक्षमा पहलमान श्रेष्ठ र उपसचिवमा विजयप्रसाद धौभडेल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा दिपेश बिसुङ्खे, सुशीला चौलागाईँ, जयराम पक्का नेवार, हरिशरण बाँस्तोला र मनिषा लामिछाने निर्वाचित हुनुभएको सुवालले जानकारी दिनुभयो । निर्वाचित टोलीले सपथग्रहण, प्रमाणपत्र प्रदान एवं पदभार ग्रहण गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया