तनहुँ – व्यास नगरपालिका कार्यालयद्वारा दमौलीमा अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित प्रथम व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगितामा धादिङका २१ वर्षीया रसिला तामाङ प्रथम हुनुभएको छ ।

दमौलीको व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको करीब २१ किलोमिटर दूरीको दौडमा उहाँले एक घण्टा ४९ मिनेटमा उक्त दूरी पार गर्दै प्रथम हुनुभएको हो ।

त्यसैगरी खोटाङ अ‍ैसेली गाउँपालिकाकी प्रिया राईले एक घण्टा ४९ मिनेट एक सेकेण्डमा पार गर्दै द्वितीय, सोलुखुम्बुकी अनिता राईले एक घण्टा ५५ मिनेट ३२ सेकेण्डमा पार गरी तृतीया हुनुभएको छ । त्यसैगरी चौथो नेपाली सेना कालिकोटकी विषेशता ऐडी, पाँचौँ भानु माध्यमिक विद्यालयकी विद्यार्थी नम्रता गुरुङ, तनहुँ ऋषिङकी सीता रानाभाट छैटाँै, भक्तपुरकी आइसा श्रेष्ठ सातौँ र ओखलढुङ्गाकी पद्मकुमारी सुनुवार आठौँ हुनुभयो ।

प्रतियोगितामा विजयी हुनेले प्रथम पुरस्कार रु ४१ हजार ७७, द्वितीय पुरस्कार रु ३१ हजार ७७ र तृतीय पुरस्कार रु २१ हजार ७७ प्रदान गरिएको छ । त्यसैगरी पाँच जनालाई रु ११ हजार ७७ का दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशीलगायतले विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो । नगरपालिकाले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन क्षेत्रको विकास गर्ने उद्देश्यले पहिलो पटक म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । केही समयअघि मात्रै नगरपालिकाले व्यास–५ मानहुँकोटदेखि शहीदग्राम पुलिमराङसम्मको करीब ४२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

जनता आवास : २८६ घर निर्माण हुँदै

जनता आवास कार्यक्रमअन्तर्गत तनहुँका १०स्थानीय तहमा गरी २८६ घर निर्माणाधीन अवस्थामा रहेका छन् । पूर्वाधार विकास कार्यालयका अनुसार चार नगरपालिका शुक्लागण्डकीमा ६३, व्यासमा ४४ भिमादमा ३५, भानुमा ३५ रहेका छन् । त्यसैगरी छवटा गाउँपालिका घिरिङमा २५, म्याग्देमा २२, देवघाटमा २१, ऋषिङमा १५, बन्दीपुरमा १३ र आँबुखैरेनीमा १३ घर निर्माण भइरहेका छन् ।

निर्माणका क्रममा रहेका घरको ५० प्रतिशत काम पूरा भइसकेको कार्यालयका इञ्जिनीयर विजय अधिकारीले जानकारी दिनुभयो । जनता आवास कार्यक्रमको सदस्य सचिवसमेत रहनुभएका उहाँले रकम भुक्तानीका लागि सङ्घीय सरकारले पर्याप्त बजेट नपाएकाले घर निर्माण कार्य प्रभावित भएको बताउनुभयो ।

रु एक करोड ३९ लाख मात्रै बजेट निकासी भएको छ । उहाँले भन्नुभयो, “करीब रु दुई करोड थप रकम भुक्तानीका लागि आवश्यकपर्ने देखिएको छ ।” जग खनेपछि रु ८३ हजार १२५, डिपिसी गरेपछि दोस्रो किस्ता रु ९९ हजार ७५०, गारो मेटाएपछि तेस्रो किस्ता रु एक लाख १६ हजार ३७५ र निर्माण पूरा भएपछि अन्तिम किस्ता रु ३३ हजार २०० प्राप्त गर्ने प्रावधान रहेको छ ।

कार्यक्रमअन्तर्गत घर निर्माण भएका अल्पसङ्ख्यक, सिमान्तकृत, पिछडिएका, दलित समुदायले रु तीन लाख ३२ हजार ५०० प्राप्त गर्ने प्रावधान रहेको छ । जनता आवास कार्यक्रमले घर निर्माणका लागि सहयोग गरेपछि खुशी लागेको व्यास नगरपालिका–१ भादगाउँका खुमबहादुर दरैले बताउनुभयो ।

खरको छानामुिन बाँसले बारेको घरमा बस्नुपरेको थियो । उहाँले भन्नुभयो, “घर बनेपछि हावाहुरी र पानी वर्षा हुँदा कठिनाइ भोग्दै आएको समस्याको अन्त्य हुने विश्वास गरेको छु ।”

वेदव्यासको १०८ फिट अग्लो मूर्ति बन्दै

धार्मिक पर्यटकीयस्थल व्यास परासर क्षेत्रको विकास गर्ने उद्देश्यले दमौलीमा महर्षी वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गरिने भएको छ । व्यास नगरपालिकाको प्रस्तावमा पर्यटन मन्त्रालयमा प्रस्तावितमा सहभागितासमेतको रु सात करोड सात करोडको प्रस्ताव स्वीकृत भएपछि उक्त मूर्ति निर्माण गरिन लागेको हो ।

सरकारको रु चार करोड ५५ लाख र व्यास नगरपालिकाको रु दुई करोड ४५ लाख लागत सहभागिता स्वीकृत भएको व्यासनगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उहाँकाअनुसार रु आठ करोड १४ लाख पाँच हजार ८१ रुपैयाँ १९ पैसाको टेण्डर प्रक्रिया तीन दिनभित्र प्रकाशन हुनेगरी प्रक्रिया अघि बढाइएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले विविध विषयमाथि छलफल गरी निर्णयसमेत गरेको छ ।

नगरपालिका र विभिन्न दाताबाट व्यास –३ व्यास गुफामा निर्माण भएको मानवसेवा आश्रम किरियापुत्री भवन सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ खारेज गरेको छ । उक्त भवन सञ्चालन व्यवस्थापन गर्न नागरिकस्तरबाटै समिति बनाइ संस्था दर्ता गरी प्रक्रिया अघि बढाउन व्यास नगरपालिका वडा नं २,३,४ का वडाध्यक्षको परामर्शमा सात जनाको समिति गठन गर्ने निर्णय गरेको छ ।

व्यास–३ निवासी एवं उक्त भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयोजनको जिम्मा दिने निर्णय भएको छ । भूमिहीन र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनसम्बन्धी विवरण भूमिहीन दलित ७२०, भूमिहीन सुकुम्बासी ४७८, अव्यवस्थित बसोबासीको छ हजार १३३ समेत गरी कूल छ हजार ८५३ रहेका छन् ।

सङ्कलित विवरणको छानविन गरी प्रमाणीकरण गर्ने प्रक्रिया सम्बन्धमा भूमिसम्बन्धी जिल्ला समितिका पदाधिकारी सदस्यसँग अन्तक्र्रिया गर्ने र प्रक्रिया अघि बढाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाभित्रका बाढीबाट बिग्रिएका कुलो, बाँध, खेतको पुनःस्थापनासम्बन्धी समितिबाट भएगरेका कार्यको विवरण प्रस्तुत भई अनुमोदन गरेको छ । साथै घर निर्माण गर्नुपर्ने बाढीपीडितको तथ्याङ्कलाई पुनःवडागतरुपमा पुनःमूल्याङ्कन गरेर प्रमाणीकरण कार्य गरी राहत वितरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

व्यास नगरपालिकाको स्थापना दिवस अगामी चैत ३० गते पूर्वजनप्रतिनिधि, वर्तमान जनप्रतिनिधिसमेत नगरवासीको सहभागितामा हालसम्म भए, गरेका कार्यको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने गरी मनाउने निर्णय गरेको छ ।

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आगामी वैशाख १ र २ गते व्यास–२, ३ स्थित सफा सडक, मालपोत लाइन, उद्योग वाणिज्य सङ्घ, अनसन चौतारी क्षेत्रमा स्थानीय सरोकारवालाको पहल सडक महोत्सव आयोजना गर्ने निर्णय भएको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

व्यास नगरपालिका सडक पूर्वाधार निर्माण एवं शासकीय सुधारका लागि शहरी विकास विभागसँग विश्व बैंकको सहयोगबाट प्राप्त रु ७५ करोड बराबरको सम्झौता सम्पन्न भएको छ ।
व्यास– १० स्थित वैरेनी क्षेत्रमा जग्गा विकास आयोजनालाई व्यास नगरविकास समितिको सिफारिसअनुसार नगरपालिकाकैतर्फबाट सञ्चालन स्वीकृतिका लागि नेपाल सरकारमा अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

व्यास नगरपालिकाभित्र जग्गा सम्याउने कार्यमा व्यवस्थित गर्न आवश्यक देखिएकाले निश्चित दस्तुर लिएर वातावरणीय असर नपर्ने गरी नियमनका साथ जग्गा सम्याउने अनुमति प्रदान गर्नेसम्बन्धी कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया