दमौली – निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः शुरु भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली सङ्कलन स्थगन गरेको थियो । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै आयोगले नामावली सङ््कलनलाई अगाडि बढाएको हो ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माले चैत ५ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक शुरु गरिएको जानकारी दिनुभयो । कार्यालयले नागरिकता बनाउन आउनेलाई प्रशासन कार्यालयबाटै नामावली सङ्कलनको व्यवस्था मिलाएको छ भने कार्यालयबाट पनि नाम दर्ता गर्न सकिनेछ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदानस्थल, जन्ममिति, नागरिकता, बुवाआमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनका लागि आवश्यक प्रमाणसहित निवेदन दिन कार्यालयले आग्रह गरेको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा विसं २०७४ को निर्वाचनपछि गत पुस ५ गतेसम्म २० हजार २४ मतदाता थपिएका छन् । विसं २०७४ को निर्वाचनअनुसार तनहुँमा दुई लाख ११ हजार ३९६ मतदाता रहेका थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् ।

कोरोना जोखिम बढेपछि मलामी सङ्ख्या कम गर्न आग्रह

विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी सङ्ख्या कम गर्न आग्रह गरेको छ । समितिले सूचना निकालेर कोरोना सङ्क्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो ।

कोरोना सङ्क्रमणबाट बच्न र बचाउनका लागि न्यून सङ्ख्यामा २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो । “रोग लागिसकेपछिको चिन्ता र सतर्कताभन्दा त्यसपूर्व नागरिकको सचेत व्यवहारलाई उत्तम मानिन्छ”, उहाँले भन्नुभयो, “सनातन संस्कृतिका अनुयायीहरुको पावनभूमि देवघाटधाम पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा छ ।”

अनियन्त्रित सङ्ख्यामा मलामीको उपस्थिति र अनावश्यक घुमफिर, कोरोना महामारीमा कमी आएसँगै लयमा फर्कँदै गरेका होटल व्यवसाय र त्यहाँ रहने उपभोक्ता, अनावश्यकरूपमा हिँडडुल गर्ने समूह र देश बाहिरबाट आउने नागरिकबाट पनि देवघाटधाम कोरोनाको जोखिममा रहेको छ । न्यून सङ्ख्यामा मलामी आउन र मलामी अनावश्यक घुमफिर नगरी नुहाईधुवाई र चोखो शुद्ध भएर घर फर्कन समितिले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया