स्याङ्जा – ट्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका–८ का सुनील राना छन् । घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार फरार छन् ।

जिल्ला प्रहरीका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ–९ पाखीचौरस्थित बेलचौर–साँखर कच्ची सडकमा गत बिहीबार साँझ ढुंगा बोकेको लु अ फ १०२० नम्बरको (अस्थायी नम्बर) ट्याक्टरबाट खसेर गल्याङ–८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेका थियो ।

‘ट्याक्टर चालक परियार र सहचालक रानाले घाइते गणेशलाई ट्याक्टरमा राखेछन्,’ अधिकारीले भने, ‘पारीचौरबाट ट्याक्टर मोडेर फेरि साँखरस्थित कालीगण्डकी नदीको किनारमा लगेछन् र घाइते गाहालाई त्यहींबाट नदीमा फालिदिएछन् ।’

आइतबार सूचना पाएपछि प्रहरी अधिकृतको टोली खोजतलासमा लागे पनि गाहा अहिलेसम्म नभेटिएका उनले बताए । घटनापछि सुनील पाल्पास्थित दिदीको घर पुगेर सबै कुरा सुनाएछन् । आफूले केही नगरेको र अमितले नदीमा बगाइदिएको बताएपछि दिदीले नै उनलाई प्रहरीको सम्पर्कमा ल्याएकी थिइन् ।

‘त्यसपछि पाल्पा प्रहरीले सोधपुछका लागि सुनीललाई नियन्त्रणमा लियो र हामीलाई खबर गर्‍यो,’ अधिकारीले भने, ‘सोधपुछ गर्दा सुनीलले आफू पनि संलग्न रहेको र घाइते गाहालाई नदीमा फालेको स्वीकार गरेपछि उनीमाथि मुद्दा दर्ता गरिएको हो ।’ उनलाई सोमबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको आजको कान्तिपुरमा समाचार छ ।

गाहाका परिवारलाई भने त्यतिबेलासम्म घटनाबारे कुनै खबर थिएन । परिवारको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘छोरो साथीसँग बाहिरै बढी हिँडडुल गर्ने भएकाले साथीकोमा गएर बसेको होला, आउला नि भनेका रहेछन् ।’ घटनाको विषयमा ट्याक्टर धनीसमेत बेखबर रहेको पाइएको प्रहरीले जनाएको छ । फरार परियारको भने खोजी भइरहेको अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया