बलेवा – असजिलो बाटो त्यहीमाथि साँघुरो । स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान पुग्थे । दोहोरो सवारीको आवतजावत नहुने । कच्ची सडकको ठाउँठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र पछार्ने गर्दा यात्रुलाई लाग्थ्यो गन्तव्यमा सकुशल पुगिन्छ या पुगिँदैन् ।

दुई वर्ष पहिलेसम्म बागलुङको तमानखोलाको केन्द्र बोङगादोभान पुग्नु ठूलै युद्ध जितेको जस्तै हुन्थ्यो । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि झण्डै दश किलोमिटरको दूरीको यात्रा घण्टौं लागेर सवारीले सडक पार गर्थे । अहिले परिस्थिति बद्लिएको छ । विसं २०७२ मा भूकम्पका कारण जिल्लाभरका सडकमा सबैभन्दा मारमा यही सडक पर्यो । कमजोर भू–भागमा रहेको सडक भूकम्पको शिकार बनेपछि भने अहिले मुहार नै फेरिएको छ ।

भूकम्प गएको छ वर्ष पुग्नैलाग्दा बागलुङमा क्षति भएको सो सडकको स्तरवृद्धिको काम सकिएको छ । सडकलाई बाह्रैमहिना सञ्चालनमा आउन सक्ने गरी दुईवटा मोटरवेल पुल निर्माणधीन अवस्थामा छन् । ढोरपाटन र तमानखोला जोड्ने करीब दश किलोमिटर सडक स्तरोवृद्धि भएपछि अहिले सहज यात्रा हुन्छ ।

भूकम्पले क्षतिग्रस्त बुर्तिबाङ–खुङ्गा–बोङगादोभान–खंङखानी सडकमा क्षति गरेको थियो । तमानखोलाको दुर्गम वडालाई पालिका केन्द्रमा जोड्ने गरी क्षतिग्रस्त सडक स्तरोवृद्धि गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सडकका इन्जिनीयर हरिशचन्द्र बडूले जानकारी दिनुभयो ।

सब–वेस प्रकारको सडक कालिका प्यासिफिक जेभीले २०७५ वैशाख १० गते सम्झौता गरी निर्माण कार्य थालेको थियो । निर्माण कम्पनीले २०७६ साल कात्तिक ९ गते निर्माण सम्पन्न गरे पनि हस्तान्तरण हुनसकेको छैन । एक वर्षे परीक्षणकाल रहेको हुँदा चालू वर्षको अन्तिमसम्म सडक आयोजनालाई निर्माण कम्पनीले हस्तान्तरण गर्ने इन्जिनीयर बडुको भनाइ छ । जिल्लामा एउटा मात्र सडक पुनःनिर्माणको लागि योजना स्वीकृति भएको थियो ।

निर्माण कम्पनीले अहिले बर्खाको पानीले क्षतिग्रस्त सडकमा ग्याबिनजाली, मेसिनरीवाल, नाली निर्माणको काम गरिरहेको छ । रु १५ करोड ७९ लाख १४ हजार ६४३ को लागतमा सडक पुनःनिर्माण गरिएको हो । एक वर्षको परीक्षण अवधि सकिएपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरिने छ ।

सडकलाई पाँचमिटर फराकिलो बनाइएको छ । घुम्ती र अप्ठ्यारो ठाउँमा पाँच मिटरभन्दा फराकिलो सडक निर्माण गरिएको इन्जिनीयर बडूको भनाइ छ । बुर्तिवाङ–खुङ्गा–बोङगादोभान–खंङखानी सडकखण्डको दुई स्थानामा मोटरेवेल पुनःनिर्माणधीन छन् । सडकखण्डको लुकुरवान खोलामा २५ मिटरको पुल कर्ण प्रदीप जुम्ली जेभीले गत वर्षको मङ्सिर २ गतेदेखि निर्माण थालेको थियो । उक्त पुलको ६५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

चालीस मिटर लम्बाइको भालीवाङ खोला पुल नयाँ बाटो सूर्योदय जिएस जेभीले गत असोज १२ गते सम्झौता गरी निर्माण कार्य थालेको छ । इन्जिनीयर बडूका अनुसार उक्त पुलको भौतिक प्रगती २५ प्रतिशत छ । रु चार करोड ४२ लाखमा भालुवाङ पुल निर्माण हुँदैछ । दुई पुल निर्माणपश्चात् पालिकाभित्र बाह्रैमहिना सडक सञ्चालनमा आउने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया