काठमाडौँ – नेपाली कांग्र्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो ।

कांग्रेसले बैठक लाइभ गरेपछि यसको आकर्षण अन्य दलमा पनि पर्ने बताउँदै महामन्त्री शर्माले कांग्रेस बैठकमा सात दिनसम्म संसद्मा भएको जस्तै छलफल भएको बताउनुभयो । बैठकमा अन्य दलको बारेमा नबोल्नु भनी आएको प्रश्नका सम्बन्धमा उहाँले त्यस्तो कसैले नभनेको भनी स्पष्ट पार्नुभयो ।

अर्का महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्तुत गर्नुभएको साङ्गठनिक कार्यतालिका कार्यान्वयनका सम्बन्धमा उहाँले यो प्रस्ताव सिङ्गो सङ्गठनका लागि भएकाले सबै आशङ्का नगरी अठोट गरेर लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।

महामन्त्री शर्माले बैठकमा आएका प्रश्न र गुनासोलाई आत्मसात गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टी सभापतिले घरबाटै पार्टी चलाएको भन्ने प्रश्नको जवाफ दिँदै आगामी दिनमा कार्यक्रम हुँदा नियमित र अन्य दिनमा प्रत्येक शुक्रबार सभापति र महामन्त्रीहरूले पार्टी कार्यालयमा नियमित भेटघाट गर्ने उल्लेख गर्नुभयो ।

राज्यबाट जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा सरकार संवेदनशील हुनुपर्ने बताउँदै उहाँले कांग्रेसले लिएका नीतिका कारण अहिले सरकारले धेरै काम गर्न सम्भव भएको उल्लेख गर्नुभयो । मुलुकमा हाल ठूला भ्रष्टाचारका फाइल खुलेको बताउँदै महामन्त्री शर्माले त्यसमा व्यक्ति को पर्छ भन्ने दोस्रो कुरा भएको उल्लेख गर्नुभयो ।

उहाँले कांग्रेसको तत्कालीन सरकारकै पालामा विसं २०५८ मा भ्रष्टाचार निवारण ऐन बनेको, कांग्रेस नेतृत्वकै सरकारले मुलुकी अपराध संहिता बनाएर लागू गरेको स्मरण गर्दै भन्नुभयो, “कानून बलियो बनाउन र अनुसन्धान बलियो बनाउन कांग्रेस हरसम्भव लागिरहन्छ । दोषी उम्कनु हुन्न र निर्दोष फस्न नुहुनेमा पार्टी स्पष्ट छ ।”

सभापतिलाई गाली गरेर खुइल्यायो भन्ने प्रश्नको जवाफमा उहाँले गाली र आलोचना शब्दको अर्थ फरक रहेको बताउँदै कमजोरीमा आएका सुझावलाई ग्रहण गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले आफू प्रधानमन्त्री हुँदा तत्कालीन अवस्थामा आलोचना गर्न मिडियालाई राज्यबाट अनुदान सहयोग गरेको स्मरण गराउनुभयो ।

कांग्रेस रूपान्तरणका नाममा गरिएका कार्यक्रमबाट आएका महत्त्वपूर्ण सुझाव ग्रहण गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले राजनीतिमा ‘एज’ होइन ‘एजेण्डा’ महत्त्वपूर्ण हुने र ‘एक्जिट पोलिसी’ बनाउनुपर्ने बताउनुभयो । राज्यले नै राष्ट्रपति एक पटक मात्र, प्रधानमन्त्री दुई पटक मात्र, मन्त्री तीन पटक मात्र र सांसद चार पटक मात्र हुन पाउने विधि बनाउनुपर्ने धारणा व्यक्त गर्दे महामन्त्री शर्माले कांग्रेसले यसको बारेमा प्रस्ताव गरेर कानूनको अङ्ग बनाएर लैजानुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया