लन्डन – स्पेनिस ‘एल क्लासिको’ मा रियल मेड्रिड विजयी भएको छ । शनिबार राति भएको एल क्लासिको म्याचमा रियलले बार्सिलोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियललाई आफ्नो घरेलु मैदानमा जित दिलाउन कप्तान करिम बेन्जेमा र टोनी क्रुसले गोल गरेका थिए । यता पाहुना टोली बार्सिलोनाका लागि ओस्कार मिगुएजाले एक गोल फर्काए ।

यो जितसागै रियलले सन् २०१३ पछि पहिलोपटक एकै सिजनको एल क्लासिको आफ्नो पक्षमा पारेको छ । २०१३ को एल क्लासिकोको दुवै म्याच रियलले आफ्नो पक्षमा पारेको थियो । यो सिजनमा भएको पहिलो एल क्लासिकोमा पनि रियलले ३–१ ले जितेको थियो ।खेलको १३औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट रियलले अग्रता लिएको थियो ।

त्यस्तै, २८औं मिनेटमा रियलले टोनी क्रुसको गोलबाट अग्रता दोब्बर बनायो । यता खेलको ६०औं मिनेटमा ओस्कार मिगुएजाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए । उनेले जोर्डी अल्बाको पासलाई सदुपयोग गरेका थिए । खेलको इन्ज्युरी समयमा रियल १० खेलाडीमा समेटिएको थियो ।

आक्रामक मिडफिल्डर क्यासमिरो एक मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाादै मैदानबाट बाहिरिएका थिए । उनले पहिलोपटक लियोनल मेसीलाई फाउल गर्दा दोस्रोपटक ओस्कार मिगुएजालाई फाउल गर्न पुगेका थिए । त्यसपछि, थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो । एजेन्सी

तपाईको प्रतिक्रिया