काठमाडौं – एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा ग¥यो। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो। क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ ग¥यो। त्यसको नेतृत्व युथ फोर्सका पूर्वकमान्डर महेश बस्नेतले गरेका थिए। 

पार्टीभित्र तीव्र विवाद चर्किरहेकै बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीले पनि असार २९ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरे। ‘ओली समूहलाई काउण्टर दिन अखिल फोर्स गठन गरेका हौं,’ घोषणासभामा नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘अब देशभरका क्याम्पस र जिल्लाहरूमा गठन गरेर अघि बढ्छौं।’

ओली पक्षको युथ फोर्सलाई काउन्टर दिनै नेपाल पक्षले बिहीबार अर्को दस्ता ‘पिपुल्स भोलेन्टियर (पीभी)’ पुनर्गठन गरेको छ। १२ वर्षअघि विघटन गरिएको पिपुल्स भोलेन्टियर १ हजार एक सदस्यीय बनाइएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

ओली पक्षतर्फ पूर्वमाओवादी नेताहरूले समेत लडाकु दस्ताकै रूपमा आइटी आर्मी घोषणा गरिसकेका छन्। त्यसको नेतृत्व चन्द्रभूषण साहले गरेका छन्। 

एकातिर एमालेमा पार्टी एकताको पहल भइरहेको छ भने अर्कातर्फ दुवै पक्षले भटाभट लडाकु दस्ता गठन गरिरहेका छन्। पार्टीमा युवा र विद्यार्थीका वैधानिक र जनवर्गीय संगठन हुँदाहँंदै सैन्य संरचनाका लडाकु दस्ता निर्माण गर्दै जानुले एमालेका नेताहरू (भिडन्त) तर्फ अग्रसर भइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। प्राध्यापक डा.लोकराज बराल यो होडबाजीलाई एकले अर्कालाई शक्ति देखाउन र तर्साउन युवा, विद्यार्थीका दस्ता गठन गर्दै लगेको ठान्छन्। ‘अहिले नै एमाले एकता हुन्छ जस्तो लाग्दैन,’ डा. बराल भन्छन्, ‘ओलीको इगो झर्दैछ भने माधव नेपाल ओलीको नाडी छाम्दैछन्।’ 

२०६३ मा सशस्त्र विद्रोह त्यागेर माओवादी शान्ति प्रक्रियामा आए लगत्तै पार्टीका युवा, विद्यार्थी समेटेर वाईसीएल गठन गर्यो। वाईसीएलले देशव्यापी चन्दा, अपहरणलगायतका आतंक मच्चाएपछि एमालेले काउण्टर दिन बस्नेतको संयोकत्वमा २०६५ मा युथ फोर्स गठन गरेको थियो। एमालेको आठौं महाधिवेशनले युथ फोर्स विघटन गरेको थियो। 

तर, ओलीको सत्ता बर्हिगमनसँगै पुनः यसलाई ब्युँताइएको छ। ओलीलाई पार्टीभित्र र बाहिरबाट घेराबन्दी गरिएकाले नेतृत्व र जनताको सुरक्षा गर्न भन्दै युथ फोर्स ब्युँताइएको पूर्वकमाण्डर बस्नेतले बताएका छन। ‘एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथ फोर्स पुनर्गठन गरिएको हो,’ बस्नेतले घोषणा सभामा भनेका थिए, ‘विपक्षी गठबन्धन र बौद्धिक अराजकवादीका नाममा एमालेमाथि घेराबन्दी गरिएको छ। युथ फोर्सले त्यसको प्रतिरोध गर्छ।’

पहिलेको विपक्षी (हालको सत्तापक्षीय) गठबन्धनमा नेपाल पक्ष सम्मलित छ। युथ फोर्सले अग्रपंक्तिका नेताहरूको सुरक्षा र पार्टीका कार्यक्रमहरूमा स्वयंसेवाको भूमिका निर्वाह गर्ने बस्नेतको भनाइ छ। पार्टी विवाद मिल्नेभन्दा चर्किंदै गएपछि नेता नेपाल पक्षधर युवा, विद्यार्थीले पनि लडाकु दस्ताको घोषणा गर्दै गएका छन्। उनीहरूले विद्यार्थीको अखिल फोर्स र युवाहरूको पिपुल्स भोलिण्टीयर्स गठन गरेका छन्। 

ओली प्रधानमन्त्री भएका बेला सरकारको बचाउ गर्न (साइबर सेना) नामक युवा, विद्यार्थीको अनौपचारिक समूह सक्रिय थियो। युवा, विद्यार्थीको ठूलो पंक्ति आफूसँगै रहेको जवाफ दिन ओलीले सत्ताबाट हटेसँगै लडाकु दस्ता निर्माण गर्दै गएको नेपाल पक्षधर नेताहरूको आरोप छ।

यता ओलीलाई काउण्टर दिन नेपालकै उपस्थितिमा १२ वर्षअघि विघटन भएको पिपुल्स भोलेण्टियर (पीभी ) घोषणा गरिएको छ। ओली पक्षकै शैलीमा बिहीबार मोटरसाइकलको तामझाम र सडक अवरुद्ध गरी पीभी ब्युँताएको घोषणा गरिएको थियो। शिव श्रेष्ठ अध्यक्ष र मनोज खत्री सचिव रहेको पीभीलाई युवा संघ मातहत रहने गरी क्रियाशील बनाइने नेताहरूले बताए। अध्यक्ष ओली निकट पूर्वमाओवादी प्रभु साह, टोपबहादुर रायमाझीले पनि लडाकु दस्ता आईटी आर्मी घोषणा गरेका छन्। साउन ५ गते चन्द्रभूषण साहको संयोजकत्वमा १ सय ५१ सदस्यीय आइटी सेनाको केन्द्रीय कमिटी गठनको घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया