काठमाडौँ – कुनै समय कमलरीको जीवन बिताउन बाध्य सांसद शान्ता चौधरीले दासी जीवनबाट उठेर एसइई पास गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। उनले कमलरीको सन्तानले पढ्ने सपना नदेख भन्नेहरुका लागि एसइई पाससम्मको यात्रा एउटा विद्रोहको श्रृंखला हो भनेकी छन् ।

प्रतिनिधिसभामा नेकपाकी सचेतक रहेकी शान्ताले आजको दिन एउटी कमलरीको असम्भव सपना पुरा भएको बताएकी छन् ।   ‘एसईईको परिक्षाफल प्रकाशित भयो । मन गरुँगो भयो, मुटु चिमोटियो र एक्कासि आँखा रसाए किनकी मलाई अध्यारो कुनाभित्रको अतितले पढाईसँग तेरो कहिल्यै साक्षत्कार हुन सक्दैन भनेर खिसिट्युरी गरिरहन्थ्यो र भनिरहन्थ्यो एउटा गरिब कमलरीको सन्तानको रुपमा जन्म लिनेले असम्भव सपना देख्न नगर, तेरो पुस्तौं पुस्ताले यस्तै खालको दासी जीवन भोग्दै जानु पर्नेछ’, उनले भावुक हुँदै भनेकी छन्,  ‘धन्न समय पिँजडालाई तोडेर हामीलाई बाहिर निकाल्न बलशाली भएर आइदिएछ । भाँच्यौं शोषणका खुनी नंग्राहरु, उघारिदियौं दासताका घुम्टोहरु, च्यातिदियौं दमनका पर्दा र निस्कियौं मुक्त आकाशको खोजीमा ।’

तपाईको प्रतिक्रिया