काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो ।

आज (बिहीबार) अपरान्ह जिल्ला अदालतले अनुमति दिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आवश्यक रहेको भन्दै अदालतमा पक्राउ गर्न अनुमति माग गरेको थियो ।

१७ वर्षीया किशोरीले लामिछानेविरुद्ध भदौ २३ गते जाहेरी दिएकी थिइन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।
अनुमति पाएसँगै अब प्रहरीले सन्दीपलाई जुनसुकै समयमा पक्राउ गर्न सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया