काठमाण्डौ । एनआईबिएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनी लिमिटेडका अध्यक्ष चाय जियाङ्बोबीच नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको हो । नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाइना भ्रमणमा जाने ग्राहकहरु र चाइनाबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी अहिले युनियनपे डेबिट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ । अब क्युआर कोडमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट युनियनपे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुराँको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले नेपाल सरकारद्वारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियनपे अन्तर्राष्ट्रिय कम्पनीले सहकार्य प्रारम्भ गर्न लागिएको जानकारी गराए ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा चाइनाबाट १५३ हजार ६३३ चाइनिज पर्यटक नेपाल आएका थिएभने नेपाल भ्रमण वर्ष २०२० मा ३ लाख चाइनिज पर्यटक नेपाल आउने अपेक्षा राखिएको छ।

युनियनपे अन्तर्राष्ट्रिय कम्पनीको प्रधान कार्यालय चाइनाको सांघाईस्थित २०१२ मा स्थापित भएको हो । हाल यस कम्पनीले विश्वको १७७ देशमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया