काठमाडौं – निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाचनका लागि आवश्यक पर्ने काम अघि बढाउनुपर्ने भएकाले आयोगले दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए ।

‘निर्वाचनमा भाग लिन चाहने दलहरूले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नुपर्छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न पनि आयोगले अब दल दर्तालगायतका काम अघि बढाउनुपर्छ । दल दर्ता गर्न आयोगले आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गर्दै छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

आयोगले हाल आचारसंहिताको मस्यौदासमेत बनाइरहेको छ । यस्तै अर्थ मन्त्रालयसँग निर्वाचनका लागि बजेट माग गर्न आयोग तयारी अवस्थामा पुगेको छ ।

यसैगरी निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापनको काममा समेत आयोग अघि बढिरहेको छ भने आयोगले बिहीबारबाट देशभरका स्थानीय तहका केन्द्रमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन भन्दै मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको छ ।

आयोगले हाल मतदान केन्द्र र मतदान स्थल पुनरावलोकन गर्नेलगायतका काम गरिरहेको छ । आयोगले करिब ९ लाख नयाँ मतदाता बढ्दै गर्दा विगतको निर्वाचनमा भन्दा करिब १२ सयको संख्यामा मतदान केन्द्रसमेत थप गर्ने तयारी गरेको छ ।

आयोगले यसबीचमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग समेत छलफललाई निरन्तरता दिने बताउँदै आएको आजको राजधानी दैनिकमा खबर छ ।
आयोगका प्रवक्ता श्रेष्ठले संघीय संसद्मा प्रतिनिधित्व गरेका, प्रदेशसभामा प्रतिनिधित्व गरेका र स्थानीय तहमासमेत गरी कहीँ न कहीँ प्रतिनिधित्व गरेका दललाई आयोगले निर्वाचन केन्द्रित छलफलमा बोलाउने जानकारी दिए ।

यसअघि समेत आयोगले नेकपा, नेपाली कांग्रेसलगायतका दललाई मतदान केन्द्र पुनरावलोकनको काममा सघाउन भन्दै आयोगमा बोलाएको थियो ।

आयोगले शुक्रबार मात्रै पनि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दल दर्तासहित निर्वाचन तयारीबारे छलफल गर्न आयोगमा बोलाएको थियो ।

तर नेकपाका अध्यक्ष दाहाल समूहले भने व्यस्तताको कारण देखाउँदै १८ माघपछि मात्रै छलफल गर्न सकिने भन्दै आयोगलाई पत्र नै पठाएको छ । नेकपाका अर्का अध्यक्ष ओली पक्षका नेताहरू भने शुक्रबार आयोगमा पुगी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गर्दै फर्किएका छन् ।

तपाईको प्रतिक्रिया