सामाजिक सञ्जाल फेसबुक कम्पनीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सबै अकाउन्ट दुई वर्षका लागि प्रतिबन्ध गरेको छ ।

७ जनवरी ०२१ देखि लागू हुने गरी पूर्वराष्ट्रपति ट्रम्पका सबै फेसबुक अकाउन्ट प्रतिबन्ध गरेको शुक्रबार विज्ञप्ति जारी गर्दै फेसबुकले जनाएको छ । अब ट्रम्पले ७ जनवरी ०२३ मा फेसबुक चलाउन पाउनेछन् । अकाउन्ट प्रतिबन्ध भएपछि ट्रम्पले सन् २०२४ को नोभेम्बरमा हुने निर्वाचनअघि मात्र फेसबुक चलाउन सक्नेछन् । 

फेसबुकको ग्लोबल अफियर्सका उपाध्यक्ष निक क्लेगले भविष्यमा ट्रम्पले शान्ति सुरक्षा र समाजमा नकारात्मक सन्देश प्रवाह गर्न नसकून् भनेर अकाउन्ट प्रतिबन्ध गर्नुपरेको बताएका छन् । ‘हामी हिंसात्मक घटना, शान्तिमय सभा र नागरिकको मूल्यांकनका आधारमा यस्तो निर्णय लिन बाध्य छौँ,’ उपाध्यक्ष निकले भने । यसअघि ट्विटरले ट्रम्पको अकाउन्ट सधैँका लागि बन्द गरिसकेको छ । 

फेसबुक तथा ट्विटरबाट टाढा रहनुको पछाडि अमेरिकी निर्वाचनपछि ट्रम्पले दिएका अभिव्यक्तिलाई प्रमुख विषय मानिएको छ । निर्वाचनमा पराजित भएपछि ट्रम्पले सबैजसो सामाजिक सञ्जालबाट अभद्र, अशोभनीय तथा हिंसा भड्काउने टिप्पणी गरेका थिए । अमेरिकाका ४६औँ राष्ट्रपति निर्वाचनमा पराजित भएपछि ६ जनवरीमा उनले अमेरिकी संसद् क्यापिटल हाउसमा हिंसात्मक गतिविधि फैलने किसिमका अभिव्यक्ति दिएका थिए । त्यस दिन संसद्मा निर्वाचनको अन्तिम परिणाम घोषणा हुँदै थियो । 

ट्रम्पले संसद्मा प्रतिरोध गराउने उद्देश्यका साथ सामाजिक सञ्जालमा भड्किलो टिप्पणी दिएका थिए । उनकै ट्विटपश्चात् समर्थकहरू उग्र बनेका थिए । त्यसपछि हजारौँ समर्थकले क्यापिटल हाउसमा पुगेर उपद्रो मच्चाएका थिए । यस घटनामा सुरक्षाकर्मीसहित प्रदर्शनकारीको निधन भएको थियो । घटनाको भोलिपल्ट अर्थात् ७ जनवरीमै फेसबुकलगायत अन्य सोसियल मिडियाले राष्ट्रपति ट्रम्पविरुद्ध एक्सन लिएका थिए ।

फेसबुक, इन्स्टाग्राम, युट्युब र गुगल कम्पनीले केही समयका लागि मात्र ट्रम्पका अकाउन्ट बन्द भएको घोषणा गरेका थिए । यता, ट्विटरले भने ट्रम्पका अकाउन्ट सधैँका लागि बन्द गरिदिएको थियो । सामाजिक सञ्जाल सञ्चालकहरूले कारबाही गर्दा ट्रम्प अमेरिकाका राष्ट्रपति पदमै थिए । राष्ट्रपतिको हैसियतबाट ट्रम्पले एक सातापछि सबै सामाजिक सञ्जाल कम्पनीका मालिकहरूलाई धम्कीपूर्ण उत्तर पठाएका थिए । 

ट्रम्पले भनेका थिए, ‘अर्कोपटक ह्वाइटहाउसमा हुने रात्रिकालीन भोजमा कोही पनि सामाजिक सञ्जालका मालिक र सिइओलाई बोलाइनेछैन ।’ त्यसवेला ट्रम्पले फेसबुकका सिइओ मार्क जुकरबर्ग र उनकी श्रीमतीलाई ह्वाइटहाउसमा निम्तो नदिने भनेका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया