बागलुङ – बागलुङ जेसीजले यस वर्षको ‘जेसीज उत्कृष्ट युवा सम्मान’ बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेलाई प्रदान गरेको छ । बागलुङ जेसीजको ४३ औँ पदस्थापना समारोहमा शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले कोरोना महामारी नियन्त्रण र रोकथामको अभियानमा जनप्रतिनिधिका रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै लामिछानेलाई सम्मान गर्नुभयो ।

समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने युवा व्यक्तित्वलाई बर्सेनि ‘जेसीज उत्कृष्ट युवा’ सम्मान प्रदान गर्ने गरिएको जेसीजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताउनुभयो । शुक्रबार नै रेग्मी नेतृत्वको जेसीज बागलुङको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । निवर्तमान अध्यक्ष सुरेन्द्र शाक्यले नवनिर्वाचित अध्यक्ष रेग्मीलाई पद हस्तान्तरण गर्नुभएको थियो । त्रिचालीस वर्षअघि स्थापित बागलुङ जेसीज युवाको व्यक्तित्व र नेतृत्व विकासमा क्रियाशील छ ।

आँखा उपचार केन्द्र स्थापना

ग्रामीण भेगका जनसाधारणलाई लक्षित गरी गलकोट नगरपालिका–७ मल्ममा ‘श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र’ स्थापना गरिएको छ । केन्द्रको बिहीबार वडाध्यक्ष टीकाबहादुर थापाले शुभारम्भ गर्नुभएको थियो । स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका उपाध्यक्ष वसन्त केसीले बताउनुभयो । केन्द्र स्थापनाका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक सहयोग गरेको छ ।

“उपकरणदेखि स्वास्थ्यकर्मी र कर्मचारीको प्रबन्ध पनि श्रीकृष्ण नेत्रालयमार्फत भएको छ”, उपाध्यक्ष केसीले भन्नुभयो, “वडा र नगरपालिकासँग समन्वय गरेर आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।” केन्द्रमा इञ्चार्जका रुपमा आरपी पहाडी र प्राविधिक छमी बोहरा हुनुहुन्छ । तत्काललाई शल्यक्रियाबाहेकका सबै उपचार सेवा केन्द्रबाट प्रदान हुने र छिट्टै शल्यक्रिया सेवा पनि शुरु गर्ने तयारी छ ।

श्रीकृष्ण नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीले दृष्टि जाँच, चश्मा वितरण, आँखा पोल्ने, चिलाउनेलगायत आँखाको प्राथमिक उपचार सेवा केन्द्रबाट प्रदान हुने बताउनुभयो । डा केसीले भन्नुभयो, “आँखाको सामान्य उपचार गर्न, चश्मा लिन अब टाढा जानुपर्ने अवस्था आउँदैन ।”

गलकोटमै जन्मनुभएकी डा केसीले केन्द्र स्थापनाका लागि विशेष पहल गर्नुभएको थियो । “म गलकोटमा भएका आँखा शिविरमा जाँदा धेरै व्यक्तिमा आँखाको समस्या भेट्थेँ, शल्यक्रिया गर्नुपर्ने बिरामीको सङ्ख्या उत्तिकै हुन्थ्यो”, डा केसीले भन्नुभयो, “त्यसपछि गलकोटबाटै आँखा उपचार सेवा दिनुपर्छ भन्ने सोच आयो ।”

घरदैलोमै पुगेर बालबालिकाको आँखा जाँच गर्ने र उपचार आवश्यक पर्नेलाई केन्द्रमा ल्याएर सेवा दिइने उहाँको भनाइ छ । हाललाई खाली रेडक्रस भवनबाट केन्द्र सञ्चालनमा ल्याए पनि पछि आफ्नै भवन बनाएर अस्पतालकै रुपमा स्तरोन्नति गर्ने योजना व्यवस्थापन समितिको छ । वडाध्यक्ष थापाले आँखा उपचार केन्द्रको सेवालाई सहज र स्तरीय बनाउन वडाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

केन्द्रमार्फत तीन÷तीन महिनाको अन्तरमा निःशुल्क आँखा उपचार शिविरसमेत गरिने भएको छ । आँखा उपचार केन्द्रको पूर्वाधार निर्माण, उपकरण खरीदलगायत व्यवस्थापकीय काममा गलकोट समाज जापानले पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया