काठमाडौं – वेदबाट लिइएको ध्यानको विषयमा जानकारी दिने पुस्तक ‘भावातीत ध्यान शैली’ नेपालीमा अनुवाद गरिएको छ ।

वैदिक ज्ञानका विश्वव्यापी प्रसारक महर्षि महेश योगीले अमेरिका र क्यानडाका शिष्यलाई दिनुभएको प्रवचन श्रृङ्खलालाई पुस्तकका रुपमा प्रकाशन गरिएको थियो । पहिले अङ्ग्रेजी र पछि हिन्दीमा प्रकाशित पुस्तकलाई ध्यान शिक्षक गोपालकुमार मैनालीले नेपालीमा अनुवाद गर्नुभएको हो ।

नेपाल महर्षि वैदिक फाउन्डेशनले प्रकाशन गरेको पुस्तक ५० पृष्ठको छ । पुस्तकमा भावातीत ध्यान र यसको महत्वसहित कसरी गर्ने भन्ने विषयमा प्रकाश पारिएको छ । योगीको जन्म दिवस एवं राष्ट्रिय योग दिवसको अवसर पारेर हालै पुस्तक सार्वजनिक गरिएको हो ।

फाउन्डेशनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा र आध्यात्मिक चिन्तक डा चिन्तामणि योगीले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गर्नुभयो ।

सो अवसरमा अध्यक्ष बाँस्कोटाले वैदिक ज्ञानको प्रसारमा पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । विश्व शान्तिका लागि हाल देशभरका ९० गुरुकुलमा दैनिक १२१ वैदिक रुद्राभिषेक भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

डा चिन्तामणि योगीले नेपालमा वैदिक विश्वविद्यालय स्थापना गरिनुपर्नेमा पनि जोड दिनुभयो । अमरिकाको महर्षि व्यवस्थापन विश्वविद्यालयमा आफू अध्ययन भ्रमणका लागि जाँदा सबै विषयलाई वैदिक पाटोबाट अध्यापन गराइरहेको भेटिएको उहाँले सुनाउनुभयो ।

समीक्षक रमण घिमिरेले सत्यको ढोका खोलिदिने योग्य गुरुको आवश्यकता सबैलाई पर्ने भएकाले गुरु परम्पराबाट आएको ध्यान विधिको साधनाले व्यक्तिलाई अधिकतम फाइदा पुग्ने अनुभव सुनाउनुभयो । पुस्तकलाई अझै सरल भाषामा विश्लेषण गरिदिए साधारण मानिसले पनि बुझ्न सक्ने उहाँको भनाइ थियो ।

अनुवादक मैनालीले महेश योगीले आफ्नो अनुपस्थितिमा भावातीन ध्यानको ज्ञान ध्यान शिक्षकले दिनसक्ने भन्नुभएकाले गुरु राखेर साधना गर्दा सफल भइने बताउनुभयो ।

उहाँले यसअघि ‘बैङ्क र बजार’ नामक महेश योगीको पुस्तक पनि नेपालीमा अनुवाद गर्नुभएको थियो । यो पस्तक योगीले बेलायतको लण्डनमा गर्नुभएको प्रवचनमा आधारित थियो ।

फाउन्डेशनले नेपालमा वैदिक जागरणका लागि ‘महर्षि सन्देश’, ‘शङ्कराचार्य उपदेशामृत’, ‘अमृत कण’, ‘शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीको जीवनी’, ‘भावातीत ध्यान प्रश्नोत्तर’, र ‘भगवत् गीता अध्याय १–६’ पुस्तकलाई नेपालीमा अनुवाद गराई छपाएको छ । सबै पुस्तक महर्षि महेश योगीले दिनुभएको प्रवचनमा आधारित भएर तयार पारिएको थियो ।

दुई वर्ष अघिदेखि योगीका पुस्तक नेपाली अनुवाद गर्न थालिएको हो । फाउन्डेशनले हाल देशभरका ९० गुरुकुल, एक दर्जन विद्यालय र राजधानीका तीन केन्द्रबाट भावातीत ध्यान सिकाउने व्यवस्था मिलाएको छ । – रासस

तपाईको प्रतिक्रिया