बागलुङ – लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ डिजिटल बजारमा आएको छ ।
खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरिएको छ ।
गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिनुभएको छ । दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा कलाकार सारिका केसी, विमल केसीलगायतको अभिनय देख्न सकिन्छ ।
युवायुवतीबीचको वियोगान्त प्रेमलाई गीत र भिडियोमा मार्मिकरूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर दिइसक्नुभएको छ ।
नेपाली जनजीवनका भोगाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक÷सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रुचाइएको थियो ।
खत्रीले हालै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘महिला हिंसा’ नामक गीतसमेत सार्वजनिक गर्नुभएको थियो । उक्त गीतले हालसम्म युट्युबमा ४३ हजार ‘भ्युअर्स’ बटुलेको बताइएको छ ।