काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकबाट पारित प्रस्तावमा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह रहेको र यो नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति तथा यो देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताको बलियो आधारस्तम्भ भएको उल्लेख गरिएको छ ।
नेपालका अग्रगामी परिवर्तनको मुख्य संवाहक र नेपालको संविधान निर्माणको निर्णायक एवं नेतृत्वदायी शक्ति एमाले भएकाले यस पार्टीलाई एकताबद्ध, सुदृढ र नेतृत्वदायी स्थानमा स्थापित गरेर मात्रै परिवर्तनका उपलब्धिलाई रक्षा गर्न सकिने बैठकको ठहर छ । “मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ र समाजवादका आधारहरू निर्माण गर्न सकिन्छ । तर पार्टीमा विगत केही समय यता उत्पन्न असहज अवस्थाले पार्टीका हजारौं नेता–कार्यकर्ता तथा समर्थक–शुभचिन्तकलाई चिन्तित तुल्याएको छ भने विरोधी शक्तिहरूलाई उत्साहित बनाएको छ । स्थितिको गाम्भीर्य, पार्टीको काँधमाथिका ऐतिहासिक अभिभारा, पार्टीपङ्क्तिको भावना एवं जनचाहनालाई केन्द्रबिन्दुमा राखेर पार्टी एकताको रक्षा, विकास र पार्टीको सुदृढीकरणका लागि आ–आफ्नो स्थानबाट रचनात्मक योगदान गर्न यो बैठक पार्टीका सबै नेता–कार्यकर्तालाई आह्वान गर्दछ ।”
बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दुवै पक्षका नेताको अनौचारिक वार्तामा यसबीचमा भएका विवादित राजनीतिक घटनामा मौन रहँदै आगामी एकता यात्रा तय गर्ने करीब सहमति भएको नेता माधवकुमार नेपाल पक्ष स्थायी कमिटी सदस्य भीम आचार्यले बताउनुभयो । नेता नेपाल पक्षकै मागसमेतका आधारमा महाधिवेशन आयोजक कमिटीलाई पूर्ववत् केन्द्रीय कमिटीमा रुपानतरणपछि आयोजित आजको बैठकमा उपाध्यक्ष वामेदव गौतम सहभागी भएपनि कतिपय नेता अनुपस्थित हुनुभएको थियो । एमालेले २०७५ जेठ २ सम्म कायम केन्द्रीय सदस्य, माओवादी केन्द्रमा एकतापूर्व २०७५ जेठ ३ मा थप भएका र एकता प्रक्रियामा आएमा रामबहादुर थापासहित २० नेतासहित गरी २६१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको छ । नेता नेपाल पक्षले पहिला २०७५ जेठ २ मा कायम २०६ सदस्यीय केन्द्रीय कमिटीको बैठक डाक्नुपर्नेलगायत विषयमा सहमतिपछि बैठक राख्न माग गर्दै आएको छ ।
बैठकले यो वर्षको मनसुनको शुरुमै परेको भीषण वर्षाका कारण आएको बाढी–पहिरो र डुबानले देशैभरि जनधनको ठूलो क्षति पु¥याएकामा चिन्ता जाहेर गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गरेको छ ।
बैठकले भारतमा उपचारत पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको स्वास्थ्योपचारको जिम्मा लिनुभएकामा पार्टी अध्यक्षप्रति धन्यवाद ज्ञापन गरेको छ ।
चीनको सफलतामा प्रशंसा
बैठकले पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसि चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक वधाइ ज्ञापन गर्दै सय वर्षको सङ्घर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको विश्लेषण गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रुपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा–स्वास्थ्य–कला– खेलकुद सहितका सामाजिक क्षेत्रहरू, अन्तरीक्ष विज्ञान लगायतमा हासिल गरेका प्रगतिहरू चामत्कारिक प्रकृतिका छन् । चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिका प्रशंसनीय रहेको एमालेको ठहर छ । “यो बैठक यी तमाम सफलता एवं उपलव्धिका लागि तथा सापेक्ष रुपमा समुन्नत समाजवादी मुलुक बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गरेकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाइ ज्ञापन गर्दछ । त्यसरी नै दोश्रो शताब्दी लक्ष्य हासिल गर्न र चिनियाँ राष्ट्रको पुनरोदयको चिनियाँ सपना साकार पार्न पूर्ण सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछ ।” पारित प्रस्तावमा भनिएको छ । एमालेको केन्द्रीय कमिटीको अर्को बैठक यही असार १९ गते शनिबार अपराह्न ३ बजे बस्ने छ । रासस