गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिनुभयो । नबोल्ने, नसुन्ने, कमजोर र खोकिरहेको देखेपछि प्रहरीले उहाँलाई उद्धार गरी मानवसेवा आश्रममा पु¥यायो । भौँतारिएर बिरानो ठाउँमा आइपुग्नुभएका सुखबहादुरले सुरक्षित आश्रय पाउनुभयो । सडकबाट उद्धार गर्ने बेला उहाँसँग सानो हातेझोलाबाहेक केही थिएन । झोलाभित्र परिचय खुल्ने कागजात, मोबाइल र फोटा थिए । मोबाइलमा ‘सिमकार्ड’ थिएन, न कसैको सम्पर्क नम्बर थियो ।
मतदाता परिचयपत्र र अस्पतालको कागजले उहाँको पहिचान खुल्यो । चिकित्सकले ‘पूर्ण बहिरा’ भनेर प्रमाणित गरेको कागज सुखबहादुरसँग भेटियो । उहाँ कसरी बागलुङसम्म आइपुग्नुभयो केही थाहा हुन सकेन । सुखबहादुरको अरु स्वास्थ्य अवस्था सामान्य छ, मात्र बोल्नुहुन्न, सुन्नुहुन्न ।
“आश्रम आएदेखि नै म जान्छु भनेर इशारा गर्नुहुन्थ्यो”, आश्रमकी संयोजक सुमिरा लामाले भन्नुभयो, “परिवार, आफन्तसँग पुनर्मिलन गराउनुपर्छ भनेर हामीले शुरुदेखि नै कोसिस गरिरहेका थियौँ ।” दोहोरो कुराकानी नहुने भएपछि सुखबहादुरको घरपरिवार, आफन्तबारे थाहा पाउन सहज थिएन ।
आश्रममा बस्दा सुखबहादुरलाई घर र आफन्तको सम्झनाले सताउन थाल्यो । घरको माया हातको सङ्केत र मुहारको हाउभाउमा झल्किन्थ्यो । उहाँ बेलाबेला आत्तिने र बेचैनजस्तो देखिनुहुन्थ्यो । आश्रम बसेको झण्डै दुई महिना पुग्न लाग्दा सोमबार सुखबहादुरले चैनको सास फेर्नुभयो । खुशी फर्कियो ।
उहाँ केही दिनपछि हरियाणाको फरिदाबाद शहरमा रहेका आफन्तकहाँ पुग्दै हुनुहुन्छ । सुखबहादुरले नै बल्लबल्ल लेखेर दिएको मोबाइल नम्बरले उहाँलाई आफन्तसँग पुनर्मिलन गराउने आश्रमको धोको पूरा भएको हो । “जानीनजानी लेख्नुहुन्छ, धेरैचोटी दिएको नम्बर मिलेको थिएन”, लामाले भन्नुभयो, “यसपालि चाहिँ नम्बर मिल्यो, कुराकानी भयो ।”
सुखबहादुरले लामालाई छिमेकी राजु थापाको नम्बर दिनुभएको थियो । लामाले सुखबहादुरलाई सडकबाट उद्धार गरी आश्रममा ल्याइदिएको थापालाई सुनाउनुभयो । घरबाट हराएको व्यक्ति एकाएक भेटिएको खबरले थापा परिवारमा खुशी छायो । मोबाइलमा गरिएको कुराकानीले मात्र आफन्त भेटिए भन्नेमा आश्रम विश्वस्त भएन ।
लामाले सुखबहादुरलाई थापासँग ‘भिडियो’ कुराकानी गराइदिने जुक्ति निकाल्नुभयो । लामाले थापालाई फेसबुकमा साथी बनाउन प्रस्ताव पठाउनुभयो । थापाले स्वीकार गर्नुभयो । लामाले थापालाई ‘भिडियो कल’ गर्नुभयो । लामाले सँगै रहेका सुखबहादुरलाई थापासँग ‘भिडियो कल’मा भेट गराइदिनुभयो ।
सुखबहादुरले दुई हात जोडेर नमस्ते गर्दै इशाराले बोल्नुभयो । थापा र सँगै रहेकी उहाँकी श्रीमती सारिका सुखबहादुरलाई देखेर भावुक हुनुभयो । सुखबहादुर र सारिका ‘भिडियो कल’मै रुनुभयो । थापाले छिट्टै लिन आउँछु भनेपछि सुखबहादुर खुशी हुनुभयो । आश्रमका सदस्य पनि रमाए ।
अविवाहित ५० वर्षीय सुखबहादुरको परिवारमा कोही छैनन् । बुबाआमा गुमाइसक्नुभएका उहाँको सरकारी कागजातमा सुखबहादुर नाम छ, थर छैन । परिवारका सदस्य कोही नभएपछि उहाँ छिमेकी थापा परिवारसँग बस्दै आउनुभएको थियो । “उहाँ मेरो बुबाको साथीको छोरा हो, आमाबुबा बितेपछि हामीसँगै बस्दै आउनुभएको छ”, थापाले भन्नुभयो ।
गएको अङ्ग्रेजी महिना ‘डिसेम्बर’ ३ मा सुखबहादुर घरदेखि बेपत्ता भएको उहाँको भनाइ थियो । “कसरी बागलुङ पुग्नुभयो हामी पनि अचम्मित छौँ, मानवसेवा आश्रमले ठूलो गुन लगाएको छ, हामीले कहिल्यै बिर्सने छैनौँ”, थापाले भन्नुभयो । उहाँले समय मिलाएर केही दिनभित्रै सुखबहादुरलाई लिन बागलुङ आउने बताउनुभयो ।
बढी मदिरा सेवन गर्ने बानीका कारण बाटो बिराएर बागलुङ आएको हुनसक्ने थापाको भनाइ थियो । यसअघि पनि स्याङ्जामा रहेका थापाका आफन्तलाई भेट्न सुखबहादुर नेपाल आउने गर्नुहुन्थ्यो । थापा र सुखबहादुरका बुबा रोजगारीका क्रममा अर्घाखाँचीबाट भारतको हरियाणा पुग्नुभएको थियो । पछि परिवारको स्थायी बसोबास भारतमै भयो । थापा र सुखबहादुर उतै जन्मनुभयो । भारतको नागरिक हुनुभयो ।
“नागरिकता भारतको भए पनि हामीलाई नेपालको माया छ, दिदीबहिनी, आफन्त त्यतै हुनुहुन्छ, बेलाबेला घुम्न र भेटघाटका लागि नेपाल जान्छौँ”, थापाले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय बागलुङले बेलैमा सुखबहादुरको उद्धार गरेका कारण आफन्तसँगको पुनर्मिलन सम्भव भएको आश्रमकी संयोजक लामाले बताउनुभयो ।
उहाँका अनुसार विभिन्न जिल्लाका आश्रममार्फत सडकमा अलपत्र १८ भारतीय नागरिकलई उनीहरुको परिवारसँग पुनर्मिलन गराइएको छ । आश्रमको प्राथमिकता पारिवारिक पुनर्मिलन गराउने हो । बागलुङको आश्रममा ३९ असहायले आश्रय पाइरहेका छन् । कोही मानसिक सन्तुलन गुमाएका, कोही परिवार र आफन्त गुमाएका छन् ।
मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले साहाराविहीन बनेका पनि आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले चार वर्षअघि बागलुङमा आश्रम खोलिएको थियो । आश्रमले बागलुङलाई ‘सडक मानवरहित जिल्ला’ बनाउने अभियान थालेको छ । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा उपलब्ध गराइएको छ । आश्रम सञ्चालनको लागि देश विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गर्दै आएका छन् ।