काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् ।
नेकपा (एमाले) का उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरेका हुन् । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए ।
‘०८४ को चुनावसम्म सरकार रहन्छ, माघ–फागुनमै ढल्छ भन्ने भ्रम नराखे हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दावी गरेका छन् ।काठमाडौंको दरबारमार्गमा भएको एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको दाबी गरे ।
ओलीले सरकार माघ–फागुनतिरै ढल्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । ‘सरकार बन्दैन भन्थे बन्यो । विश्वासको मत पाउँदैन भन्थे पायो । दसैँ देख्दैन भन्थे दसैँ देखेन मात्रै मनायो पनि । अब अहिले माघ–फागुन भन्दै छन्,’ ओलीले भने, ‘कसैले भ्रम नराखे हुन्छ । यो सरकार ८४ को चुनावसम्म कायम रहन्छ ।’