गोरख – पाँच जनाको शव गोरखा अस्पतालको शवगृहमा पोस्टमार्टम हुँदै थियो। मृतकका छरछिमेक शवगृहबाहिर भरिभराउ थिए। सबैको चेहरा जमिनमुखी थियो। केही प्रौढ महिलाहरू मृतकको घर गोरखा नगरपालिका— ७ पौवाखेतमा भेला भएका थिए। उनीहरू मृतक ३९ वर्षका शंकर रोकाकी श्रीमती बबिता रोकाको वरिपरि बसिरहेका थिए। कोही कसैसँग बोल्ने अवस्थामा थिएनन्। हेर्दा १५, १६ जना महिलाहरू त्यहाँ देखिन्थे, तर कोही कसैसँग नबोल्दा सन्नाटा छाएको थियो। कसैको नजर कसैसँग जुधिरहेको थिएन। मौनतामा कोही जमिनतिर, कोही आकाशतिर, कोही बेपर्बाह यताउति नजर डुलाइरहेका देखिन्थे।
ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु र एकजना बेपत्ता भएपछि पौवाखेत असीम पीडाको दहमा डुबेको छ।
मृतक शंकरकी आमा ७० वर्षकी जूनकीरी रोका, उनकी छोरी गोरखा नगरपालिका—४ की हरिमाया रोका (उपरकोटी), नाति ८ वर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका— ७ बतासेका अर्जुन सिर्मलको घटनास्थलमै मृत्यु भयो।
बुवा शंकरलाई दागबत्ती दिएर फर्केका छोरा १८ वर्षका विवश रोका त्रिशूलीमा बेपत्ता भएको आफन्त विष्णु मग्रातीले जानकारी दिए।
शंकरका बुवा दिलबहादुर रोकाको यसअघि नै मृत्यु भइसकेकाले अब सो परिवारमा बबिता मात्र बाँकी रहेकी उनले बताए।
त्रिशूलीमा खसेपछि चालकले फोनमा भने, ‘दाइ, डुब्न लागें, बचाउनुस्’ शंकरलाई व्यथाले सिकिस्त पार्दै गएको खबर पाएपछि मृतकका आमा, दिदीबहिनीहरू अघिल्लो दिन बिहीबारै काठमाडौं पुगेका थिए। छोरा विवश र श्रीमती पहिल्यैदेखि उनको सेवा सुश्रुषमा थिए। शुक्रबार साँझ उनको मृत्युको खबर पाएपछि छरछिमेकहरू पनि दाहसंस्कारका लागि माइक्रो रिजर्भ गरी राति १२ बजे काठमाडौं पुगे। दाहसंस्कार सकी बिहान ३ बजे दुईवटा ट्याक्सी र एउटा माइक्रोमा काठमाडौंबाट गोरखाका लागि हिँडे।
एकाघरका ६ जना सवार एउटा ट्याक्सी अर्जुन सिर्मलले चलाएका थिए, अर्को प्रकाश रोकाले। अर्जुन मृतक शंकरका ज्वाइँ हुन्। प्रकाशचाहिँ अर्जुनका जेठान हुन्। ‘मेरो ट्याक्सीमा ज्वाइँ (अर्जुन)को बूढी, भाञ्जी, भाइको छोरी र क्यान्सर लागेर बित्ने दाइको बूढी हुनुहुन्थ्यो,’ प्रकाशले भने, ‘ज्वाइँ (अर्जुन)ले चलाउनुभएको ट्याक्सीमा क्यान्सरबाट बित्नुभएका दाइको आमा, छोरा, जेठीदिदी, भाञ्जा, माइला ज्वाइँ र कान्छी बहिनी चढ्नु भएको थियो।’ बिहान ४ बजे सबै चरौंदी आइपुगेर सँगै चिया नास्ता गरेको उनले बताए।
‘त्यहाँबाट म उछिनेर अगाडि लागेँ। बाटोमा अर्जुन ज्वाइँले फोन गरेर बाबुलाई खुवाउन स्याउ किन्नुप¥यो, मुग्लिनमा एकछिन गाडी रोक्नु है भन्नुभयो,’ प्रकाशले भने। प्रकाश मुग्लिन आएर पर्खिरहे। छरछिमेक, आफन्तहरू चढेको माइक्रो आयो र उछिनेर गयो। तर अर्जुनले चलाएको ट्याक्सी अझै आइपुगेन। ‘सँगै आएको माइक्रोले उछिनेको १०–१५ मिनेट भइसक्दा पनि नआएपछि मैले ज्वाइँलाई दुई पटकसम्म फोन गरे तर उठेन’, प्रकाशले भने, ‘पछि उतैबाट फोन आयो। फोन उठाउँदा एक्कासि दाइ म डुब्न लागे मलाई बचाउनुहोस् भन्दै अत्तालिँदै बोल्नुभयो।’ बिहान ५ बजेर ६ मिनेट जाँदा फोन आएको उनले बताए।
लोकेसन भन्नुस् भन्दै प्रकाशले बारम्बार सोधिरहे। तर उताबाट ‘म डुब्न लागे बचाउनुस्’ भन्ने उही वाक्य मात्र दोहोरिरह्यो। आवाज सानो हुँदै गयो। त्यसपछि प्रकाश ट्याक्सी लिएर मझिमटार फर्किए।
त्यसपछि उनले माइक्रोमा रहेका आफन्तलाई फोन गरे, त्यतिबेला माइक्रो गोरखा नगरपालिका १३ मझुवा कटिसकेको थियो। ‘माइक्रोले उहाँहरूलाई मझिमटारमा ओभरटेक गरेको भन्ने थाहा पाएँ। त्यसैले त्यहाँबाट यता बाटोमा केही भयो भन्ने लागेर सीधै मझिमटार गयौं’ प्रकाशले भने, ‘माइक्रो पनि फर्कियो। मझिमटारबाट खोज्दै कुरिनटारसम्म आयौं, तर कहीँ कतै भेटिएन।’ नभेटिएपछि प्रहरीलाई खबर गरे। उनीहरू कुरिनटारमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गरे। प्रहरीको खोजतलासबाट बिहान ७ बजे ट्याक्सी दुर्घटना भएको पत्ता लागेको थियो। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
दुर्घटनामा परेर मृत्यु भएका पाँचै जनाको शव शनिबार गोरखा अस्पताल ल्याएर पोस्टमार्टम गरिएको छ। एकजनाको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रमेश श्रेष्ठले जानकारी दिए।