रामपुर (पाल्पा) – पर्यटकीय क्षेत्रको विकास गर्न पदयात्रा कार्यक्रम सुरु गरिएको छ । पाल्पाको तानसेनमा ओझेलमा परेका तर पर्यटन क्षेत्रको सम्भावना बोकेका क्षेत्रको खोजी गर्दै पदयात्रा अभियान कार्यक्रम थालनी भएको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले साउन महिनाको प्रत्येक शनिबार पर्यटकीय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम सुरु गरेको हो । पहिलो दिन तानसेनबाट चण्डी भञ्ज्याङ हुँदै बौघापोखराथोकसम्म पदयात्रा गरिएको छ । साउन महिनाको पहिलो शनिवारबाट पदयात्रा अभियान थालनी गरिएको नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “प्रचुर सम्भावना बोकेका धेरै ठाउँ छन्, विकास अभाव, प्रचारप्रसार नहुँदा ओझेलमा परिरहेका छन्, ती क्षेत्रको विकास गरी मुख्य पर्यटकीय गन्तव्यस्थल बनाउन पदयात्रा अभियान कार्य सुरु गरिएको छ ।” उहाँका अनुसार यो अभियान साउन महिनाको प्रत्येक शनिबार गरिनेछ । तानसेनमा रहेको भगवती मन्दिरमा पदयात्राको शुभारम्भ गरी अभियान अगाडि बढाइएको छ ।
पदयात्रा अभियानले पाल्पामा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्र तथा ओझेलमा परेका, पर्यटनको प्रचुर सम्भावना बोकेका क्षेत्र पहिचान गर्न सघाउ पुग्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउनुहुन्छ । “पर्यटकीय क्षेत्रको सोधखोज नहँुदा सम्भावना बोकेका धेरै स्थान ओझेलमा परेका छन्, पौराणिक ऐतिहासिक, धार्मिक क्षेत्रसँग जोडिएका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास र विस्तारमा तानसेन नगर सरकारले सहयोग गर्नेछ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।
पदयात्राको पहिलो दिन पाल्पाका तत्कालीन तैनाथवाला प्रताप शमसेरले तानसेन बजारको खानेपानीको लागि बनाउन लगाएको चण्डीभञ्ज्याङमा रहेको एक सय वर्ष अघि बनेको सुरुङको अवलोकन गरिएको छ । त्यहाँबाट बौघापोखराको थाम्केडाँडामा पदयात्रा टोली पुगेको थियो । थाम्केडाँडाबाट मनोरम हिमशृङ्खलाका साथै, कालीगण्डकी नदी र नदी आसपाससँग जोडिएका सुन्दर बस्ती अवलोकन गरिएको छ । सोही ठाउँमा रमणिय दृश्य अवलोकन गर्न ट्रि हाउस, एडभेन्चर स्विङ पनि रहेको छ ।
नाट्टा लुम्बिनी अध्यक्ष रचना पन्त, वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, बोर्ड सदस्य प्रदीपकुमार पोखरेलसहित नाट्टा पाल्पा च्याप्टरका पदाधिकारी तथा सदस्य र पर्यटन क्षेत्रसँग आबद्ध व्यक्ति, जनप्रतिनिधि, सरोकारवालाको सहभागीतामा पदयात्रा सुरु गरिएको हो ।
पाल्पा अवलोकन गर्न आउने पर्यटक तानसेन, श्रीमनगरडाँडा, भैरवस्थान मन्दिर, रानीमहल, रिडी क्षेत्र धेरै पुग्ने गर्दछन् । पौराणिक महत्व बोकेका, पर्यटनमा सम्भावना बोकेका क्षेत्रलाई पर्यटन विकाससँग जोडेर काम गरियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । यहाँ धेरै पर्यटकीय गन्तव्यस्थल बन्ने ठाउँ छन् । खोजी नहँुदा सधैँ पछाडि परिरहेका छन् । पदयात्रा अभियानले ओझेलमा परेका क्षेत्र बाहिर आउने र पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ ।