काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।
कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयबाहेक अन्य सामग्रीहरू सार्वजनिक गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।
महाधिवेशन प्रतिनिधिले सर्वसम्मत चयन गर्न नसकेको अवस्था आयोगको तर्फबाट निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा भएको सुब्बाले बताए । आयोगले बिहीबारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्दै छ ।
एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह १० मंसिरमा चितवनको नारायणी नदीको किनारमा हुँदै छ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा ११ र १२ मंसिरमा हुँदै छ ।
निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार ११ मंसिरमा उम्मेदवारी दर्ता र सोही दिन फिर्ता लिने कार्यक्रम रहेको छ ११ मंसिर बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने १२ मंसिरमा मतदान सुरु हुनेछ ।
१ सयवटा भोटिङ मेसिनको व्यवस्था
आयोगले १ सय वटा विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन)बाट मतदान गराउने तयारी पूरा गरेको छ । आयोगले ९२ वटा मेसिनहरू निर्वाचनका लागि प्रयोग गर्ने जनाएको छ । तीनवटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिनेछ । ती मेसिनहरू मतदान कसरी गर्ने भन्ने’boutमा प्रतिनिधिलाई सिकाउनका लागि राखिनेछ । पाँचवटा मेसिनहरू जगेडामा राखिनेछ । मतदानका क्रममा कुनै मेसिनमा गडबडी आएमा जगेडाका मेसिनहरू प्रयोग गरिने सुब्बाले बताए ।
एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेसिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको करिब २ घण्टाभित्र नतिजासमेत सार्वजनिक गर्ने तयारी आयोगको छ । प्रत्येक मेसिनबाट अलगअलग मतगणना गर्ने भएको हुँदा त्यति समय लाग्ने आयोगको जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।
५० क्षेत्रमा निर्वाचन हुने
एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन हुन्छ । १५ जना पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् ।
प्रतिनिधिलाई उम्मेदवारको जानकारी
निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्न सहज बनाउन ११ मंसिरमा राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउनेछ । १२ मंसिरमा बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशितप्रति प्रतिनिधिको हातहातमा पु¥याइसकिने आयोगको योजना छ । मतदान गर्न सजिलोका लागि प्रतिनिधिलाई प्रकाशितप्रति साथै लान छुट दिइएको छ ।
मतदान गर्ने तरिका
निर्वाचन आयोगले प्रतिनिधिलाई मतदान गर्न सहज बनाएको छ । विद्युतीय मतदान मेसिनमा उम्मेदवारको विवरण हुन्छ । रोजेको विवरणको रातो स्वस्तिक चिह्नमा औंलाले थिच्नेबित्तिकै मतदान हुन्छ । भुलवश गलत ठाउँमा थिचिएको भए पुनः त्यहीँ स्वस्तिकमा थिचेर सच्याउन सकिन्छ ।
निर्वाचनका क्रममा तोकिएको संख्याभन्दा बढी मतदान गर्न मिल्दैन । कम संख्यामा भने मतदान गर्न पाइन्छ ।
बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन
एमाले स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गरेको छ ।
११ सदस्यीय अध्यक्ष मण्डलमा केपी शर्मा ओली, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र केन्द्रीय सदस्य लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।
त्यस्तै, बैठकले सात सदस्यीय माइन्युट कमिटी गठन गरेको छ । सो कमिटीमा सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरू सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् । बैठकले मनोनीत गरिने ५ प्रतिशत प्रतिनिधिको पनि टुंगो लगाएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।