धनगढी – कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको थियो ।
करीब एक हप्तादेखि भजनी अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान ३ बजेतिर मृत्यु भएको थियो । मृत्युपछि उनको शव व्यवस्थापन गर्न कोही अघि सरेनन् । नगरपालिकाको टिप्परले शव भजनी नगरपालिका­३ मा रहेका कान्द्रा नदी किनारमा छाडेर गयो त्यसपछि मृतकका श्रीमान् आफैँले शव व्यवस्थापन गर्नु भएको थियो । कसैले खाल्डो खन्ने उपकरण समेत नदिएपछि उहाँले घरबाटै लिएर जानु परेको थियो ।
भजनी नगरपालिकामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि स्वास्थ्य मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी हुने गरी भरपाइ बनाएर अस्थायी कोभिड अस्पतालले आफन्तलाई जिम्मा दिने गरेको छ । त्यसपछि नगरपालिकाले टिप्पर र जेसिबी प्रयोग गरेर शवको व्यवस्थापन गरिरहेको छ ।
शव व्यवस्थापनका लागि खाल्डो खन्न नगरपालिकाले जेसिबी पठाउने गरेता पनि यस पटक जेसिबीको टायर बिग्रेकाले पठाउन नसकिएको नगरप्रमुख शेरबहादुर चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया