काठमाडौं – जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।
यो स्थिति भोग्ने यी पुरुष एक्लो व्यक्ति होइनन् । जटिल अवस्थाका सयौं बिरामीले समयमै आइसियु र अक्सिजन पाउन नसकेको अस्पतालहरूले जनाएका छन् । वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धुव्र गैरेका अनुसार उनकै नातेदार एक व्यक्तिका लागि आइसियु भेटिएन । बिरामीलाई गुल्मीबाट काठमाडौं ल्याउन खोजेकोमा आइसियु बेड नभेटेपछि बुटवलमै राख्नुपर्यो ।
आफूलाई दैनिक १५ देखि २० वटा फोन आइसियु खोजिदिन आग्रह गर्दै आउने गरेको उनले बताए । आफू वीर अस्पतालको वरिष्ठ चिकित्सक भएर पनि कसैलाई आइसियु खोजिदिन नसकेको उनले बताए । आइसियुको खोजीमा अस्पताल चहार्दाचहार्दै कतिपय बिरामीको मृत्यु भइरहेको छ । उनी भन्छन्, ‘कतिको एम्बुलेन्समै मृत्यु हुन्छ, कतिको वीरको आकस्मिक कक्षमा पुग्नेबित्तिकै मृत्यु हुन्छ ।’
आकस्मिक कक्षमा पुगेर आइसियु कुर्ने क्रममा कतिको त्यहीं नै मृत्यु हुने गरेको डा. गैरेले बताए । उनका अनुसार बेड र आइसियुको खोजीमा अस्पतालका कोभिड उपचार संयोजक डा. अच्युत कार्कीलाई दैनिक ५ सयभन्दा बढी फोन आएपछि उनले फोन बोक्नै छाडेका छन् । चार दिनदेखि अस्पतालमा यस्तो अवस्था रहेको उनले बताए ।
निजी अस्पतालमा समेत बेड र आइसियु सबै भरिएपछि शुक्रबार रातभरिमा १७ वटा बेड थप्न लागेको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । उक्त अस्पतालमा एक दर्जनभन्दा बढी बिरामी आकस्मिक कक्षमा बेडको पर्खाइमा छन् । राजधानीको निजी कोभिड अस्पताल ह्याम्सले पनि आइसियुको अभावमा बिरामीले पर्खेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य आपत्कालीन केन्द्र प्रमुख डा. समिरकुमार अधिकारीले उपत्यकाका कोभिड अस्पतालमा आइसियु र जनरल दुवै बेड खालि हुनै कठिन रहेको बताए । उनले भने, ‘अब उपत्यकामा मै मर्न लागे पनि आइसियु पाउने स्थिति छैन ।’
सरकारले उपत्यकालाई लक्षित गरी हजारभन्दा बढी बेड र आइसियु थप गरे पनि बिरामीले भरिभराउ भएपछि गम्भीर स्थिति आएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले छिमेकी राष्ट्र र नेपालका सीमा सहरमा दोस्रो लहरको कोरोना फैलिएसँगै उच्च सतर्कता अपनाउन भने पनि सबै पक्षबाट बेवास्ता भएपछि अहिलेको स्थिति आएको उनको भनाइ छ । ‘हामीले सबै बन्द गर्नु पर्छ, भीडभाड हुने कार्यक्रम बन्द गरौं भन्यौं, कसैले टेरेनन्’, उनले भने । यसबीचमा बिहे, भोज, जात्रा र जमघटका कार्यक्रम नरोकिएकाले उपत्यकामा तीव्र संक्रमण फैलिएको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाभित्रका ठूला अस्पतालमा ननकोभिड बिरामी हटाएर कोभिडका बिरामी राख्ने तयारी भइरहेको बताए । ‘अहिले ठूला अस्पतालहरूमा एकतिहाइ कोरोनाका बिरामी राख्न निर्देशन दिइसकेको र सोही अनुसार तयारी भइरहेको छ’, उनले भने । निजी अस्पतालको हकमा ५० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउन निर्देशन दिइसकेको जानकारी उनले दिए । अस्पताल पुगेपछि आवश्यकताअनुसार आइसियु पाउने अवस्था रहेको तर घरैबाट आइसियु खोज्नेको हकमा भने व्यवस्थापन हुन नसकेको उनले बताए । ‘कोरोनाका बिरामीलाई मुख्य चाहिने भनेको अक्सिजन हो, त्यो अन्य बेडमा राखेर पनि दिन सकिन्छ’, उनले भने ।
एक महिनामा ५ सय ४३ जनाको मृत्यु
नेपालमा दोस्रो लहरको कोरोना संक्रमणका कारण एक महिनाको अवधिमा ५ सय ४३ जनाको मृत्यु भएको छ । गत चैत २४ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ रहेकोमा वैशाख २४ मा आइपुग्दा ५ सय ४३ जना थप भई मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार वैशाखको पहिलो सातादेखि संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेखनीय रुपमा बढेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।
गत २४ घण्टामा थप ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस अवधिमा कोरोना संक्रमण दर ४२.९ प्रतिशत छ । २४ घण्टामा परीक्षण भएका २० हजार ४ सय ८२ नमुनामध्ये ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।मात्र भर्ना पाउने गरेको जनाएको छ । अस्पतालका निर्देशक डा. ज्योतीन्द्र शर्माले भने, ‘कुनै बिरामी आए पनि भर्ना गर्न सक्ने अवस्था छैन ।’