बनेपा – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ ।
धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने स्पष्ट पार्नुभयो ।
मन्त्री ज्ञवालीले सङ्घीय संसद्को डेढ वर्ष बाँकी रहँदै ताजा जनादेशमा जानुपर्ने बाध्यता आएको कारण प्रनितिधिसभा विघटन गरेर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै यसअघिको निर्वाचनमा मुलुकमा स्थिरता र समृद्धि दिन्छौँ भनेर प्रतिबद्धता जनाएअनुसार कामलाई निरन्तर अगाडि बढाइरहेको अवस्थामा केही नेताको ध्यान निरन्तर कुर्सीतिर गएको उल्लेख गर्नुभयो । प्राप्त जनादेशलाई भागबण्डा गरेर प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियरजस्तो बनाउने र आलोपालोमा सीमित गर्न खोजेर अस्थिरतातिर धकेल्न खोजेको कारण पनि ताजा जनादेशमा जानुपरेको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री ज्ञवालीले योभन्दा अगाडि कुनै पनि सरकारले गर्न नसकेका नेपालको कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको भूभागलाई समेटेर सिङ्गो देशलाई एकताबद्ध गरी नेपालको नक्सा बनाएर आफू भारत जाँदा सो ऐजण्डालाई पहिलोचोटी वार्ताको टेबुलमा राखेर यो समस्याको छिटो समाधान गर्न जरुरी छ भन्ने कुरामा सहमत बनाउन सफल भएको दाबी गर्नुभयो । उहाँले राष्ट्रियता, सुशासन, विकास, सामाजिक न्यायको पक्षमा देशले अगाडि फड्को मार्दै गएको बेला केही नेताको ध्यान देशको विकासतिरभन्दा पनि कुर्सीतिर गएको उल्लेख गर्नुभयो ।
मन्त्री ज्ञवालीले सडकमा गएका नेतालाई सडकलाई प्रयोगको थलो नबनाउन आग्रह गर्नुभयो । “अतृत्प आकांक्षाको निम्ति जनतालाई प्रयोगको थलो बनाउनु हुँदैन”, उहाँले भन्नुभयो, “जनतामाथि विश्वास भए निर्वाचनमा जान बाटो खुला भएको छ । जनताले जनादेश दिने, सरकारले काम गर्ने र राम्रो काम गरेन भने जनताले नै दण्डित गर्ने भएकाले त्यस प्रकारको राजनीतिक पद्धतिले मात्रै लोकतन्त्रलाई सुदृढ गर्न सक्छ ।”
मन्त्री ज्ञवालीले जनतालाई सुशासनको अनुभूति स्थानीय तहबाट नै गराउने उद्देश्यले काम भइरहेको बताउँदै भौतिक पूर्वाधारको आफ्नै महत्व भए पनि विकासको महत्वपूर्ण पाटो भनेको मानवीय पक्षको विकास भएको उल्लेख गर्नुभयो । “जिल्लामा कति महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवीलगायत सबै नागरिक बस्नलायक छ भन्ने कुरामा विकासले कतिको सम्बोधन गरेको छ भन्ने हेर्न जरुरी छ”, उहाँले भन्नुभयो, “ती सबैलाई समेटेर गरेको विकास सबैभन्दा महत्वपूर्ण हुनेछ ।”
धुलिखेल नगरपालिकाले भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा समेत सन्तुलित राख्न सकेको उहाँको भनाइ छ ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीलाई काम गर्न नदिएको कारण पाँच वर्षका लागि निर्वाचित भएको प्रतिनिधिसभा भङ्ग गर्नुपरेको उल्लेख गर्दै प्रतिगमनको ढोङ फुक्नु नक्कली कुरा भएको बताउनुभयो । उहाँले राम्रो काम गरेबापत दण्डित हुनुपर्ने हो भने लोकतन्त्रको कुनै अर्थ नहुने बताउनुभयो । सही कुरा स्थापित गर्न सकेन भने खराबले राज गर्ने भएकाले सच्चा लोकतन्त्रको लागि निर्वाचन अपरिहार्य भएको उहाँको भनाइ छ ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले नयाँ नगरपालिकाको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाको स्थापना दिवस मनाउने, धुलिखेल नगरपालिकालाई नेपालको छैटो र काभ्रे जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, नगरपालिकाभित्र खानेपानीसम्बन्धीको दस्तावेज विमोचन, गरेको विकास निर्माणको योजनाको पुस्तक विमोचन र रोटरी क्लब अफ धुलिखेलले पार्कको हरियाली बनाउने काममा सम्झौता गरेको बताउनुभयो । उहाँले धुलिखेल नगरपालिकालाई पाँच वर्षभित्रमा आधारभूत आवश्यक्ता पूरा भएको नगरको रुपमा घोषणा गर्ने दाबी गर्नुभयो ।
धुलिखेल नगरपालिकालाई छिट्टै स्वस्थ शहर घोषणा गर्ने तयारी भइरहेको बताउँदै उहाँले नगरलाई साक्षर नगर र खुल्ला दिसामुक्त नगर घोषणा गरिसकेको जानकारी दिनुभयो । उहाँले धुलिखेल नगरलाई दक्षिण एशियामा नै सबैभन्दा बढी पार्क भएको शहरको रुपमा स्थापित गराउने योजनामा आफू रहेको बताउनुभयो ।
धुलिखेल बालमैत्री नगर घोषणा
धुलिखेल नगरपालिकालाई जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आज नगरको ३५औँ स्थापना दिवसको अवसरमा बालमैत्री वडा घोषणा गर्न बाँकी रहेका १, २, ८, ९, ११ र १२ लाई बालमैत्री वडा घोषणा गर्दै सिङ्गो नगरपालिका नै बालमैत्री नगर भएको घोषणा गर्नुभएको हो । यसअघि नै नगरको वडा नं ३, ४, ५, ६, ७ र १० बालमैत्री वडा घोषणा गरिसकेको छ ।
धुलिखेल जिल्लाको पहिलो, वाग्मती प्रदेशको दोस्रो र नेपालकै छैटौँ बालमैत्री नगर घोषणा भएको छ । छ हजार ९७३ घरधुरी र ३३ हजार ६८१ जनसङ्ख्या रहेको धुलिखेल नगरपालिका पर्यटकीय, ऐतिहासिक र धार्मिक नगरलाई बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, बालमैत्री कार्यान्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि २०७० निर्दिष्ट गरेको ३९ वटा सूचक र मापदण्ड पूरा गरेको हुँदा धुलिखेल नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको सो अवसरमा जानकारी गराइयो ।
यसैबीच नगरपालिकाको ३५औँ स्थापना दिवसको अवसर पारेर नगरको समग्र विकासका लागि पार्क निर्माण, हरियाली प्रवद्र्धन, डायलासिस केन्द्रको स्थापना, ह्विलचियर वितरणलगायतका काममा रोटरी क्लब अफ धुलिखेल र धुलिखेल नगरपालिकाबीच सम्झौता भएको छ । करिब रु छ करोड लागतको सो कार्य गरिने बताइएको छ ।
यसैगरी युनिसेफ नेपाल र नेपाल स्काउटको सहयोगमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले धुलिखेल नगरापालिकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई पाँच हजार थान वासएवल मास्क वितरण गरिएको छ ।
कार्यक्रममा नगरपालिकाले विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने ११ जनालाई विभिन्न मानपदवीद्वारा सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपाल सरकारका सचिव गोपीनाथ मैनाली, डा राजेन्द्र कोजु, बद्रीबहादुर राई, भुवन चौलागाई, तारानाथ लुइँटेल, बेदप्रसाद कोजु, सेभ द चिल्ड्रेन, सरोज प्याकुरेल, ज्योत्सन सैंजु, सरदचन्द्र थापा र विदुर गौतम रहनुभएको छ । रासस