तनहुँ – बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा घोक हाल्ने (कटुवाल) पराम्परा अझै पनि कायमै छ । लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आउनुभएको छ ।
सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिनुभयो । बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउन नसकिएको उहाँ बताउनुहुन्छ । गाउँ समाजमा हुने बैठक, पूजाआजा, झैझगडा, वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर जानकारी दिँदै आएका छन् ।
वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैँमा एक माना चामल र मासु दिने व्यवस्था रहेको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आले बताउनुभयो । मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी छन् ।
ऐतिहासिक रामकोट
रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिकस्थलका रुपमा परिचित छ । सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले पहलकदमी गरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
गत वर्ष उक्त स्थानमा होमस्टे९घरबास० सञ्चालनमा ल्याइएको छ । गाउँका ३० महिला मिलेर होमस्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हँुदै गएको छ । गत वर्ष नै होमस्टेका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट रु १० लाख विनियोजन गरेको थियो । गाउँपालिकाले होमस्टेका महिलालाई होमस्टे तालीम र पुरुषलाई कालीगढसम्बन्धी तालीमहरु प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । गाउँका मानिसलाई सीपमूलक तालीम प्रदान गरेपछि आयआर्जन गर्न सहज भएको छ भने बसाइँसराइँ गरेका व्यक्तिहरु पनि गाउँ फर्किन थालेका छन् ।
उहाँका अनुसार यस वर्ष पनि होमस्टेका रु १० लाख विनियोजन भइसकेको छ । नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
परेवाडाँडाको टिकटक पार्क सञ्चालनमा
व्यास नगरपालिका–१० परेवा डाँडामा निर्माण गरिएको टिकटक पार्क सञ्चालनमा ल्याइएको छ । पिजन हिल रेष्टुरेन्ट एन्ड लजले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने हेतुले टिकटक ९मनोरञ्जन० पार्क सञ्चालनमा ल्याइएको हो ।
पिजन हिल रेष्टुरेन्ट एन्ड लज नजीकै वडा कार्यालयले परेवाको मूर्ति स्थापना गरेको छ । परेवाको मूर्तिसँग फोटो खिचाउने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दै गएपछि पिजन हिल रेष्टुरेन्टका सञ्चालक विवेक सापकोटाले व्यक्तिगत लगानी गरी पर्यटकलाई आकर्षण गर्ने संरचनाहरु निर्माण गरेको छ ।
पर्यटकको चहलपहल बढ्दै गएपछि मादीनदी किनारमा लट्ठे पिङ, टिकटक पार्क, भ्यू टावर, गुफाभित्र कफी शपलगायत संरचनाहरु निर्माण गरिएको पिजन हिल रेष्टुरेन्ट एन्ड लज सञ्चालक विवेक सापकोटाले बताउनुभयो । व्यापारिक मात्र नभईकन मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पार्कहरु निर्माण गरिएको छ । मानिसका लागि मन भुलाउने एकान्तस्थलका रुपमा विकास गर्न लागिएको हो । उहाँका अनुसार हालसम्म रु ८० लाख लगानी भइसकेको छ । अझै स्वीमिङ पुल, फनपार्कलगायत काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । व्यक्तिगत लगानीमा सञ्चालनमा ल्याइएको पार्कले यस क्षेत्रमा आन्तरिक पर्यटकहरु बढाउने विश्वास गरिएको छ ।
दमौली बजारबाट करीब ६ किलोमिटरको दूरीमा रहेको उक्त पार्क निकै आकर्षक रहेको छ । उक्त मनोरञ्जन पार्कमा बालबालिकाका लागि, पिङ, स्लाइड, झोलुङ्गो र अन्यको लागि पिङ, टिकटक बनाउनका लागि आकर्षकस्थल निर्माण गरिएको छ ।
विभिन्न चराचुरुङ्गी, जनावर तथा देवीदेवताका मूर्तिहरु कलात्मकरुपमा निर्माण गरिएको पार्कमा बसेर स्थानीय विभिन्न परिकारको स्वाद लिँदै मादीनदीको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ । वडाध्यक्ष तुलसीराम सापकोटाले उक्त पार्कको बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
परेवाको मूर्ति निर्माण
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोही वडास्थित परेवाडाँडामा परेवाको मूर्ति निर्माण गरिएको छ । मादीनदीकोस्थित पहरोमा परेवाहरु बस्ने गरे पनि पछिल्लो शिकार गर्दा विस्थापित भएपछि त्यसको संरक्षण गर्न वडाले परेवाको मूर्ति निर्माण गरेको हो । पार्कको अगाडिको भागमा परेवाको मूर्ति निर्माण गरेपछि दैनिक आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हँुदै गएको छ ।
उक्त वडाभित्र रहेका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिकस्थलहरुको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ ।”
मूर्तिकार ल्याएर उक्त स्थानमा एक परेवा जोडी बनाउन शुरु गरिएको र जोडीको मूर्ति निर्माणमा करीब रु ६ लाखको लागतमा परेवाको मूर्ति निर्माण गरिएको हो । उक्त परेवाको सात फिट लामो र करीब तीनदेखि चार टनसम्मको तौलको रहेको छ । रासस