भोजपुर – ‘हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अङ्क ‘हराएका वर्ष’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षका पात्र प्रकाश तामाङका बारेमा प्रशस्त टीका टीप्पणी भए ।

३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौँ आउँदा हराउनुभएका उहाँ गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा हुनुहुन्थ्यो । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उहाँको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो ।

गोरखाको चुम भ्यालीदेखि भोजपुरस्थित प्रकाशको परिवारसम्म श्रव्यदृश्यमार्फत प्रस्तुत कथा सार्वजनिक भएसँगै नागरिकताका लागि भोजपुरवासीले पहल थालेका थिए । आइतबार भोजपुर षडानन्द नगरपालिका–१० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर इलाका प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको हो ।

नागरिकता प्राप्तिका लागि आवश्यक सबै प्रक्रिया पुरा गरी नागरिकता प्रदान गरेको इलाका प्रशासन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँसहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको हो ।

परिवारसँग लामो समय विछोडिनु भएका प्रकाश शनिबार काठमाडाौँबाट हवाई मार्ग भएर सङ्खुवासभाको तुम्लिङटार हुँदै भोजपुरस्थित घर आउनुभएको थियो । नागरिकता प्रदान गर्नुहुँदै नगर प्रमुख उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा प्रकाश र उहाँका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया