काठमाडौं –  काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज (मंगलबार) हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपरान्ह ३ बजे भारत र श्रीलंकाबीच हुँदैछ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपरान्ह ५ः १५ बजेदेखि शुरु हुनेछ । यसअघि समूह चरणको खेलमा भारत १० अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौंथो हुँदै सेमिफाइनल खेल्दैछ । त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो । लिगमा व्यहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल आज सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दैछ ।

सोमबार माल्दिभ्समाथि सोझो सेटमा जित निकालेपछि नेपालले सेमिफाइनलमा इरानलाई प्रतिद्वन्द्वी पाएको हो । जितसँगै नेपालले लिगमा व्यहोरेको हारको बदला समेत लिने अवसर पाएको छ ।

तपाईको प्रतिक्रिया