महेन्द्रनगर – नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७२६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले साताव्यापी कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

त्यसका साथै सेनाले ब्रह्मदेवमा रहेका लोपोन्मुख राउटे र बादी समुदायलाई खाद्यान्न, झुल र कम्बलसमेत वितरण गरेको छ । स्वास्थ्य शिविरमा प्रसूति, आँखा, दात, ल्याब सेवा, इसिजी, भिडियो एक्सरे, जनरल फिजिसियन सेवा प्रदान गरिएको सेनाले जनाएको छ । नेपाली सेनाका सहसेनानी डा दिलीप पौडेलले शिविरमा जोर्नी दुख्ने, महिलामा पाठेघर र तल्लोपेट दुख्ने, छालासम्बन्धीका साथै दम, पत्थरीलगायतका रोगका बिरामीले सेवा लिएको बताउनुभयो ।

सेनाको बाहिनी, गण तथा गुल्म, सैनिक श्रीमती सङ्घका साथै स्थानीय तह र कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, महाकाली अस्पताल, स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा एक कार्यक्रमका बीच भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले शिविरको उद्घाटन गर्नुभएको थियो ।

सोही अवसरमा सैनिक टोलीले वृत्तचित्र प्रदर्शन र नृत्य प्रस्तुत गरेको थियो । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसीले सैनिक दिवसको अवसर पारेर स्वास्थ्य सेवाको पहुँचबाट टाढा र आर्थिकरूपले कमजोर नागरिकको घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।

“निमुखा, विपन्न, निकुञ्जबाट स्थानान्तरण गरिएका पाँच स्थानमा हामीले स्वास्थ्य शिविर गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसमा स्थानीय तह र निजी क्षेत्रको पनि हातेमालो रहेको छ ।” उहाँले ब्रह्मदेव, वेदकोट नगरपालिकाको जडेपानी र मुसेपानी, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा साताव्यापी कार्यक्रममा स्वास्थ्य शिविर आयोजना गरिने बताउनुभयो ।

“त्यसका साथै महेन्द्रनगरमा मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगिता पनि सेना दिवसका अवसरमा हुने तय भएको छ”, सहायकरथी जिसीले भन्नुभयो, “नागरिक–सैनिक सम्बन्ध थप सुदृढीकरण हुने अपेक्षा पनि हो ।”

सेनाले यहाँ सैनिक दिवसका साथै अन्य समयमा पनि लामो समयदेखि स्वास्थ्य शिविर, जिल्लाको विपत् व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धन र सामाजिक कार्य गर्दै आएको छ । साताव्यापी कार्यक्रम श्री नं २५ बाहिनी, देवीदल गण मझगाउँ ब्यारेक र श्रीदल गुल्मको संयुक्त आयोजनामा सञ्चालन भइरहेको सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया