काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालले सत्तारुढ नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’
खनालले २६ औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए । च्यासलस्थित पार्टी कार्यालयमा आयोजिक एक समारोहका बीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए ।