संखुवासभा – प्रहरीले मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै घरका ६ जनाको हत्यामा संलग्न व्यक्तिको पहिचान गरी आइतबार सार्वजनिक गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी स्थानीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । उनी हत्या गरिएको परिवारका १३ दिने आफन्त हुन । लामो अनुसन्धानपछि प्रहरीले शनिबार उनलाई पक्राउ गरेको थियो । प्रहरीले टिसर्टमा लागेको रगतको दागबाट हत्याको सुराक पत्ता लगाएको थियो ।
गत सोमबार बिहान मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा स्थानीय ९० वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५५ वर्षीय तेजबहादुर, बुहारी ५४ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति आठ वर्षीय दीपेन र नातिनी पाँच वर्षीया गोमाको सामूहिक हत्या भएको थियो । उनीहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि बुधबार इटहरीको बुढीगंगामा अन्त्येष्टि गरिएको थियो ।
सोमबार बिहान करिब साढे ६ बजेको हाराहारीमा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यस दिन तेजबहादुरको मादी नगरपालिका–३ मा रहेको पिप्लेखेतमा धान गोड्ने पालो थियो । त्यसैले बिहानै उनी खोल्सापारि लोकबहादुर कार्कीका दाजुभाइलाई खेताला बोलाउन गएका थिए । उनले लोकबहादुरलाई उठाएर खेताला आउन, सधैँ अल्छी नगर्नू, राम्रो काम गर्नू भन्दै सम्झाए । त्यसपछि उनी घर फर्कंदै थिए । तर, तेजबहादुरले दिएको अर्ती–उपदेश लोकबहादुरलाई पचेन ।
तेजबहादुरको पछि–पछि आएर चिर्पट दाउराले खोल्सामा आइपुगेपछि पछाडिबाट एक्कासी आक्रमण गरे । तेजबहादुरको हत्या गरेको उनकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि दुवैलाई लेखेटेर उनीहरूलाईसमेत चिर्पट दाउराले हत्या गरी लोकबहादुरले खोल्साका पल्टाइदिए । सो घटना रञ्जनाका छोराछोरी दिपेन र गोमाले देखेकाले उनीहरूलाईसमेत लखेटेर खरबारीमा हत्या गरे । हत्या घटनाको प्रमाण मेटाउन घरमा भैँसीको कुँडो पकाउँदै गरेकी तेजबहादुरकी आमा पार्वतीलाई पछाडिबाट आक्रमण गरेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
नजिकका १३ दिने दाजुभाइ थिए लोकबहादुर र तेजबहादुर
तेजबहादुर र लोकबहादुरका बाबु रणबहादुर कार्की दाजुभाइका छोराहरू हुन् । उनीहरू १३ दिने दाजुभाइ हुन् । साइनोले लोकबहादुरको बडाबाबु हुन् तेजबहादुर । तेजबहादुर गाउँकै भलाद्मी र शालीन व्यक्ति थिए । गाउँमा मुद्दामामिला र झैँझगडा हुँदासमेत तेजबहादुर नै अग्रसर भएर मिलाउँथे । सधैँ सहजीकरण गर्थे । सबैले आदर र सद्भावसमेत गर्ने तेजबहादुरलाई ।
तेजबहादुरको तुलनामा रणबहादुरको आर्थिक अवस्था कमजोर थियो । त्यसमाथि रणबहादुर कान कम सुन्ने गर्छन् । त्यसैले रणबहादुरको बुबाले जीवनको उत्तराद्र्धमा तेजबहादुरलाई ‘छोरा र नातिहरूले प्रगति गर्न सकेनन्, तैँले हेरविचार, रेखदेख र सरसहयोग गरिदिनू’ भनेका थिए । त्यसैले तेजबहादुरले रणबहादुर र उनका छोराहरूलाई वेलावेला घरैमा गएर सम्झाउने गर्थे ।
तेजबहादुरका दुई छोराहरू रमेश र नरेश मलेसिया र दुबईमा वैदेशिक रोजगारीमा थिए । विदेशबाट राम्रै पैसा आउने भएकाले उनको परिवारलाई गाउँमा सम्पन्न मानिन्थ्यो । कान्छा छोरा झापामा जग्गाजमिन जोडेर बुहारी र दुई छोरीहरूसहित त्यतै बस्दै आएका छन् । तेजबहादुरसँग घरमा भएको पैसा, जेठा छोरा रमेश र कान्छा छोरा नरेशले संयुक्त रूपमा झापामा ८० लाखमा जग्गा बैनासमेत गरिसकेका थिए । पुस–माघतिर सपरिवार बसाइँ सर्ने र एकै ठाउँ बस्ने उनीहरूको योजना थियो । तर, त्यो सपना पूरा हुन सकेन ।
एकैछिनको आवेगमा हत्याकाण्ड भएको देखिन्छ : डिआइजी अरुणकुमार बिसी
प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले लामो अनुसन्धानपछि आरोपी लोकबहादुर कार्की नै हो भनी किटान गरी पक्राउ गरिएको बताए । ‘यो कुनै प्लानिङ मर्डरजस्तो देखिँदैन । एकैछिनको आवेगमा हत्या गरेकोजस्तो देखिन्छ,’ पत्रकार सम्मेलनमा डिआइजी बिसीले भने, ‘लोकबहादुरको मनमा निकै समयदेखि दबेर बसेको रिसको आवेगका कारण घटना भएको अनुसन्धानले देखाएको छ । आफूलाई बडाबाबुले सधैँ गालीगलौज गर्ने, हेप्ने गरेका कारणले मनभित्रैदेखिको रिस सहन नसकेर हत्या गरेको उसले बयान दिएको छ ।’
अनुसन्धानको प्रारम्भिक चरणमा हम्बर अथवा फलामका रडले प्रहार गरी हत्या गरिएको अनुमान गरे पनि दाउराको चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएको उनले बताए । चिर्पटले हानेर हत्या गरेको र त्यो दाउरा बालिसकेकोसमेत अनुसन्धानबाट प्राप्त भएको उनले जानकारी दिए । परिवारका अन्य सदस्य कोहीसँग पनि रिसइबी नभए पनि तेजबहादुरको मात्रै हत्या गर्न चाहेको, तर सो घटना परिवारका अन्य सदस्यले देखेकाले प्रमाण मेटाउन सबैको हत्या गरेको बयान दिएको डिआइजी बिसीको भनाइ छ । गाउँमा एकखालको डरत्रास अझै पनि कायम रहेकाले सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।
बुबा र भाइसँग सधैँ झगडा गरिरहन्थे लोकबहादुर
प्रहरीका अनुसार लोकबहादुर मानसिक चिन्तामा थिए । उनी सधंँ हीनताबोधमा रहन्थे । रातभर घरमा नसुत्ने डुली हिँड्ने उनको स्वभाव थियो । काम गर्न अल्छी मान्थे । उनले गाउँकै विद्यालयमा ८ कक्षासम्म मात्रै पढेका थिए । साथीभाइ, भाइ र बुबासँग सधैँ झगडा गरिरहन्थे ।
केही समयअघि औषधि सेवन गरेर ठिक भएका थिए । दुईपटक मलेसिया र एकपटक कतार गए पनि काम गर्न नसकी फर्किएकाले विदेश जाँदाको ऋण र आमाको उपचार गर्दा लागेको ऋण जग्गा बेचेर तिरेका थिए । तेजबहादुरको घरमा गएको समयमा बेहोस भएपछि लोकबहादुरकी आमालाई उपचारका लागि विराटनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । त्यसको दोषसमेत लोकबहादुरले तेजबहादुरमाथि लगाउँदै आएका थिए । उनकै कारण आफ्नी आमाको मृत्यु भएको र ऋणमा परेको गुनासो साथीभाइसँग गर्थे । उनकी आमाको ०७७ चैतमा मृत्यु भएको थियो ।
स्थानीयले घेराउ गरे प्रहरी कार्यालय
आइतबार आरोपी कार्कीलाई सार्वजनिक गर्ने क्रममा चैनपुर इलाका कार्यालय वरपर र टुँडिखेलमा गाउँलेको बाक्लो उपस्थिति थियो । उनीहरूले आरोपीलाई फाँसी दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए । मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपलाई स्थानीयले आरोपी उम्किन नपाओस् भन्दै खबरदारी गरेका थिए ।
आरोपीसम्म यसरी पुग्यो प्रहरी
सामूहिक हत्याकाण्डपछि लोकबहादुर अग्रसर भएर सबै काम गरिरहेका थिए । उनी निर्दोषझैँ सबैसामु उस्तै व्यवहार गर्दथे । घटनास्थलमा शव उठाउने र पोस्टमार्टमका लागि धरान लैजान ट्र्याक्टरमा बोकेर हाल्नेलगायतका सबै काममा उनी अग्रसर थिए । आफ्नो बडाबाबु गाउँको भद्र व्यक्ति भन्दै उनले युट्युबमा अन्तर्वार्ता दिएका थिए ।
लोकबहादुरले तेजबहादुरको हत्या गर्दा लगाएको टिसर्ट धोएर सुकाएका थिए । त्यो टिसर्ट भोलिपल्ट उनको भाइले लगाएको र टिसर्टमा केही रगतको धब्बासमेत देखेपछि प्रहरीले सोधपुछ गर्दा दाइ लोकबहादुरको भनेपछि केही आधार त्यहीँबाट प्राप्त भएको थियो । अर्कोतिर उनी त्यहाँ सबै काममा अग्रसर भए पनि बेचैनजस्तो देखिने र अलि अनौठो व्यवहार गर्ने गरेपछि सिआइबीको टोलीले सुरुदेखि नै ‘वाच’ गरेको थियो । लोकबहादुरले चिर्पटले हानेर हत्या गरेको दाउरा आगोमा जलाएर त्यसैले खाना पकाएका थिए । त्यो दिन बाबु र भाइ घाँस काट्न गएको र सोही दाउराले उनले खाना पकाएर खुवाएका थिए ।
तेजबहादुरको घरको सबैभन्दा नजिक करिब एक सय ५० मिटरजतिको दूरीमा लोकबहादुरको घर छ । घटनास्थल नगरपालिका भए पनि पूर्वाधारको हिसाबले विकट छ । मादी नगरपालिकाको केन्द्र ओखरबोटेबाट उम्लिङ पुग्न कच्ची सडक छ । त्यसैले घटनाको खबर प्राप्त हुनासाथ मादी ओखरबोटेबाट प्रहरी टोली दिउँसो करिब १ बजे घटनास्थल पुगेको थियो । चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली र मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपको टोली दिउँसो ३ बजेतिर मात्रै पुगेको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।
जिल्लाबाट डिएसपी लालध्वज सुवेदीको टोली बेलुकी ५ बजेतिर घटनास्थल पुगेको थियो । सोही दिन संघीय इकाइ प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो । त्यसपछि बुधबार मात्रै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी रुग्मबहादुर कुँवरको टोली घटनस्थल पुगेको थियो । १ नम्बर प्रदेश प्रमुख डिआइजी अरुणकुमार बिसीको टोलीसमेत घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको थियो । घटनास्थलमा विभिन्न चरणमा ४९ जना प्रहरी सुरक्षाकर्मी र अनुसन्धान गर्न खटिएको डिआइजी बिसीले पत्रकार सम्मेलनमा जानकारी दिए ।