काठमाडौं – आज मार्च २७ अर्थात् विश्व रङ्गमञ्च दिवस । सन् १९६१ देखि अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवस मनाउन थालेको हो । ‘शान्तिका लागि कला’ भन्ने मूल नारासहित मनाउन लागिएको यो दिवसले रङ्गकर्मीलाई अझै पनि खासै छुन सकेको छैन । पछिल्लो समय युवा पुस्ताको आकर्षण रङ्गमञ्चमा बढ्दै गए पनि रङ्गमञ्चलाई भविष्यको बाटो बनाएर हिँडेका रङ्गकर्मीको आर्थिक अवस्था भने अझै सुधार हुन सकेको छैन । नाटकमा अभिनय गरेर मात्रै गुजारा चलाउन सक्ने अवस्था अझै पनि बन्न सकेको छैन ।
विगतका तुलनामा नाटक हेर्ने दर्शकको रुचि बढे पनि रङ्गकर्मीको आर्थिक अवस्थामा खासै सुधार हुन नसकेको रङ्गकर्मी सुनील पोखरेल बताउनुहुन्छ । नाटकमा दर्शकलाई आकर्षित गर्न नाट्यकारले प्रस्तुतिमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । नाटकलाई ठुलो बजेटभन्दा पनि बढी मेहनत आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नाटकमा हामीले समाजलाई प्रत्यक्ष प्रभाव पार्ने गरी प्रस्तुति दिन सक्नु पर्छ । यसका लागि पढाइसँगै काममा लगाव राम्रो हुनु पर्छ,” उहाँले गुनासो पोख्दै भन्नुभयो, “रङ्गमञ्च दिवस मनाउने भनेको उत्साह र भाइचाराका लागि मात्रै भएको उहाँले बताउनुभयो । रङ्गमञ्च दिवसको दिन आर्थिक सङ्कटको कुरा गरेर के फाइदा ?”
रङ्गमञ्चमा निरन्तर रूपमा मेहनत गरे पनि यसमा नै जीविकोपार्जन गर्न अझै सहज नभएको रङ्गकर्मी प्रदीपकुमार चौधरीको भनाइ छ । अहिले नेपालमा चलिरहेका थिएटरलाई आर्थिक अवस्थाले धान्न निकै गाह्रो पारेको छ । नाटक एकै ठाउँ चल्ने र सीमित मान्छेले मात्रै हेर्ने भएका कारण कलाकारलाई दिने खर्च र थिएटरको भाडा तिर्न अप्ठ्यारो पर्ने गरेको उहाँको गुनासो छ । वर्षमा एकचोटि एउटा नाटक निर्माण गरेर हामी रङ्गमञ्चमा कसरी टिक्ने, चौधरीले भन्नुभयो ।
पछिल्लो समय रङ्गमञ्चको अवस्था राम्रो हुँदै आएको रङ्गकर्मी विजय बराल बताउनुहुन्छ । पहिले अहिलेको अवस्थामा ठुलो परिवर्तन आएको उहाँको भनाइ छ । पछिल्लो समय थिएटरको सङ्ख्यासँगै रङ्गकर्मीको समूह पनि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गमञ्चप्रतिको हेराइ, बुझाइ र मूल्याङ्कनमा ठुलो परिवर्तन आएको छ । नाटक हेर्न आउने दर्शक बढिरहेका छन् ।” नेपालमा रङ्गमञ्चको अवस्था सुदृढ हुँदै गएको रङ्गकर्मी भोलाराज सापकोटाको भनाइ छ । विगतमा रमाइलोका लागि मात्रै गरिने नाटक अहिले समाज परिवर्तनका लागि चेतना फैलाउने उद्देश्यले सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
नेपालमा काठमाडौँबाहिर रहेका थिएटरका भने खासै विकास हुन नसकेको बताइन्छ । उहाँका अनुसार काठमाडौँमा रहेका रङ्गमञ्चले एनजिओ तथा आइएनजिओबाट बजेट लिएर काम गर्छन् । काठमाडौँबाहिर रङ्गमञ्च चलाउन अझै गाह्रो अवस्था छ । त्यहाँ दर्शकलाई टिकट सस्तो दिए पनि दर्शक पाउन धौ धौ छ । आजको गोरखापत्रमा समाचार छ ।
नाटकमा मनग्गे पैसा कमाइँदैन भन्ने थाहा पाएर पनि यसमा नै जीवन खोज्दै आफू हिँडिरहेको कदम थियटर दमकका क्रियटिभ निर्देशक सिजन दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “नाटक बनाउनेले घर बनाउन सक्दैन तर घर चलाउन सक्छ । अहिले नेपालका रङ्गकर्मीको यथार्थ अवस्था यही हो ।”