काठमाडौं – सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (मंगलबार) काठमाडौं ल्याइने भएको छ ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पक्राउ परेर अनुसन्धान भइरहेको समयमा काठमाडौंको अर्को सहकारीमा पनि संलग्न रहेको पाइएपछि आज अनुसन्धानका लागि ल्याइने भएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि काठमाडौं जिल्ला अदालतबाट कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई आज काठमाडौं ल्याउन लागिएको हो । स्वर्ण लक्ष्मी सहकारीका अध्यक्ष जीबी (गीतेन्द्रबाबु) राई, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व डीआईजी छबिलाल जोशीसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि प्रारम्भिक अनुसन्धान भएको थियो । हाल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान तीब्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको समयमा नै लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिएको थियो।