दाङ – राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट दुई जनाले उम्मेदवारी दिएका छन्।
यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँ नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गर्नुभएको थियो ।
नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित हुनुभएको थियो । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उहाँ काङ्ग्रेस पार्टीमा आवद्ध हुनुहुन्थ्यो ।
दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उहाँहरुले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकारी निमराज भट्टराईले बताउनुभयो । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ छन् ।