काठमाडौं – सत्तारुढ नेकपा एमालेले आज (शुक्रबार) काठमाडौंमा जागरसभा गर्दैछ । एमालेले काठमाडौंको दरबारमार्गमा जागरसभा आयोजना गर्न लागेको हो ।
०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जनसभा गर्न लागेको हो ।
जागरणसभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभामा एक लाख मानिस उतार्ने एमालेको लक्ष्य छ । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।
बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुनेछ । एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको जानकारी दिएका छन् ।
आजै काठमाडौंको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको र माइतीघरमा सहकारी पिडितको पनि प्रदर्शन रहेकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ।
एमालेले शक्ति प्रदर्शन गर्न लागेको कार्यक्रमलाई ‘जनसभा’को संज्ञा दिएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरुक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए।