काठमाडौं – मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो ।
खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन नसक्दा तोकिएको समयमा मेलम्ची आउनेमा आशंका छ । खानेपानी मन्त्रालयका अनुसार फास्ट ट्र्याकबाट मर्मत कार्य अगाडि नबढे मेलम्ची आयोजना सुधारको काममा ढिलाइ हुनेछ ।

झन्डै २ दशकको पर्खाइपछि उपत्यकामा आएको मेलम्ची खानेपानी आयोजनामा मनसनु सुरुवात भएको साता दिन नपुग्दै गत असार १ गते बाढीले क्षति पुगेको थियो । आयोजना क्षतिग्रस्त भएसँगै मेलम्चीको पानी कहिले आउँछ भन्ने अनिश्चित बनेको छ । मन्त्रालयले तोकिएको समयमा पानी वितरण हुनेगरी आयोजना मर्मतको काम चाँडै सम्पन्न गर्न फस्ट ट्र्याकबाट अगाडि बढ्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भए पनि कुनै निर्णय भएको छैन ।

खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले आयोजना सुधारको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको बताए । “फास्ट ट्र्याकबाट आयोजना मर्मतको काम अगाडि बढाउन पर्छ, नभए कानुनी अड्चनहरु झल्नुपर्ने हुन्छ, सार्वजनिक खरिद ऐनले लगाएका बाधा अड्चनहरु फुक्ने भएकाले काम छिटो सम्पन्न गर्न फास्ट ट्र्याकमा जानुको विकल्प छैन,” उनले भने, “चैत १५ सम्ममा फेरि उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने हाम्रो योजना बनाएका छ, फास्ट ट्र्याकबाट जाँदा तोकिएकै समयमा हामी पानी वितरण गर्न सक्छौं ।”

उनका अनुसार, आयोजना मर्मतको काम पुरानै ठेकेदार कम्पनीलाई जिम्मा दिने तयारी भइरहेको छ । आवश्यक पर्ने लागतका लागि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भइसकेको प्रवक्ता ढकालले बताए । मेलम्ची आयोजनामा करिव २ अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको स्थायी बाँधमा भएको क्षति, आयोजनासम्म पुग्ने ८ किलोमिटर सडक भत्किँदा ३ वटा हेर्डवस्क नजिकमा पुल, २ प्रवेश मार्गको पुल भत्किँदा, ढुंगा गिट्टी माटो तथा बालुवाले हेर्डवक्स नै पुरिएको र त्यसलाई सफा गर्न करिव २ अर्ब रुपैयाँ लागत लाग्ने पूर्वानुमान छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले हेर्डवक्स पुरिएपनि ठूलो क्षति भने भएको छैन । बाढी कारण मेलम्ची नदीमा थुप्रिएको ढुंगा, गिट्टी, बालुवा सफा गर्न मात्रै ३५ करोड लागत लाग्ने समितिको अनुमान छ । आयोजना मर्मत गर्न अझै कति लागत लाग्ने र ठ्याक्कै समय कति लाग्ने भन्ने विषयमा बिस्तृत अध्ययानको प्रतिवेदन आउन बाँकी छ । आजको कारोबार दैनिकमा समाचार छ ।

समतिका अनुसार आयोजनासम्म जान जोडिएको करिव ८ किलोमिटर सडक मर्मत पनि समितिले नै गर्नेछ । ३० मिटर फराकिलो नदी बाढी आएपछि ६० मिटर फरकाकिलो बनेको आयोजनाले बताएको छ । भत्किएका ५ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाको दायित्व थपिएको छ । नदीको क्षेत्रफल झण्डै आधा बढेपछि पुलको लम्बाई पनि बढेसँगै लागत थपिने छ ।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि फास्ट ट्र्याकबाट आयोजना मर्मतको काम सुरु हुने छ । प्रक्रिया सम्पन्न गर्न मात्रै १ महिना लाग्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार स्थायी बाँधबाट पानी ल्याउन समय लागेपनि तत्कालका लागि अस्थायी बाँधमार्फत खानेपानी ल्याउने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया