काभ्रेपलाञ्चोक– नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना भाइरस् विरुद्धको भ्याक्सिन ९कोभिसिल्ड० कार्यक्रम थालिएको छ । उक्त अस्पतालबाट शुक्रबार कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने ८५ लाई खोप लगाइएको छ ।

यसअघि सरकारको खोप अभियानसँगै काभ्रेको अर्को धुलिखेल अस्पतालले गत बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप शुरुआत गरेको थियो । उक्त अस्पतालबाट हालसम्म एक हजार ३५८ लाई खोप लगाइएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार पहिलो चरणमा काभ्रेका तीन हजार पाँच सय ८१ कोरोना खोप दिइने भएको हो । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा।नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

उहाँले नमोबुद्ध नगरप्रमुख टीपी शर्मा तिमल्सिना र अस्पतालमा मडिकल सुपरिटेन्डेन डा।रामशरण श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभएको थियो । उक्त अस्पतालबाट चार स्थानीय तहका पाँच सयभन्दा बढीलाई खोप दिइने उहाँ बताउनुभयो । उहाँका अनुसार नमोबुद्धका दुई सय ३०, रोशी गाउँपालिकाका एक सय ५०, तेमाल गाउँपालिकाका एक सय १९ र महाभारत गाउँपालिकाका ९३ जनालाई खोप दिइनेछ । मेथिनकोट प्रादेशिक अस्पतालमा खोप कार्यक्रम आउँदो बुधबारसम्म सञ्चालन गरिनेछ । उक्त अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया थालिएको छ ।

पोष्टले अग्रभागमा काम गर्ने ७४९ सरकारी स्वास्थ्यकर्मी, एक हजार तीन सय ६८ नीजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, ९५५ महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहको सरसफाई क्षेत्रमा कार्यरत १११, नीजि क्षेत्रका स्वास्थ्य संस्थाका सरसफाईमा कार्यरत २२८ लाई पहिलो चरणको कोरोना भ्याक्सिन लगाईने जनाएको हो । यसैगरि, कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव ब्यवस्थापनमा खटेका १२६ सुरक्षाकर्मी तथा अस्पतालका सुरक्षा गार्ड र ४४ एम्बुलेन्स चालकलाई खोप लगाउने तयारी भइरहेको हो ।

खोपपछि केहीको स्वास्थ्यमा नकारात्मक देखिनसक्ने भएकाले दुई अस्पतालमा नै ‘आकस्मिक बेड’ तयारी अवस्थामा राखिएको छ । पहिलो चरणमा पनि एक व्यक्तिलाई दुई पटक अर्थात् दुई हप्ताको फरकमा अर्को खोप लगाइनेछ । भारत सरकाले माघ पहिलोसाता सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो ।

यसैबीच, काभे्रमा कोरोना भाइरस् सङ्क्रमितको सङ्ख्या शुन्यतातर्फ लागेको छ । हाल जिल्लाका १३ स्थानीय तहमध्ये आठ तह सङक्रमणमुक्त भएका छन् । हाल बनेपा नगरमा १४, धुलिखेलमा दुई, पनौतीमा सात, मण्डनदेउपुरमा एक तथा रोशी गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । जिल्लाका १४ महिलासहित ४५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आवश्यकतामा मात्रै परीक्षण हुने गरेकोले पछिल्लो हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ ।
पोष्टका अनुसार हालसम्म जिल्लामा तीन हजार ३३२ मा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित एक हजार ९७४ पुरुष र एक हजार ३५८ महिलामध्ये तीन हजार २६२ अर्थात् ९७ दशमलब ८९ प्रतिशत सङ्क्रमणमुक्त भैसकेका छन् । हाल जिल्लाका १३ महिला र १२ पुरुष सक्रिय सङ्क्रमित छन् । उनीहरु होम आइसोलेशनमा उपचाररत रहेको पोष्टले जनायो ।

तपाईको प्रतिक्रिया