जलेश्वर – साउनका प्रत्येक सोमबार श्रद्धापूर्वक मनाइने सोमबारी मेला ९बोलबम०को अवसरमा आज पनि महोत्तरीका चार पौराणिक शिव मन्दिरहरुमा भक्तजनको अपार भीड लागेको छ ।

जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ, बर्दिबास नगरपालिकामा अवस्थित बाबा टुटेश्वरनाथ, भङ्गहा नगरपालिकामा अवस्थित बाबा सिद्धेश्वरनाथ र सोनमा गाउँपालिकामा अवस्थित बाबा मङ्गलनाथको मन्दिरमा भगवान शिवको पूजाअर्चना गर्ने दर्शनार्थी श्रद्धालुको आज बिहानैदेखि अपार भीड लागेको हो ।

जिल्लाका चारै कुनामा रहेका यी चार महादेवको मन्दिरमा आजका दिन भक्तजन नेपाल र भातर विभिन्न पवित्र नदी, पोखरी र तलाऊबाट जल भरेर पैदल यात्रा ९बोलबम यात्रा० गरी बाबा महादेवलाई जल अर्पण गर्दछन् । विभिन्न नदी, तलाऊ र पोखरीबाट जल भरेर पैदल हिँड्दै काँधमा काँवर राखेर तथा धेरैजसोले हातमै पनि डिब्बा र अन्य भाँडोमा जल ल्याएर शिवालयहरुमा अर्पण गर्ने परम्परा र कार्यलाई नै बोलबम यात्रा भनिन्छ ।

यस बोलबम यात्रा भगवान शिवलाई निक्कै प्रिय रहेको र यस यात्रा गर्ने भक्तजनलाई शिवलोक प्राप्त हुने जनविश्वास रहेको जलेश्वरका वयोवृद्ध पुजारी कालिकान्त झा बताउनुहुन्छ ।

सोमबारी पर्वको अवसरमा प्राचीन तथा पुरातात्विक महत्व राख्ने महोत्तरीको दक्षिणमा अवस्थित बाबा जलेश्वरनाथ, पश्चिममा अवस्थित बाबा मङ्गलनाथ, उत्तरमा अवस्थित बाबा टुटेश्वरनाथ र पूर्वमा अवस्थित बाबा सिद्धेश्वरनाथ गरी चार ऐतिहासिक एवं पौराणिक महादेवको मन्दिरसहित जिल्लाका सबै शिवालयमा आज भक्तजनको अपार भीड लागेको छ । महोत्तरीको जलेश्वर, राजा जनकको राजधानी जनकपुरको दक्षिणद्वारको रुपमा रहेको पुराणमा वर्णित छन् भने पदम पुराणका अनुसार जलेश्वरनाथ महादेव स्वयं रुद्रबाट स्थापना भएको हो ।

रुद्रायतन्त्र ग्रन्थमा त्रेता युगमा राजा जनकको राज्यको सिमानाको चारैतिर सीताको रक्षाकवचको रुपमा स्वयम् महादेवले पहरेदारी दिने भएकाले जनकपुरको पूर्वोतर कुनामा कपिलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ, दक्षिणपूर्वमा कल्याणेश्वर र पश्चिम दक्षिण कुनामा जलेश्वरनाथ महादेव प्रतिष्ठित भएकाले यो महादेवको दर्शन गर्नाले चार देवस्थलको पुण्य मिल्ने विश्वास रहेकोले सोमबारी मेलाको अवसरमा यहाँ दर्शनार्थीको अपार भीड लाग्ने गरेको छ ।

यहाँको शिव लिङ्ग बाह्रैकाल जलाशयमा रहने हुँदा जलेश्वरनाथ नामाकरण भएको किम्बदन्ती छ । जलेश्वरनाथमा लागेको सोमबारी मेलालाई व्यवस्थित बनाउनका लागि जलेश्वरनाथ महादेव संरक्षण समितिद्धारा निःशुल्क स्वास्थ्य शिविर, आवास, खानेपानीको व्यवस्था गरिएको छ, भने शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताउनुभएको छ ।

पौराणीक मतअनुसार मिथिला नरेश जनकले स्थापना गरेको यस शिवालयको दर्शन मात्रले सम्पूर्ण पाप कट्टी भई पुण्य कमाइने जनविश्वासका कारण भक्तजनको भीड लाग्ने गरेको हो ।

बोलबमको अवसरमा भक्तजनको चापलाई दृष्टिगत गरी सबैले सुविधापूर्वक दर्शन गरुन भन्ने मनशायले यो पटक प्रर्याप्त व्यवस्था मिलाइएको मेला समितिले जनाएको छ । सोमबारीको अवसरमा यहाँ धेरै भत्तजन निराहार व्रत बस्ने तथा अधिकांशले दर्शन पश्चातमात्र अन्न जल ग्रहण गर्ने परम्परा रहेको छ ।

सोमबारीको दिन तराई–मधेसका किसानले राम्रो कृषि उत्पादन तथा सहकालको कामना गर्दै तथा सु–स्वास्थ्यका लागि भगवान आसुतोषलाई भण्टाकोभार चढाउने परम्परा पनि रहेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । सोमबारीको पुण्य दिन पारेर आज जलेश्वरनाथ मन्दिर परिसरमा बालकको मुण्डन गर्ने प्रचलनसमेत रहेको छ ।

 

तपाईको प्रतिक्रिया