तनहुँ – तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको बसमा ४१ जना सवार रहेको खुल्न आएको छ । सुरक्षाकर्मीले दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ । उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए । गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेको पाइएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए । बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए । यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

शुक्रबार बिहान साढे ११ बजे बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया