घटना–१
काठमाडौं – खोटाङ घर भई काठमाडौंमा एक निजी अस्पतालमा काम गर्ने ३५ वर्षका राजकुमार (नाम परिवर्तन) कोरोना महामारीको पहिलो चरणमै संक्रमित भए। कोठा भाडामा लिएर बस्दै आएका उनले आफू संक्रमित भएको घरधनीलाई बताए। राजकुमारले आफूलाई कोरोना लागेको कुरा बताउँदा घरधनीले सहयोग गर्ने अपेक्षा गरेका थिए तर उनको अनुमान गलत साबित भयो।
राजकुमारलाई घरधनीले घरमा बस्न नदिने बताए। त्यसपछि उनी आफूले काम गर्दै आएको कार्यालयमै बस्न बाध्य भए। कोरोनाले सिकिस्त भएपछि उनी अस्पताल भर्ना हुनुपर्यो। अस्पतालमा पनि उनको अनुभव राम्रो भएन।
अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीले गर्ने व्यवहार र खानेकुरा टाढैबाट फालिदिने गर्दा उनलाई एक्लोपनको महसुस हुन थाल्यो। अब परिवारका सदस्यसँग भेट हुँदैन होला भन्ने सोच पनि मनमा उब्जिन थाल्यो। उनलाई बाँच्न मन नलाग्नेसम्म हुन थाल्यो। राजकुमारको व्यवहारमा परिवर्तन आउन थालेपछि अस्पतालले स्वास्थ्य मन्त्रालयको हेल्प डेक्समा खबर गर्यो।
हेल्प डेक्सले उनलाई मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था टिपिओ नेपालमा सम्पर्क गराइदियो। संक्रमणकै अवस्थामा उक्त संस्थाले उनलाई टेलिफोनमार्फत परामर्श दिन थाल्यो। दिनको करिब आधा घण्टा परामर्श दिएर मनमा रहेको डर हटाउन र एक्लोपनको महसुस हुन नदिने अभ्यास गराएपछि उनी सामान्य अवस्थामा फर्किए।
घटना–२
धादिङ घर भएकी ६५ वर्षीय मनकला (नाम परिवर्तन) पनि कोरोनाको दोस्रो लहरमा संक्रमित भइन्। धादिङमा छोरीसँग बस्दै आएकी उनमा कोरोना संक्रमण भएपछि छटपटी हुने, निद्रा नलाग्ने, एक्लै बोल्नेजस्ता समस्या देखिए।
उनकी छोरीले मनोपरामर्शदातासँग सम्पर्क गरेर आमाको समस्या सुनाइन्। मनकलामा कोरोनाभन्दा पहिले पनि सामान्य मानसिक समस्या रहेको र संक्रमणपछि थप जटिल भएको चिकित्सा मनोविद् भरत गौतम बताउँछन्।
मनकला धादिङमा बस्ने भएकाले मनोविद् गौतमले उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंमा ल्याउन परिवारसँग आग्रह गरे। उनले शिक्षण अस्पतालमै मनोपरामर्श सेवा उपलब्ध गराए। निरन्तर परामर्शपछि हाल उनी सामान्य अवस्थामा रहेको गौतम बताउँछन्।
यी केही प्रतिनिधि घटना हुन्। कोरोना महामारी सुरु भएपछि यसबाट संक्रमित भएका वा नभएकामा दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन्। विभिन्न अध्ययन तथा तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ। वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय कोरोना महामारीपछि मानसिक रोग जटिल समस्याका रूपमा देखिएको बताउँछन्।
उनी कोरोना लागेका, कोरोनाबाट आफन्त गुमाएका, महामारीका बेला लामो समयसम्म घरभित्रै बसेका र अग्रपंक्तिमा खटिनेमा मानसिक समस्या धेरै देखिएको बताउँछन्। विशेषगरी संक्रमणबाट निको भएकामा पुनः संक्रमण हुन सक्ने त्रास अत्यधिक देखिने र अग्रपंक्तिमा खटिनेका परिवारका सदस्यमा पनि संक्रमण हुने हो कि भन्ने चिन्ताले मानसिक समस्या निम्त्याइरहेको उपाध्यायको भनाइ छ।
संक्रमणका बेला निद्रा नलाग्ने, डर लाग्ने, मन आत्तिने र डिप्रेसन हुनेजस्ता समस्या बढी देखिएको डा. उपाध्याय बताउँछन्। अमेरिकामा गत वर्ष गरिएको एक अध्ययनले कोभिड १९ र मानसिक समस्यामा दोहोरो सम्बन्ध भएको तथ्य देखाएको थियो। अध्ययनले कोभिड १९ का कारण चिन्तित र उदास (एन्जाइटी र डिप्रेसन) हुनसक्ने देखाएको छ।
६२ हजार तीन सय ५४ जना (जसलाई कोरोना संक्रमण भएको थियो ) मा गरिएको अध्ययनले अन्य स्वाथ्य समस्या हुनेमा भन्दा कोरोना संक्रमण भएका मानिसमा मानसिक समस्या बढी पाइएको देखाएको थियो। त्यस्तै अध्ययनबाट पहिलेदेखि नै मानसिक समस्या भएका व्यक्तिहरू कोरोनाको उच्च जोखिममा रहेको तथ्यसमेत पत्ता लागेको थियो।
नेपालमा गरिएको त्यस्तै किसिमको एक अध्ययनबाट पनि कोरोना संक्रमित भएका मानिसमा मानसिक समस्या देखिएको पाइएको छ। सन् २०२० मेदेखि जुनसम्म कोरोनाका लक्षण देखिएर अस्पताल पुगेका ६४५ जनामा गरिएको अध्ययनले १४ प्रतिशतमा एन्जाइटी, ७ प्रतिशतमा डिप्रेसन र ५ प्रतिशतमा तनावको समस्या देखाएको थियो।
उक्त अध्ययनमा कोरोनाको लक्षण देखिएपछि विभिन्न २६ वटा अस्पतालमा उपचारका लागि पुगेका १८ वर्ष वा त्यसभन्दा माथिका बिरामी समेटिएका थिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना लागेर होम आइसोलेसनमा रहेका मानिसमा गरेको एक अध्ययनले पनि संक्रमण भएकामा मानसिक समस्या देखाएको थियो। परिषद्ले संक्रमित ५३६ जनामा गरेको अध्ययनले ३१२ जनामा होम आइसोलेसनका क्रममा कुनै न कुनै किसिमको मानसिक समस्या भएको देखाएको थियो। त्यस्तै ४५ जनामा उच्च मानसिक तनाब देखिएको थियो।
कोरोनाको सुरुवाती चरणमा नेपालमा गरिएको अर्को एक अध्ययनले पनि कोरोना महामारीका कारण मानसिक समस्या बढेको देखाएको छ। सन् २०२० को २३ अप्रिलदेखि ३ मेसम्म गरिएको उक्त अध्ययनमा सहभागीमध्ये ५० प्रतिशतले आफूलाई कम्तीमा एउटा मानसिक समस्या देखिएको बताएका थिए। त्यस्तै ३२ प्रतिशत सहभागीले दुई वा त्यसभन्दा बढी मानसिक समस्या भोगिरहेको बताएका थिए। २०८२ जना नेपालीमा सामाजिक सञ्जालमार्फत गरिएको सर्भेमा २०१४ जना नेपालभित्रै थिए।
वरिष्ठ मनोचिकित्सक उपाध्याय नेपालमा मद्यपान, धूमपान र लागूपदार्थ प्रयोगकर्ताले कोरोना संक्रमणपछि पहिलेको तुलनामा बढी मात्रामा यस्ता पदार्थ लिन थालेको पाइएको बताउँछन्। नेपालमा नसर्ने रोगबाट पीडितमध्ये १८ प्रतिशत मानसिक रोगी रहेको सरकारी तथ्यांक छ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०७७ अनुसार नेपालमा १३ देखि १७ वर्ष वर्ष उमेर समूहका पाँच दशमलब २ प्रतिशत र १८ वर्ष उमेरमाथिका १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या छ। कोरोना महामारीपछि यो यो प्रतिशत बढेको अनुमान गरिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
बालबालिकामा पनि मानसिक समस्या
कोरोना महामारी सुरु भएपछि बालबालिकामा पनि मानसिक समस्या देखिन थालेको डा. उपाध्याय बताउँछन्। घरमै लामो समयसम्म बस्नुपर्ने र डिजिटल एडिक्सनले पनि उनीहरूमा मानसिक समस्या देखिएको उपाध्यायको भनाइ छ।
कोरोनाका कारण घरभित्रै लामो समयसम्म बस्दा किशोरकिशोरीमा प्रोनोग्राफीको लत बसेको र यो एउटा जटिल समस्या भएको उपाध्याय बताउँछन्। कोरोना त्रासका कारण बालबालिकामा मानसिक समस्या देखिन थालेपछि मनोचिकित्सक तथा मनोविद्सँगको सम्पर्कमा आउने अभिभावक र बालबालिकाको संख्या बढेको उपाध्यायले बताए।
पाटन मानसिक अस्पतालका मनोचिकित्सक डा. वासुदेव कार्की पनि कोरोना महामारीपछि मानसिक समस्या लिएर अस्पताल आउने बालबालिकाको संख्या वृद्धि भएको बताउँछन्। स्कुल बन्द भएपछि बालबालिकाले मोबाइल तथा कम्प्युटरमा गेम खेल्ने तथा डिजिटल उपकरणमा व्यस्त हुँदा उनीहरूमा पढ्न रुचि नलाग्ने, झर्किने, जिद्दी गर्ने जस्ता समस्या देखिन थालेको कार्की बताउँछन्। उनी पछिल्लो समय अस्पताल आउनेमा बालबालिकाको संख्या उच्च रहेको बताउँछन्।
चिकित्सा मनोविद् गौतम पनि पछिल्लो समय मानसिक समस्या लिएर परामर्शमा आउनेमा बालबालिकाको संख्या बढेको बताउँछन्। घरमा बस्दा बालबालिकामा स्क्रिन एडिक्सन बढेका कारण मनोसामाजिक समस्या देखिन थालेको उनको भनाइ छ।
यसले गर्दा पढाइमा राम्रो गर्न नसक्ने, परिवारका सदस्यसँग झर्किने जस्ता समस्या देखिएका छन्। विभिन्न अध्ययनले विश्वभरिका २० प्रतिशत बालबालिका तथा किशोरकिशोरीमा भावनात्मक, व्यावहारिक तथा अन्य किसिमका मानसिक समस्या पाइएको देखाएका छन्। कोरोना महामारीपछि यो संख्या थप बढेको छ।
आत्महत्या गर्ने पनि बढे
आत्महत्याको मुख्य कारण पनि मानसिक स्वास्थ्य मानिन्छ। सन् २००४ मा आत्महत्यासम्बन्धी २७ वटा अध्ययन र तीन हजार २७५ वटा आत्महत्याका घटनालाई समावेश गरी एक अध्ययन गरिएको थियो। उक्त अध्ययनले आत्महत्या गरेका ८७ दशमलब ३ प्रतिशतमा कुनै न कुनै मानसिक समस्या रहेको देखाएको थियो। हाल करिब ९० प्रतिशत आत्महत्या मानसिक समस्याका कारण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।
कोरोनाले नेपालमा पनि मानसिक समस्या निम्त्याएको छ भन्ने अर्काे तथ्य हो– नेपालमा महामारीपछि बढेको आत्महत्याको दर। नेपालमा कोरोना महामारी सुरु हुुनुभन्दा पहिले दैनिक सरदर १४ देखि १६ जनाले आत्महत्या गर्ने गरेकोमा लकडाउनको अवधिमा त्यो संख्या बढेर १९ देखि २० सम्म पुगेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष ०७७/०७८ मा दैनिक कम्तीमा १९ जनाले आत्महत्या गरेको तथ्यांक छ। यस अवधिमा ७ हजार एक सय १५ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ।
आर्थिक वर्ष ०७६/०७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका थिए। कोरोना सुरु हुनुभन्दा पहिले अर्थात् आर्थिक वर्ष ०७५/०७६ मा पाँच हजार सात सय ५४ जना र आर्थिक वर्ष ०७४÷०७५ मा पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए।
चिकित्सा मनोविद् गौतम परामर्शमा आउनेमध्ये १० प्रतिशतले आत्महत्याको सोच आएको बताउने गरेको जानकारी दिए। त्यसमध्ये कतिपयले आत्महत्याको प्रयाससमेत गरेको बताएका थिए। गौतमका अनुसार कतिपयले आवश्यक मात्राभन्दा बढी औषधि सेवन गरेको, आत्महत्याका लागि डोरी घाँटीमा राखेको तथा आफ्नै शरीरलाई नोक्सानी पुग्ने काम गरेको बताएका थिए।
अस्पताल भर्ना हुने घटे
कोरोना महामारी र संक्रमणका कारण मानसिक स्वास्थ्य समस्या जटिल हुँदै गए पनि अस्पताल भर्ना हुनेको संख्या भने घटेको छ। विशेषगरी कोरोना महामारी सुरु भएपछि पाटन मानसिक अस्पतालमा भर्ना हुने बिरामीको संख्या कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको तुलनामा घटेको छ। अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा कम बिरामी भर्ना भए। यस अवधिमा इमर्जेन्सीमा ६८५, अन्तरंग विभागमा ५७९ (भर्ना) र बहिरंग विभागमा २८ हजार दुई सय दुई बिरामी पुगेका थिए।
आव २०७६/०७७ मा इमर्जेन्सीमा ७८२, अन्तरंगमा ६४३ (भर्ना) र बहिरंग विभागमा ३५ हजार आठ सय एक जना मानसिक अस्पतालमा सेवा लिन गएका थिए। आव २०७५÷०७६ मा उक्त अस्पतालको इमर्जेन्सीमा ६६१, अन्तरंगमा एक हजार ५२७ (भर्ना) र बहिरंग विभागमा ३५ हजार सात सय ७४ बिरामी पुगेका थिए। आव २०७४/०७५ मा इमर्जेन्सीमा ६४१, अन्तरंगमा सात सय ८४ (भर्ना) र बहिरंगमा ३६ हजार सात सय ४५ बिरामी पुगेको तथ्यांक अस्पतालको छ।
कोरोनाका कारण भर्ना हुने मानसिक रोगीको संख्या घटेको अस्पतालका मनोचिकित्सक कार्की बताउँछन्। मानसिक अस्पतालमा देशभरबाट बिरामी आउने भए पनि कोरोनाका कारण बन्दाबन्दी, यातायातको असहजता जस्ता कारणले नआएको उनले बताए। कोरोनाकालमा मानसिक स्वास्थ्य समस्याका बिरामी बढे पनि अस्पताल भर्ना हुनेको संख्या घटेको कार्कीले बताए। कार्कीले स्वास्थ्यमा गम्भीर समस्या आएपछि मात्र बिरामी भर्ना हुन आउने गरेको बताए।
सचेतनाले सहज
डा. उपाध्याय पछिल्लो समयमा मानसिक समस्या लिएर परामर्श तथा उपचारका लागि अस्पताल जाने बिरामीको संख्या बढ्दै गएको बताउँछन्। २०७२ सालको भूकम्पपछि मानसिक समस्याबारे परामर्श लिने तथा उपचार गराउने प्रचलन बढेको उपाध्याय बताउँछन्। त्यतिबेला भूकम्पको चपेटामा परेकामा मानसिक समस्या देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभियान सञ्चालन गरेका थिए।
कोरोना महामारीपछि गैरसरकारी संघसंस्थासँगै राज्यका विभिन्न निकायले पनि स्थानीयस्तरमै मानसिक समस्याबारे सचेतना तथा परामर्श र उपचार सुविधा उपलब्ध गराउँदै आएकाले परामर्श लिने र उपचार गराउनेको संख्या बढेको उनी बताउँछन्।
मनोविद् सीता लामा १५/२० वर्ष पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको बताउँछिन्। लामा पनि भूकम्पपछि सरकारी तथा गैरसरकारी क्षेत्रबाट मानसिक स्वास्थ्य क्षेत्रमा भएका प्रयास तथा सचेतना अभियान तथा सञ्चार माध्यमले निर्वाह गरेको भूमिकाका कारण पछिल्लो समय मानसिक समस्या सामान्य हो भन्ने सोचको विकास हुँदै गएको बताउँछिन्।
भूकम्पछि परिवारका सदस्य गुमाएका, धनसम्पत्तिको नोक्सानी बेहोरेका र भूकम्पको प्रत्यक्ष अनुभव गरेकामध्ये ३४ दशमलब २ प्रतिशतमा डिप्रेसनको समस्या देखिएको थियो। त्यस्तै ३३ दशमलब ८ प्रतिशतमा चिन्ताजन्य समस्या र २० दशमलब ४ प्रतिशतमा मादक पदार्थ दुव्र्यसनको लत बसेको देखिएको थियो।
मनोविद् लामा पछिल्लो सयमय सचेतनाका कारण मानसिक समस्या अन्य स्वास्थ्य समस्या जस्तै हुँदै गएको बताउँछिन्। पहिलेपहिले मानसिक समस्या भएका व्यक्तिलाई घरपरिवारले बाँधेर वा थुनेर राख्ने गरे पनि अहिले परिवार र समाजको दृष्टिकोणमा आएको परिवर्तनले उपचार वा परामर्शका लागि अस्पताल लैजाने क्रम बढेको लामा बताउँछिन्।
तर अझै पनि पूर्णरूपमा परिवर्तन भने नआइसकेको उनको भनाइ छ। विगतमा मानसिक समस्या निको नहुने रोग हो भन्ने भ्रम थियो। यसबाट परिवारका सदस्य पनि चिन्तित हुन्थे। पछिल्लो समय मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनसँगै यसको सहज उपचारका कारण यसलाई सामान्य रोगका रूपमा लिन थालिएको छ।
सरकारी प्रयास
सरकारले मानसिक स्वास्थ्य समस्या सम्बोधनका लागि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना– २०७७ सार्वजनिक गरेको छ। २०७७ मंसिंर १४ को मन्त्रीस्तरीय निर्णय अनुसार जारी स्वास्थ्य रणनीति तथा कार्यनीतिमा मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच, सुलभ र समान पहुँच सुनिश्चित गर्ने उल्लेख छ। त्यस्तै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्रवाहका लागि आवश्यक स्रोतसाधन, जनशक्ति तथा संयन्त्र व्यवस्थापन गर्ने, मानसिक स्वास्थ्य प्रवद्र्धन तथा मानसिक रोगबारे विद्यमान अन्धविश्वास, भ्रम र मिथ्या हटाउन जनचेतना अभिवृद्धि गर्ने रणनीतिमा उल्लेख छ।
मानसिक स्वाथ्य समस्या भएका व्यक्ति तथा मनोसामाजिक आपांगता भएका व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण गर्ने र मानिसिक स्वास्थ्य सेवासँग सम्बन्धित सूचनालाई विद्यमान स्वास्थ्य सूचना प्रणालीमा एकीकृत गरी अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने रणनीति सरकारले बनाएको छ। सरकारले मानसिक स्वास्थ्यको पाँच वर्षे कार्ययोजना २०७७/०७८–२०८१/०८२ समेत सार्वजनिक गरेको छ।
जसअन्तर्गत समुदायस्तरमा आधारभूत मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रदेशस्तरका अस्पतालमा विशेषज्ञ मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने, जनस्वास्थ्यका नियमित कार्यक्रममा मानसिक स्वास्थ्यलाई एकीकृत गरी सञ्चालन गर्नेलगायतका काम गर्ने उल्लेख छ।
मनोसामाजिक समस्या सम्बोधन गर्न सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले पनि निःशुल्क मनोपरामर्शका लागि हेल्पलाइन सञ्चालन गरेका छन्। सरकारीस्तरबाट बिरामीको उपचारका लागि टेलिमेडिसिन सेवा तथा आत्महत्या रोकथामका लागि ११६६ मार्फत परामर्श सेवा दिइएको डा. कार्की बताउँछन्।
यसका अतिरिक्त समुदायस्तरमा स्वास्थ्य तालिम, परामर्श तथा औधषि उपलब्ध गराउने प्रयास पनि भइरहेको उनी बताउँछन्। विभिन्न गैरसरकारी संस्थाले पनि यस किसिमको सेवा सञ्चालन गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका कतिपय अन्तर्राष्ट्रिय संघसंस्थाले पनि कोरोना महामारीका बेला नेपालमा मनोसामाजिक सहायता उपलब्ध गराइरहेका छन्।
मनोसामाजिक समस्या भए के गर्ने?
व्यक्तिको सोचाइमा आउने परिवर्तन, आफैंले आफैंलाई आत्मदोषी देख्ने, आत्मविश्वासमा कमी आउने, झर्काे लाग्ने, छिनछिनमा स्वभावमा परिवर्तन हुने, कमजोर महसुस हुने, बाँच्न मन नलाग्ने तथा कुनै स्वास्थ्य समस्या नभए पनि विभिन्न स्वास्थ्य समस्या भएजस्तो महसुस हुनु मानसिक स्वास्थ्य समस्याका लक्षण भएको विज्ञहरू बताउँछन्। मनोचिकित्सकहरू जटिल मानसिक समस्या भए मात्र औषधि सेवन गर्नुपर्ने बताउँछन्।
सामान्य अवस्थामा जीवनशैलीमा गरिने परिवर्तनले पनि राहत मिल्ने उनीहरूको भनाइ छ। मनोचिकित्सक उपाध्याय डिप्रेसन नै भएको अवस्थामा औषधि सेवन गर्दा राम्रो हुने भए पनि निद्रा नलागेमा, मन आत्तिने जस्ता समस्या भएमा ध्यान, योग र परामर्शबाट नियन्त्रण गर्न सकिने बताउँछन्। मनमा पलाएको डर हटाउन औषधिले मात्र काम नगर्ने भएकाले आफूलाई व्यस्त बनाइराखे यस्तो समस्याबाट मुक्ति मिल्ने उनको भनाइ छ।
उपाध्याय उपयुक्त मनोपरामर्शदाताको छनोटले पनि बिरामीलाई राहत मिल्ने बताउँछन्। बढीभन्दा बढी कुरा सुन्ने परामर्शदाता छनोट गर्नुपर्ने उनी बताउँछन्। राम्रो परामर्शदाताले समस्या सुन्ने र हौसला दिने भएकाले बिरामीलाई सहज हुन्छ।
मनोविद् लामा व्यक्तिअनुसार मनोसामाजिक समस्या फरक हुने भएकाले सबैभन्दा पहिले स्वयं व्यक्ति नै सचेत हुनुपर्ने बताउँछिन्। आफूले आफ्नै व्यवहारलाई अवलोकन गर्ने र आफूलाई के कुराले असर पार्छ भन्ने कुरामा ध्यान दिनुपर्र्र्ने उनको सुझाव छ। बिरामीले आफूलाई सहज हुने गतिविधिमा मात्रै संलग्न हुने, आफूलाई व्यस्त बनाउनेदेखि योग, मेडिटेसन तथा परामर्श वा उपचारका लागि पनि प्रयास गर्नुपर्ने उनी बताउँछिन्।
परिवार र समाजको भूमिका
मानसिक स्वास्थ्य समस्याबाट मुक्ति पाउन परिवार, समाज, चिकित्सक र राज्यको भूमिका महत्वपूर्ण हुने मानसिक स्वास्थ्य विज्ञ बतउँछन्। मानसिक स्वास्थ्य समस्या भएकालाई परिवारका अन्य सदस्यले हामी साथमा छौं भन्ने विश्वास दिलाउँदा बिरामीको आत्मविश्वास बढ्ने मनोविद् लामा बताउँछिन्। समयमा परामर्श र उपचारका लागि परिवारका सदस्यको भूमिका महत्वपूर्ण हुने उनी बताउँछिन्। त्यस्तै समाज र परिवारका सदस्यले बिरामीलाई गर्ने व्यवहार, सामुदायिक रूपमा सहयोग र सचेतना फैलाउने तथा राज्यका तर्फबाट सहज परामर्श तथा उपचारको व्यवस्थाले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सहयोग पुर्याउने उनको भनाइ छ।