मनहरि, १९ साउन – मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० नरिवलको बिरुवा रोपण गरिएको हो ।

नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवल खेती थालनी गरिएको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । “नरिवल खेतीलाई निरन्तरता दिने गरी गाउँपालिकाको नीति तथा कार्यक्रममै समेटेर अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकासपर्ती जमिनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदीउकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । मनहरि–४ को रु तीन लाख बजेटमा करिब दुई बिघा १० कठ्ठा सार्वजनिक जग्गामा नरिवल खेती गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको रु छ लाख ५० हजारमा तारजाली, घेराबार र खेतीको संरक्षण गर्न दुई कर्मचारी नियुक्त गरेर संरक्षणको जिम्मा दिइएको छ । मनहरि–७ मा लिची र अम्बा तथा वडा नं ८ मा एभोकाडोको बिरुवा रोप्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

नदीउकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र गाउँपालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती सुरु गरिएको वडा नं ४ का अध्यक्ष प्रकाश थापाले बताउनुभयो । “अहिले परीक्षणका लागि लगाएका छौँ, नरिवल खेतीको गोडमेल, संरक्षणलगायत काम वडा कार्यालयबाटै हुन्छ ।”

तपाईको प्रतिक्रिया