काठमाडौँ – नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहनुभएकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसक्नुभएको छ । जारी लिगमा उहाँ हालसम्म सर्वाधिक गोलकर्ता बन्नुभएको छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उहाँ उक्त लिग खेल्न माघ ७ गते भारत जानुभएको हो । दोस्रो पटक सो लिग खेलिरहनुभएकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध हुनुहुन्छ । गत वर्ष उहाँले सेथु एफसीबाट खेल्नुभएको थियो । सेथु गत संस्करणको च्याम्पियन पनि हो । सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गर्नुभएको थियो । उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सावित्रालाई ओजिलको जर्सी

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले सो उहाँलाई जर्सी हस्तान्तरण गर्नुभएको हो ।

जारी लिगमा सावित्रा सम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ । लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उहाँले तीन गोल गर्नुभएको थियो । सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहनुभएको छ । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ ।

तपाईको प्रतिक्रिया