काठमाडौँ- जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो ।

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो । उहाँका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ छ । यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाले लगाउन बाँकी रहेकाले यही भदौ ५ देखि भदौ ११ गतेसम्म सञ्चालन गरिएको थियो ।

कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उहाँले दोस्रो बुस्टर लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो ।

बुस्टर डोज लगाउन छुट भएकालाई खोप लगाउन आग्रह गरिएको छ । कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालय, नगर अस्पतालहरु र सरकारी तथा गैरसकारी अस्पतालमा खोप लगाइनेछ ।

यसअघि नियमित रुपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो । अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । हिजो भदौ १७ गते एक सय २८ जनामा गरिएकामा परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको थियो ।

तपाईको प्रतिक्रिया