कास्की – पोखरा महानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका कृषक यसबाट लाभान्वित भएका छन् । महानगरले ‘मेयरमैत्री बाख्रा पकेट’ कार्यक्रमअन्तर्गत महानगरका एक सय ९१ कृषकलाई रु ४४ लाख २० हजार अनुदान रकम प्रदान गरेको हो ।

पोखरा महानगर वडा नं १९ का २४ कृषकलाई रु छ लाख २० हजार, वडा नं २० का ३२ कृषकलाई रु सात लाख २० हजार र वडा नं २१ का ४३ कृष्णकलाई रु १० लाख रकम प्रदान गरिएको छ ।

यसैगरी वडा नं २४ का ३७ जनालाई रु आठ लाख २० हजार, वडा नं २५ का २३ जनालाई रु चार लाख ८० हजार र वडा नं २८ का ३२ जनालाई रु सात लाख ६० हजार नगद अनुदान प्रदान गरिएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो । अनुदान प्राप्त गर्न योग्य सबै कृषकलाई महानगर प्रमुख धनराज आचार्यले सोमबार रकम प्रदान गर्नुभएको हो ।

वडास्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकले महानगरको सहयोगप्रति खुसी व्यक्त गरेका छन् । कृषकका समस्या समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमको निरन्तरतामा उनीहरूले जोड दिएका छन् ।

सो अवसरमा महानगर प्रमुख आचार्यले अनुदानले कृषकलाई हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिका कृषकको सहायताका लागि सदैव सकारात्मक छ । महानगरको समृद्धिसँग कृषकको समृद्धि पनि जोडिनु पर्दछ, आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सिर्जना गर्न महानगरपालिका प्रतिबद्ध छ ।”

कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उहाँले आम कृषकलाई अनुरोध गर्नुभयो । कृषकलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

“तपाईँहरू उत्पादनमा केन्द्रित हुनुहोस्, त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।” उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकलाई निराश हुने वातावरण सिर्जना नगरिने उहाँले विश्वास दिलाउनुभयो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रापालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइरहेको बताउनुभयो ।

बाख्रापालनप्रति कृषकले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उहाँले बताउनुभयो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया