काठमाडौं – बलात्कारपछि भारतको दिल्लीमा बेचिएकी नेपालगन्जकी २२ वर्षीया अनिशा शर्मा (नाम परिवर्तन) तब झस्किइन्, जब उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासले जिल्ला अदालत बाँकेको आदेश उल्ट्याएर घटनाका अभियुक्तलाई एक–एक लाख धरौटीमा छाड्न आदेश दियो । आदेशलगत्तै अभियुक्त निजामुद्दिन साँई र मुवारक नाउ जेलमुक्त भए । उनीहरूले गाउँ फर्किएर भोजभतेर गरे ।
पीडित भने गाउँबाट विस्थापित हुनुपर्यो । निजामुद्दिन र मुवारकका परिवारले निरन्तर ज्यान मार्ने धम्की दिएपछि उनी माइतीको शरणमा पुगिन् । पीडा भुल्ने कोसिस गरिन्, तर सकिनन् । माइती पक्षसँग सल्लाह गरिन् । ढाडस पाएपछि न्यायको लडाइँ लड्न सर्वोच्च अदालतको दैलोमा जाने निर्णयमा पुगिन् । दोषीलाई कानुनी कठघरामा उभ्याउने अठोटसहित तीन दिनअघि उनी नेपालगन्जबाट बस चढेर काठमाडौं आएकी छिन् ।
काठमाडौंको एक गेस्टहाउसमा गोप्य रूपमा बसेकी उनलाई निजामुद्दिन र मुवारकका परिवारबाट धम्की रोकिएको छैन । मुद्दा बोकेर काठमाडौं हिँडेलगत्तै घटनाका प्रतिवादी पनि आएको सूचना पाएपछि उनी झन् डराएकी छिन् । ‘जबर्जस्ती करणी मात्र होइन, मानव बेचबिखनजस्तो जघन्य अपराधमा उच्च अदालत नेपालगन्जले धरौटीमा अभियुक्त छाड्यो । पुर्पक्षमा रहेका उनीहरू कैदमुक्त भए । यसले साह्रै पीडा दियो । न्याय माग्न सर्वोच्च अदालत जानुको हामीसँग विकल्प भएन । पीडितले न्याय पाउने आशा बोकेर हामी नेपालगन्जदेखि काठमाडौं आएका छौँ । हेरौँ अब के हुन्छ,’ पीडितका मामाले नयाँ पत्रिकासँग भने ।
घटना १३ कात्तिकको हो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नेपालगन्ज फुलटेक्रा आँखा अस्पतालमा आँखाको उपचार गराएर अनिशा श्रीमान्सँग साइकलमा घर फर्किँदै थिइन् । घरनजिकै आइपुगेपछि श्रीमान् खेततिर लागे । आफू सरासर घर आइन् । धान काट्ने चटारो भएकाले घरमा कोही थिएनन् । बुर्का फेर्न कोठामा छिरिन् । लगत्तै कोठामा दुई युवा छिरे । फर्किएर हेर्दा छिमेकी निजामुद्दिन साँई र मुवारक नाउलाई देखिन् । निजामुद्दिन र मुवारकले उनलाई धम्क्याउँदै धनमाल बुझाउन भने । निर्देशनअनुसार गलाका गहना खोलेर टक्र्याइन् । बाकसका गहना पनि झिकेर सुम्पिइन् । भएजति पैसा पनि दिइन् ।
अब त छाडिदिने आसमा थिइन् अनिशा । तर, दुई युवाले आफूहरूसँगै जानुपर्ने दबाब दिए । इन्कार गरेपछि बलजफ्ती मुखमा रुमाल कोचिदिए । हातखुट्टा बाँधेर बाहिर निकाले । मोटरसाइकलमा राखेर भारतको रुपैडियातिर लगे । बाटोमा केहीबेर बिस्कुट खान दिए, तिर्खा मेट्न भन्दै पेप्सी पनि दिए । बिस्कुट र पेप्सी खाएपछि उनी बेहोस भइन् ।
भोलिपल्ट बिहान उनले आफूलाई ट्याक्सीभित्र पाइन् । ट्याक्सीमा अपरिचित एक व्यक्ति उनीनजिकै बसेका थिए । चालक पनि थिए । आत्तिएकी उनले आफूलाई लिएर आउने दुई युवाबारे सोधिन् । एक लाख भारुमा बेचेर उनीहरू हिँडेको ट्याक्सीका व्यक्तिले जवाफ दिए । उनलाई ट्याक्सीमै राखेर एउटा घरमा लगेर कोठामा थुने । दुईजनाले बलात्कार गरे । रातभर रोएर बसेकी उनलाई भोलिपल्ट एक भारतीय महिलाको जिम्मा लगाएर अपरिचित व्यक्ति पनि हिँडे । याचना गरेपछि ती महिलाले घरमा सम्पर्क गर्न अनिशालाई फोन दिइन् । त्यही फोनबाट अनिशाले बुबालाई फोन गरिन् । भारतीय महिलाले दिएको ठेगानाअनुसार अनिशाका बुबाले दिल्लीमा रहेका आफन्तलाई खबर गरेर उद्धारमा खटाए । १७ कात्तिकमा उद्धार गरेर नेपाल ल्याइयो ।
अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय बाँकेले अभियुक्त निजामुद्दिन र मुवारकविरुद्ध मानव बेचबिखन, जबर्जस्ती करणी, डाँका र अपहरणअन्तर्गत सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरायो । सोही मुद्दाका आधारमा जिल्ला अदालत बाँकेले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उनीहरू थुनामा गए । तर, जिल्ला अदालतको आदेश बदरको माग गर्दै अभिुक्तका परिवार उच्च अदालत नेपालगन्ज पुगे । गत १० पुसमा उच्चका न्यायाधीशद्वय पवनकुमार शर्मा र ऋषिप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालत बाँकेको आदेश उल्टाउँदै दुई अभियुक्तलाई एक–एक लाख धरौटीमा छाड्ने आदेश दियो । आजको नयाँ पत्रिकामा खबर छ ।
उच्च अदालत नेपालगन्जका रजिस्ट्रार कृतबहादुर बोहराले आदेशबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘मुद्दा धेरै हुन्छन् । कुन मुद्दामा के आदेश हुन्छ कसरी भन्न सकिन्छ ? तपाईंको कोही प्रतिनिधि छन् भने कार्यालय समयमा लेखिपठाउनुस् । दिन मिल्ने विवरण लेखिपठाइदिउँला ।’
घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहले घटनाको विस्तृत अनुसन्धान गर्दा ती महिलालाई बलात्कारपछि बेचिएको विवरणबाट देखिने बताए । उनले भने, ‘घटना सम्बन्धमा हामीले गहन अनुसन्धान गर्यौँ । महिलामाथि बलात्कार भएको देखिन्छ । लगेर दिल्लीमा बेचिएको पनि पुष्टि हुन्छ । सोही कारण हामीले चारवटा मुद्दा बनाएर अदालतमा पेस गर्यौँ । जिल्ला अदालतले त अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाएको हो । उच्चले भने छाडेको भन्नेसम्म मैले सुनेको हुँ । यस सम्बन्धमा के भएको हो थाहा भएन ।’