गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु ।
भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो । नेपालगञ्ज उपमहानगरपालिकाको क्षेत्र बढ्दै जाँदा मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहर कुनै समय टाउको दुखाइ भएको थियो । तर अहिले ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि समस्या समाधान भएको छ ।
बजारबाट सङ्कलन हुने फोहरमा ७० प्रतिशत कुहिने हुन्छन् । कुहिने फोहर (जैविक फोहर)बाट कम्पोष्ट मल बनाइन्छ । झण्डै छ दशकसम्म फोहर फाल्ने ठाउँकै खोजीमा समय बिताएको नेपालगञ्ज उपमहानगरपालिका ‘साइट’ बनेपछि फोहर व्यवस्थापनका लागि खेप्नु परिरहेको आलोचनाबाट मुक्त भएको छ ।
एशियाली विकास बैंक (एडिबी)ले ‘ साइट’ बनाउन सहयोग पु¥याएको थियो । मुखमा मास्क लगाएका कर्मचारीले खुरुखुरु मोहर टिपिरहेकोजस्तो लाग्छ । नेपालगञ्जमा सङ्कलन हुने दैनिक करीब ३२ टन फोहरलाई १७ वटा गाडीले ‘ साइट’सम्म पु¥याउँछन् ।
‘साइट’ सञ्चालनमा आइसकेपछि बनेको कम्पोष्ट मल बोरामा जम्मा गरेर राखिन्छ । धेरै कम्पोष्ट मल बनाएर जम्मा गरिसकेपछि बिक्री गर्ने गरेको ठेकेदार कम्पनीका कर्मचारी शिव लामिछानेले बताउनुभयो । उहाँका अनुसार सीसा, प्लाष्टिक, बोतल, टायर बेचेर मासिक करीब रु ३०÷४० हजार आम्दानी भइरहेको छ ।
कामै नलाग्ने फोहरलाई खाल्टोमा गाडिन्छ । उपमहानगरपालिकाका सरसफाइ शाखाका अधिकृत अशोक केसीका अनुसार, सात प्रतिशत फोहर खाल्डोमा गाड्ने गरिएको छ । रु ३८ करोड बढीमा बनेको ‘साइट’ले नेपालगञ्ज उपमहानगरपालिकाको फोहर व्यवस्थापनसँगै त्यसबाट पैसा कमाउने बाटो पनि देखाइदिएको छ ।
हुन त फोहरबाट मोहर झिक्न त्यति सजिलो छैन । बजारमा निस्किने फोहरलाई कम्पोष्ट मल बनाएर बेच्दा साँच्चै नै मोहर फल्नेमा दुईमत छैन । फोहरबाट मोहर फलाउने साधन ‘साइट’मै तयार छ । अब उपमहानगरले बजार क्षेत्र (साविकको १७ वडा)मात्रै होइन, अन्य वडाबाट पनि फोहर सबै ‘साइट’मा पु¥याएर कम्पोष्ट मल बनाउँछ ।
उपमहानगरपालिकाका प्रमुख डा धवलसम्शेर राणा फोहर व्यवस्थापनको महत्वपूर्ण पाटो फोहर उत्पादन गर्ने पक्ष सचेत रहेकाले उपमहानगर फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै गएको बताउनुहुन्छ । “नागरिकको सहयोगले नै हामी सफल भयौँ, उहाँहरु सचेत हुनुहुन्छ, बाटोमा तथा सार्वजनिक ठाउँमा फोहर फाल्नुहुन्न”, उहाँले भन्नुभयो ।
उपमहानगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहरलाई कम्पोष्ट मलका लागि प्रयोग गर्दै आएको छ । कागज, काँच, प्लाष्टिक र धातुजन्य फोहर छुट्याएर बिक्री गरिरहेको छ । घरबाट निस्कने फोहरको मात्रा घटाउन उपमहानगरपालिकाले सचेनताका कामसमेत गरिरहेको उपमहानगरका सूचना अधिकारी शरद पौडेल बताउनुहुन्छ ।